मंगलबार, मंसिर १ २०८३

मंगलबार, मंसिर १ २०८३
  • १ मंसिर २०८३ , मंगलबार
  • November 17 2026

मैले बन्न चाहेको म

मैले बन्न चाहेको म


  • डा सञ्जय कोइराला
  • कार्तिक ३० २०८३, सोमबार

जीवनका आधा वसन्त पार गर्दै गर्दा आज फेरि लामो समयको अन्तरालमा केही लेख्न मन लागेको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दाको समयबाट राजनीतिसँगै अन्य केही समसामयिक बिषयमा लेख्न थालेको थिएँ । केहि समय देशको राजनीतिक उतारचढावसँगै अन्तराष्ट्रिय राजनीतिलाई पनि नियाल्दै आफ्नो व्यस्त दैनिकीलाई पनि अघि बढाइरहेको छु । कुनै समय अलि बढी फुर्सद निक्लन्थ्यो र आफ्ना भावना लेख्न बसिहाल्थे, थोरै कुराको अनुभव भए पनि त्यसलाई सुनाई हाल्न मन लाग्थ्यो । तर, अब अनुभवसँगै मनमा धेरै कुरा भएपनि पहिले जस्तो व्यक्त गरिहाल्ने आन्तरिक व्यग्रता हराउँदै गएको छ । सायद समयसँगै मानिसको जीवनमा हुने अपेक्षित परिवर्तन नै होला, अब हरेक कुराको प्रतिक्रिया दिने इच्छासँगै आवश्यकता पनि महसुस गर्न छोडेको छु ।

जीवनमा कुनै समय यस्तो पनि आयो जब देशका लागि केही गर्नु पर्छ, जीवनको उद्देश्य राज्यकै लागि समर्पित हुनु नै हो भन्ने उत्कट भावनाले चिकित्साशास्त्रमा स्नातकोत्तर गरेर आफ्नै संस्था सञ्चालन गरिरहेको म, बिल्कुलै नयाँ विषय राजनीतिशास्त्रमा स्नातकोत्तर गर्न पृथ्वीनारायण क्याम्पसमा भर्ना भएँ । कुनै बेला राजनीतिको र पनि सुन्न नचाहने म, कानसम्बन्धी रोगहरुको उपचारमा पोखरामा आफ्नो अलग्गै पहिचान बनाएर आफ्नो अभ्यासमा पनि जमिरहेको, मलाइ राजनीतिशास्त्रमा रुचि बढ्नुमा उति बेला आफ्नो कार्यक्षेत्रमा भोग्नु परेका विभिन्न व्यक्तिका अराजनीतिक क्रियाकलाप थिए ।

अलिकति मेरा साइला भिनाजुको प्रेरणा पनि थियो । उहाँले ममा के देख्नु भएको थियो कुन्नि, मैले राजनीति बुझ्नु पर्छ भन्ने उहाँको शुभेच्छा थियो । हामीले दैनिक जीवनमा भोग्नुपर्ने अनेक बाधा, व्यवधानलाई राजनीतिको उपज ठह¥याउने हाम्रो समाजले मलाई राजनीतिको सही अर्थ बुझ्न यो शास्त्रको अध्ययनको आवश्यकता महसुस गराएको थियो । हामीले राजनीतिलाई जे सोचेका छौँ, जे सम्झेका छौँ, त्यो सही नै हो त ?

यही बिषयको अन्तर्य बुझ्न मैले आफ्नो जीवनको मोड परिवर्तन गरेको थिएँ । कुनै समय प्लेटोले देखेको आदर्श राज्यको सपना मैले पनि देख्न थालेको थिएँ । प्लेटोले देखेका आदर्श राज्यका आधारहरुको बिषयमा मैले उ बेलामा नै सानो लेख लेखेको थिएँ । एउटा साधारण मानिसले आफ्नो जीवनमा सहज तवरले राज्यबाट पाउनुपर्ने सेवा, सुविधाका लागि भोग्नु परेका अथाह पीडाहरु देखेर, भोगेर संघर्ष गरेको म यस्तो राज्यको परिकल्पनामा डुब्न थालें, जहाँ हरेक मानिस निर्धक्कसँग खुला मनले खुसी भएर जीवन जिउन सकोस् ।

जोन लेननको ‘कल्पना’को संसारमा स्वर्ग खोज्न थालेको म हरेक विभेद, हरेक विसंगतिको अचूक उपाय आफ्नै मस्तिष्कमा खोजिरहें, आदर्शवाद र यथार्थवादको मिलनबिन्दुको गणितीय हिसाबकिताबमा हराईरहें । म यो भौतिक समाजबाट केही समय पर रहन चाहन्थें, तर भागवत गीतको अनुयायी भएको हुँदा भौतिकसँगै अध्यात्मिक सुखको खोजमा दुवै पक्षलाई आत्मसात गरेर संघर्ष गरिरहें ।

राजनीतिशास्त्र अध्ययनकै क्रममा माक्र्सवाद, लेनिनवाद, माओवाद, पुँजीवाद, समाजवाद इत्यादि वादहरुको कोलाहलमा राजनीतिशास्त्रका पुस्तकहरुको पानामा कतै हराएको एउटा वाद–राअलवादमा मैले चाहेको जस्तो आदर्शवादको कोशेढुंगा भेटें ।

‘कसैलाई समाजमा आफ्नो स्थान थाहा नहोस्, आफ्नो वर्ग थाहा नहोस्, आफ्नो सामाजिक हैसियत थाहा नहोस्, प्राकृतिक सम्पत्ति, कला, गुण या सामथ्र्य सरहको वितरणमा आफ्नो भाग्य थाहा नहोस्, म अझै चाहन्छु कि कुनै पनि पार्टीलाई आफ्नो हित या प्रवृत्ति पनि थाहा नहोस् । न्यायका सिद्दान्तहरु अज्ञानताको पर्दा पछाडि रहेर प्रतिपादन गरियोस !’

