बुधबार, मंसिर २ २०८३

बुधबार, मंसिर २ २०८३
  • २ मंसिर २०८३ , बुधबार
  • November 18 2026

एआई वा मानव निर्मित सामग्री चिन्ने तरिका

एआई वा मानव निर्मित सामग्री चिन्ने तरिका


  • मनहरि तिमिल्सिना
  • मंसिर १ २०८३, मंगलबार

कुनै सामग्री एआईको प्रयोगबाट तयार पारिएको हो वा मानिस स्वयंले लेखेको हो भन्ने छुट्याउने केही भाषिक, संरचनागत र विषयगत आधारहरू लिन सकिन्छ ।

१. एआईबाट तयार गरिएका सामग्रीमा व्याकरण, वाक्य संरचना र शब्द छनोट प्रायः निकै व्यवस्थित हुन्छन् । लेखको सुरुदेखि अन्त्यसम्म भाषाको एकरूपता र अत्यधिक परिष्कृत शैली देखिन सक्छ । सामान्य मानवीय लेखनमा भने भाषाको प्रयोग र अभिव्यक्तिमा स्वाभाविक उतारचढाव पाइन्छ ।

२. एआईले लेख तयार गर्दा प्रायः एउटै प्रकारको लेखन शैली अपनाउँछ । अनुच्छेदको बनोट, वाक्य निर्माण र विचार प्रस्तुत गर्ने तरिका लगभग उस्तै देखिन सक्छ । लेखभरी शैलीमा कुनै परिवर्तन नदेखिनु एआई प्रयोगको सम्भावित संकेत हुन सक्छ ।

३. एआईले एउटै विचारलाई फरक शब्द र वाक्यमा दोहो¥याएर प्रस्तुत गर्ने प्रवृत्ति देखाउँछ । यसले लेखको आकार बढाए पनि नयाँ तथ्य वा विचार थपिएको नहुन सक्छ । त्यसैले एउटै कुरा विभिन्न अनुच्छेदमा दोहोरिएको छ कि छैन भन्ने जाँच गर्नुपर्छ ।

४. एआईबाट तयार सामग्रीमा विषयको सामान्य व्याख्या धेरै तर गहिरो विश्लेषण कम हुन सक्छ । विषयसँग सम्बन्धित जटिल प्रश्न, अन्तर्विरोध र व्यावहारिक पक्षको चर्चा सतही हुन सक्छ । पढ्दा आकर्षक लागे पनि त्यसमा मौलिक विचार र विश्लेषणको अभाव देखिन सक्छ ।

५. मानवीय लेखनमा लेखकका व्यक्तिगत अनुभव, अनुभूति र आफ्नै दृष्टिकोणले स्थान पाउँछन् । एआईले पनि यस्ता कुरा प्रस्तुत गर्न सक्छ, तर कतिपय अवस्थामा ती अनुभव वास्तविकताभन्दा सामान्य र बनावटी लाग्न सक्छन् । लेखमा व्यक्तिगत र मौलिक अभिव्यक्तिको अवस्था विश्लेषण गर्नु उपयोगी हुन्छ ।

६. एआईले उदाहरण प्रस्तुत गर्दा प्रायः सामान्य र सबैले परिचित उदाहरण प्रयोग गर्छ । कुनै निश्चित समाज, भूगोल वा घटनासँग सम्बन्धित विशिष्ट उदाहरणको अभाव हुन सक्छ । स्थानीय परिवेश र वास्तविक जीवनका घटनासँग लेखको सम्बन्ध कमजोर देखिएमा थप परीक्षण गर्नुपर्छ ।

७. एआईले प्रायः अनुच्छेद र विचारलाई निश्चित ढाँचामा व्यवस्थित गर्छ । हरेक अनुच्छेदमा परिचय, व्याख्या र निष्कर्षको समान संरचना दोहोरिन सक्छ । लेखको समग्र बनोट अत्यधिक यान्त्रिक र पूर्वनिर्धारित जस्तो देखिन्छ ।

८. एआईबाट तयार सामग्रीमा तथ्य र प्रमाणभन्दा व्याख्या तथा सामान्य निष्कर्ष बढी हुन सक्छन् । विषयसँग सम्बन्धित तथ्यांक, अनुसन्धान र आधिकारिक आधार पर्याप्त रूपमा प्रस्तुत नहुन सक्छन् । त्यसैले लेखमा गरिएका दाबीलाई प्रमाण र तथ्यका आधारमा परीक्षण गर्नुपर्छ ।

