जनकपुर / मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन् । प्रदेशसभामा अल्पमतमा परेपछि यादवले राजीनामाको विकल्प रोजेका हुन् ।
प्रदेशसभाको अंकगणितीय जोड घटाउमा अल्झिएर सरकार सञ्चालन गर्नुभन्दा प्रदेशमा स्थिर सरकार निर्माण र विद्यमान राजनीतिक परिस्थितिको निकास खोज्न राजीनामा दिएको उनले बताए ।
उनले भने, ‘प्रदेशमा राजनीतिक स्थिरता कायम गर्न र सरकार गठनको प्रक्रियालाई सहज बनाउन मार्गप्रशस्त गर्ने उद्देश्यले राजीनामा दिएको हुँ ।’
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबिच नयाँ सत्ता समीकरणको सहमति यसअघि नै भइसकेको छ । सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते र नेकपाले कात्तिक २० गते समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।
यहाँ अब प्रदेश प्रमुखले संविधानको धारा १६८ ९२० अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् ।