यी हरफहरु जोन राअल (सन् १९२१–२००२) को न्यायका सिद्धान्त नामक पुस्तकबाट साभार गरिएका हुन् । समकालीन राजनीतिक विचारधारामध्ये राजनीतिमा एक उच्च आदर्शको सुरुवात गर्न सामथ्र्य राख्ने एउटा वाद थियो–राअलवाद । भौतिकवाद चरमोत्कर्षमा रहेको तत्कालीन समाज माक्र्सको साम्यवाद या स्मिथको पुँजीवादको द्वन्द्वमा यसरी अल्झियो कि अन्य विचारधारा पूर्णतया ओझेलमै रहन पुगे ।

राअलवादी चिन्तन भौतिक र आध्यात्मिक दर्शनको मध्यविन्दु हुन सक्ने मैले देखेको छु । राअलवादी चिन्तनले मानिसलाई यस्तो अवस्थमा आफूलाई उभ्याउन कोसिस गर्दछ, जहाँबाट मानिसले भौतिक संसारमा आफूलाई आध्यात्मिक ऊर्जाले अघि बढाउन कोशिस गर्ने छ । यो यस्तो डुंगा बन्नेछ जसले मानिसलाई भौतिकवादी समुद्रबाट अध्यात्मिक किनारामा पु¥याउने छ ।

सम्झौतावादी चिन्तनको एउटा रुपको वर्गमा व्याख्या गर्न खोजिएको यस अज्ञानताको पर्दा बिषयक राअलवादी चिन्तनको मूल स्थिति सम्झौतावादी चिन्तनको प्राकृतिक अवस्थाभन्दा पृथक छ । राअलवादी मुल स्थितिमा मानिसको प्राकृतिक अवस्थालाई कुनै पनि गुणको आधारमा वर्गीकरण गरिएको छैन । उक्त अवस्थामा मानिसको कस्तो चरित्र हुन्छ भन्ने कुनै जिकिर राअलवादमा छैन र आवश्यक पनि हँुदैन । उक्त स्थितिमा आफू या आफ्नो पार्टी रहेको अवस्थामा के गर्दा आफूलाई न्याय हुन्छ, त्यही गर्न सुझाएका राअलले सामाजिक असमानताका लागि पनि उपयुक्त कारण खुलाएका छन् ।

राज्यका हरेक पक्षमा आफ्नो वर्ग, लिंग, जात, धर्म या आर्थिक, राजनैतिक झुकाव बिना सबैको पहुँच हुनुपर्छ तर समान अवसर पाउँदा पाउँदै पनि विभिन्न कारणवश हुने असमानताको दूरी मेटाउन राज्यलाइ विभेदकारी नियमहरु लगाउन छुट दिएका राअलले अज्ञानताको पर्दालाइ नै बढी केन्द्रमा राखेका छन् । मूल स्थिति भनेर उनले राखेको यही अवस्थामा पुग्न सक्ने चिन्तकहरु आजको आवश्यकता हो । यो अवस्थामा पुग्न राजनीतिक चेतनासँगै आध्यात्मिक चिन्तनको पनि आवश्यकता छ ।

जो कोहीले सहजै बुझ्न मुस्किल रहेको यो विचारधारलाई बुझेर आत्मसात गरी आफैंले आफैंलाई अज्ञानताको पर्दामा राखेर सोच्न सक्ने आध्यात्मिक दार्शनिकले मात्रै अबको विश्वलाई सही दिशामा अघि बढाउन सक्नेछन् । धार्मिक धु्रविकरणको जोखिम बढिरहेको वर्तमान परिवेशमा मानिसलाई सही किनारामा पु¥याउन एउटा नाउको आवश्यकता छ, जुन राअलवाद बन्न सक्छ ।

यस चिन्तनलाई सबैले बुझेर आत्मसाथ गर्न सकेमात्र मैले खोजेको जस्तो म र मैले चाहेको जस्तो समाजको निर्माण हुन सक्नेछ । जोन लेननको काल्पनिक संसारको निर्माणमा पनि यही चिन्तनको बिज मैले देखेको छु । म चाहन्छु यो संसारमा कसैले पनि पीडा खप्नु नपरोस, म चाहन्छु सबै खुला हृदयले निर्धक्कसँग आफ्नो जीवन संसारिक सुखभोगसँगै मानसिक स्वतन्त्रतामा जिउन सकुन् । म चाहन्छु मानिस नै हरेक मानिसको पीडामा मल्हम बन्न सकुन् ।

एउटा यस्तो संसार होस्, जहाँ प्रकृति आफ्नो सुन्दरताको उत्कट रंगमा भिजेकी हुन्, मानिस प्रकृतिको विरुद्ध नभई प्राकृतिक नियममै रहेर भौतिक विकाससँगै अध्यात्मिक चिन्तनमा रमाउन सकुन् । यस्तो आदर्श संसार यो कलियुगमा सम्भव त नहोला, तर पनि त्यसको आसपासमा पुग्ने दिशातर्फ हिड्नु नै हाम्रो यो जीवनको उद्देश्य हुनु पर्छ । हाम्रा धर्म ग्रन्थहरुमा भनिएको जस्तो कलियुगको अन्त्य निश्चित नै छ, यो युगपछि आउने भनेको सत्ययुग नै हो, त्यसैले अब आउने युगको तयारी स्वरुप पनि अब हामीले आफ्नो सोचाई परिवर्तन गर्न जरुरी छ, राअलवादी चिन्तनलाई बुझ्नु र आत्मसाथ गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->