शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३
  • २७ कार्तिक २०८३ , शुक्रबार
  • November 13 2026

सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

पहिलो प्रयासमै राम्रो उत्पादन र बजार पाएपछि पत्रकार किसानहरू फूलखेती विस्तारतर्फ उत्साहित भएका छन्।


  • आश गुरूङ
  • कार्तिक २७ २०८३, शुक्रबार

लमजुङ / दिनभर समाचारको खोजी, लेखन र सम्पादनमा व्यस्त रहने लमजुङका केही पत्रकार यतिबेला बारीमा फुलेका सयपत्री टिप्ने, उन्ने र बिक्री गर्न सक्रिय छन् । उनीहरूका बारीमा ढकमक्क फुलेका सयपत्रीले तिहारको रौनक मात्र बढाएको छैन, आम्दानीको नयाँ बाटोसमेत खोलेको छ । कलम र क्यामेरासँगै उनीहरूको दैनिकी बारीमा फुलेका फूलले थप व्यस्त बनाएको छ।

मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी टारगाउँका नवीनराज कुइँकेल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । गोरखापत्र दैनिकका लमजुङ समाचारदाता उनी नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा लमजुङ शाखाका पूर्वअध्यक्ष पनि हुन् । उनले पाँच वर्षयता बारीमा फूलखेती गर्दै आएका छन् । मर्स्याङ्दी कृषि फर्ममार्फत यो सिजनमा उनले पाँच रोपनी जग्गामा सयपत्री फुलाएका छन् ।

उनको बारीमा फुलेका सयपत्रीले तिहारमा राम्रो बजार पाएका छन् । अहिलेसम्म साढे चार क्विन्टल फूल बिक्री गरिसकेका छन् । थोकमा प्रतिकिलो तीन सय रुपैयाँ र खुद्रामा चारदेखि पाँच सय रुपैयाँसम्ममा फूल बिक्री भएको छ । उनले करिब दुई सयवटा माला पनि बिक्री गरिसकेका छन् । प्रतिमाला एक सय रुपैयाँमा बिक्री गरिएको उनले बताए । ‘फूल पुर्‍याउनै सकिएन, माग धान्नै गाह्रो भयो । कतिपयको फोन उठाउनै सकिएको छैन,’ उनले भने । तिहारपछि पुष्प व्यवसायमा संलग्न किसानलाई भेला गरेर व्यवसाय विस्तारका विषयमा छलफल गर्ने उनको योजना छ ।

लमजुङ आवाज साप्ताहिकका प्रकाशक तथा सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिका–३, गाउँसहरमा करिब तीन रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन् । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय उनले पहिलोपटक फूलखेती गरेका हुन् । उनले करिब डेढ क्विन्टल फूल बिक्री गरिसकेको बताए । प्रतिकिलो तीन सय ५० रुपैयाँमा फूल बिक्री भइरहेको छ । माला भने एक सय ५० देखि दुई सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । बारीमा अझै फूल र कोपिला रहेकाले बिक्रीको क्रम जारी रहेको उनी बताउँछन् ।

‘यसपटक केही प्राविधिक समस्या आयो । फूल केही खेर गयो,’ उनले भने, ‘अर्को वर्ष बढी क्षेत्रफलमा फूल रोप्ने सोच छ । अहिले देखिएका केही प्राविधिक समस्या पनि समाधान हुनेछन् ।’ गाउँघरमा जग्गा बाँझै राख्नुभन्दा त्यसको सदुपयोग गर्दै फूलखेती गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष तथा लमजुङ पत्र साप्ताहिकका सम्पादक सन्तोष पौडेलले पनि फूलखेती थालेका छन् । सुन्दरबजार नगरपालिका–४, सत्रसयमा एक रोपनी जग्गामा पहिलोपटक सयपत्री लगाएका उनले यस वर्ष करिब एक क्विन्टल फूल बिक्री गरिसकेका छन् ।

पहिलो प्रयासमै सोचेभन्दा राम्रो उत्पादन र बजार पाएपछि उनी उत्साहित छन् । प्रतिकिलो तीन सय ५० देखि चार सय रुपैयाँसम्ममा फूल बिक्री भएको उनी सुनाउँछन् । ‘सुरुमा के होला, कसो होला, बजार पाइँदैन कि भन्ने चिन्ता थियो । अहिले मागअनुसार पुर्‍याउन सकिएन,’ उनले भने ।

उनका अनुसार सुरुमा फूलखेती गर्छु भन्दा धेरैले पत्याएका थिएनन् । अहिले बारीमा फूल फुलेको देखेपछि खेतीप्रति अरूको पनि चासो बढेको छ । फूलखेतीले बाँझो जमिनको उपयोग र स्थानीय आम्दानीको सम्भावना देखाएको उनको बुझाइ छ ।

सुन्दरबजार नगरपालिका–४, सत्रसयमै पत्रकार विराट न्यौपानेले पनि सयपत्री फुलाएका छन् । लक्ष्मीनारायण एचडीका सहसम्पादक न्यौपानेले एक रोपनीभन्दा बढी क्षेत्रफलमा पहिलोपटक फूलखेती गरेका हुन् ।

पछिल्लो समय घर सजावट, पूजा, माला तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा सयपत्रीको प्रयोग बढ्दै गएको छ । तिहारमा यसको माग अझ बढी हुन्छ । स्थानीय उत्पादन घरबाटै बिक्री हुने भएकाले बजार खोज्दै भौँतारिनुपर्ने अवस्था नरहेको पत्रकार कुइँकेल बताउँछन् ।

उनका अनुसार बीउ उम्रिएपछि २२ दिनदेखि एक महिनासम्मका बिरुवा खेतबारीमा रोप्ने गरिन्छ । छिटो फूल उत्पादन गर्नुपर्ने भए रोपेको १५ दिनभित्र र ढिलो उत्पादन गर्ने भए २५ दिनसम्ममा मुन्टा चिमोट्ने गरिन्छ । मुन्टा चिमोट्दा बिरुवामा हाँगा फैलिने र फूल बढी फुल्ने उनको अनुभव छ । यसका लागि भने प्राविधिक ज्ञान आवश्यक हुन्छ ।

सयपत्रीका कर्मा ५५५, टेनिस बल र कलकत्ते जात बढी प्रचलनमा छन् । तीमध्ये टेनिस बल जातको फूल तुलनात्मक रूपमा बढी टिकाउ हुने भएकाले यसलाई बढी रुचाउने गरिएको कुइँकेल बताउँछन् । यो जातको फूल टिपेपछि करिब छ दिनसम्म राख्न सकिने उनको भनाइ छ ।

तिहारबाहेक एकादशी मेला, विभिन्न जात्रा, मेला–महोत्सव, पूजापाठ, विवाह र व्रतबन्धमा पनि सयपत्रीको माग हुने गर्छ । विशेषगरी तिहारपछि एकादशी मेलामा फूलको डोली बनाएर तार्ने चलन रहेकाले सयपत्रीको माग बढ्ने गरेको पुष्प व्यवसायी बताउँछन् ।

कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलका अनुसार जिल्लामा केही किसानले फूलखेती सुरु गरेका छन् । तर, फूलखेती गर्ने किसान र उत्पादनको यकिन तथ्यांक कार्यालयसँग छैन । प्रदेश सरकारबाट पनि यससम्बन्धी छुट्टै कार्यक्रम नरहेको उनले बताए । स्थानीय तहसँग समन्वय गरेर फूलखेती गर्ने किसान र उत्पादनको विवरण संकलन गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->