९. एआईले कहिलेकाहीँ अस्तित्वमै नभएका पुस्तक, लेखक, अनुसन्धान र प्रकाशनको सन्दर्भ दिन सक्छ । वास्तविक स्रोतको नाम उल्लेख गरे पनि त्यसबाट निकालिएको निष्कर्ष गलत हुन सक्छ । त्यसैले लेखमा उल्लेख गरिएका स्रोत र उद्धरणको मूल सामग्रीसँग तुलना गर्नुपर्छ ।

१०. एआईले केही निश्चित शब्द र वाक्यांश पटक पटक प्रयोग गर्ने प्रवृत्ति देखाउन सक्छ । समग्रमा भन्नुपर्दा’, ’यस सन्दर्भमा’, ’महत्त्वपूर्ण पक्ष’ र ’विशेष ध्यान दिनुपर्ने कुरा’ जस्ता अभिव्यक्ति अनावश्यक रूपमा दोहोरिन सक्छन् । यस्ता शब्दावलीको अस्वाभाविक पुनरावृत्तिले एआई प्रयोगको संकेत दिन सक्छ ।

११. विवादित विषयमा एआईले प्रायः दुवै पक्षका तर्कलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने प्रयास गर्छ । यस क्रममा स्पष्ट दृष्टिकोण, आलोचनात्मक टिप्पणी र बलियो निष्कर्ष कमजोर हुन सक्छन् । तर सन्तुलित लेखन मानवीय लेखनमा पनि हुने भएकाले यसलाई एक्लै आधार मान्न मिल्दैन ।

१२. एआईले कुनै देश, समाज, समुदाय वा संस्थाबारे सामान्य जानकारी दिन सक्छ । तर त्यहाँको स्थानीय यथार्थ, सामाजिक सम्बन्ध र व्यावहारिक जटिलता समेट्न नसक्ने अवस्था हुन सक्छ । विषयको विशिष्टता र वास्तविक परिस्थितिबारे लेख कति जानकार छ भन्ने कुरा परीक्षण गर्नुपर्छ ।

१३. एआईले भावनात्मक र संवेदनशील विषयमा पनि औपचारिक तथा व्यवस्थित भाषा प्रयोग गर्न सक्छ । कतिपय अवस्थामा आक्रोश, व्यंग्य, असहमति र मानवीय संवेदनाको अभिव्यक्ति कृत्रिम लाग्न सक्छ । लेखको भाव र त्यसमा प्रस्तुत विचारबीच स्वाभाविक सम्बन्ध छ कि छैन भन्ने कुरा विचार गर्नुपर्छ ।

१४. एआईबाट तयार सामग्री पहिचान गर्न GPTZero, Copyleaks लगायतका डिजिटल उपकरण प्रयोग गर्न सकिन्छ । यी उपकरणले भाषिक संरचना र शब्द प्रयोगका आधारमा एआईबाट लेखिएको सम्भावना देखाउँछन् । तर तिनको नतिजा शतप्रतिशत विश्वसनीय नहुने भएकाले त्यसैका आधारमा अन्तिम निष्कर्ष निकाल्नु हुँदैन ।

१५. लेखकको नयाँ सामग्रीलाई उनका पुराना लेख, पुस्तक वा अन्य प्रकाशनसँग तुलना गर्नु पनि उपयोगी विधि हो । शब्द चयन, वाक्य संरचना, विचार प्रस्तुत गर्ने तरिका र विश्लेषणको स्तरमा अचानक ठूलो परिवर्तन देखिएमा त्यसको कारण खोज्न सकिन्छ । विशेषगरी लेखकको स्थापित लेखनशैलीसँग नयाँ सामग्रीको भिन्नता कति छ भन्ने कुराले थप परीक्षणको आधार दिन्छ ।

१६. प्रत्यक्ष चिनजानका मान्छेहरूको ज्ञान एवं अनुभवको स्तर स्वतः थाहा हुन्छ । कुनै व्यक्ति सो विषयको ज्ञाता होइन, अध्ययन पनि छैन, तर असाध्यै सुसंगत विषय राखेको छ भने त्यो पनि एआई प्रयोग हुन सक्छ । किनकि ज्ञान वा क्षमताले आजको भोलि एक रातमा छलाङ मार्दैन ।

१७. आधार एआईबाट लेखिएको सामग्री पहिचान गर्ने सम्भावित संकेतमात्र हुन्, निर्णायक प्रमाण होइनन् । अहिले एआईबाट लेखिएको सामग्रीलाई मानिसले सम्पादन गर्न र मानिसले लेखेको सामग्रीलाई एआईबाट परिमार्जन गर्न सकिने भएकाले पूर्ण विश्वसनीय पहिचान सजिलो छैन । त्यसैले भाषिक विश्लेषण, तथ्य परीक्षण, स्रोतको प्रमाणीकरण र लेखकको पूर्वलेखनलाई एकसाथ अध्ययन गर्नु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->