आज र भोलि नेकपा (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला आयोजना हुँदैछ । सर्वप्रथम भेला सफलताको कामना गर्दै म पार्टीभित्र बृहत् एकता र समयसापेक्ष पुनर्गठनको अपिल गर्दछु । कार्यक्रममा उपस्थित सम्पूर्ण नेता, कार्यकर्ता तथा अन्य सम्पूर्ण सहभागीहरूलाई हार्दिक स्वागत छ । खासगरी एमालेको वरिष्ठ नेताका रूपमा पार्टीको औपचारिक कार्यक्रममा हुन लागेको विशेष उपस्थितिका लागि सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष स्वागत गर्न चाहन्छु र यो उपस्थितिले सशक्त रूपमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु । कार्यक्रममा उपस्थितिका लागि मेरो व्यक्तिगत असमर्थताबारे सहभागी साथीहरूले बुझिदिनुहुनेछ । कार्यक्रमलाई सफल बनाउन सबैको सकारात्मक योगदान रहने कुरामा विश्वास व्यक्त गर्दछु। भिन्न मतकै आधारमा ‘कित्ताकाट’ नगरी सामूहिक नेतृत्व प्रणालीको रक्षा गर्न र पार्टीलाई ‘अपडेटेड’ बनाउन म सम्पूर्ण एमाले पङ्क्तिसँग आग्रह गर्दछु । भेलाका सन्दर्भमा यहाँ मेरा केही सुझाव राखेको छु ।
१. पार्टीले ‘विशेष निर्णय’ गरी तोकिएका तह र तप्काका नेता-कार्यकर्ताहरूको सहभागितामा यो भेलाको हुँदैछ। अहिले आयोजना हुँदै गरेको यो कार्यक्रमले आफ्ना घोषित उद्देश्य र योजनाअनुसार उपलब्धि प्राप्त गर्न सकोस् र पार्टीले त्यसको संस्थागत रूपमा मूल्याङ्कन वा समीक्षा गरोस् ! अहिले यति भनौँ- यो कार्यक्रमले नेकपा (एमाले) लाई एकताबद्ध बनाओस् र थप गति प्रदान गर्ने महत्त्वपूर्ण अध्याय बन्न सकोस् । सबैबाट यसका लागि योगदान हुन सकोस्, शुभकामना !
२. यो कार्यकर्ता भेला यस्तो बेला आयोजना हुँदै छ, जतिबेला राष्ट्रिय राजनीतिमा अनिश्चितताका काला बादल मडारिँदै छन्। बाह्य शक्तिहरूको चलखेल विगत कुनै पनि बेलामा भन्दा विशेष रूपमा देखापरिरहेको छ र मुलुकको सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानमा समेत आँच पुग्ने तथा संविधानप्रदत्त लोकतान्त्रिक अधिकारहरू समेत कुण्ठित हुने वा खोसिने गम्भीर सम्भावना देखापरिरहेको छ। यस्तो अवस्थामा सर्वप्रथम नेकपा (एमाले) भित्रको आन्तरिक एकतालाई मजबुत बनाउनुपर्ने र यसलाई एउटा निर्णायक राष्ट्रिय शक्तिका रूपमा निर्माण गर्नुपर्ने विशेष आवश्यकता छ ।
यसका लागि पार्टीभित्र आधारभूत कुरामा सहमति राख्ने सबैलाई एकताबद्ध र गोलबद्ध गर्ने काममा विशेष ध्यान जान जरुरी छ । नेकपा (एमाले) भित्रको बृहत् एकता अहिलेको आवश्यकता हो भन्ने कुरा सबैले एउटै ‘स्पिरिट’ का साथ बुझ्न सक्नुपर्छ । कतिपय विषयमा भनाइ र दृष्टिकोणमा तत्काल ठ्याक्कै एकरूपता नहुन सक्छ वा नदेखिन सक्छ। अनेक ढङ्गले भिन्नता लाग्ने विषयहरू प्रकट हुन सक्छन्, जुन कुरालाई हाम्रोजस्तो विचार बोकेको पार्टीमा अस्वाभाविक मानिनु हुन्न । यही आधारमा कित्ताकाट गरिहाल्ने वा अमैत्रीपूर्ण व्यवहार गरिहाल्ने कुरा पार्टीभित्रको बृहत् एकताको आवश्यकता र मान्यतासित समेत मेल खाँदैन। यो कुरा वर्तमान जटिल परिस्थितिले गरेको आवश्यक मागसित पनि मेल खान्छ भन्ने लाग्दैन। यसका लागि यस सम्बन्धमा कतिपय कुरामा आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ।
यतिबेला नेकपा (एमाले) भित्र पुनर्गठन वा पुनर्व्यवस्थापनको कुरा उठ्नु अस्वाभाविक र असान्दर्भिक मान्नु हुन्न भन्ने लाग्छ। परिवर्तित परिस्थितिअनुसार सिङ्गो पार्टीलाई पुनर्गठित/पुनर्व्यवस्थित गर्ने कुराको आवश्यकतालाई बुझ्न सक्नुपर्छ।
यो मान्यताको जगलाई राम्रो वा सुदृढ बनाएर मात्रै साझा उद्देश्यका खातिर पार्टीबाहिरका सकारात्मक पक्षहरूमा समेत आशा जगाउँदै बृहत् गोलबन्दीको अभियानमा सफलता प्राप्त गर्न सकिन्छ। यसलाई पार्टीभित्रको विषय मात्र नठानी अहिलेको राष्ट्रिय आवश्यकता हो भन्ने कुरा एमाले पङ्क्तिले बुझ्नैपर्छ। ‘राष्ट्रिय भेला’ मा नेताहरूद्वारा प्रस्तुत हुने विचार वा प्रस्तावमा यी विषयउपर यथोचित सम्बोधन हुने र सहभागी साथीहरूबाट यस सम्बन्धमा सहभागितामूलक योगदान हुने नै छ।
३. यतिबेला मुलुकमा संविधानप्रदत्त लोकतान्त्रिक अधिकार सके समाप्त पार्ने, नभए पनि कुण्ठित बनाउने दुष्प्रयत्न भइरहेका छन्। यस्तो संवेदनशील परिस्थितिमा लोकतन्त्रका पक्षधर शक्तिहरूका बीचमा साझा सरोकारको विषयमा बृहत् एकताका लागि नेकपा (एमाले) जस्तो पार्टीले प्रभावकारी, समन्वयकारी र नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ। यही आवश्यकताद्वारा निर्देशित हुँदै भेलाले महत्त्वपूर्ण निष्कर्ष निकालोस् भन्ने सबै सकारात्मक पक्षहरूको चाहना पनि हो। भेलामा सहभागी नेता–कार्यकर्ताहरूबाट यी विषयउपर आवश्यक ध्यान पुग्ने नै छ। एमालेद्वारा अहिले आयोजना भइरहेको राष्ट्रियस्तरको यस किसिमको कार्यक्रमबाट सबै पक्षले यही र यस्तै अपेक्षा गरेका छन्। सहभागी साथीहरूसमक्ष यो एक किसिमको अपिल पनि हो।
४. जनताको बहुदलीय जनवादद्वारा निर्देशित एमालेलाई थप एकताबद्ध र सुदृढ बनाउनका लागि यसको सामूहिक नेतृत्व प्रणाली निर्णायक महत्त्व राख्ने विषय हो। संस्थागत निर्णय प्रक्रियालाई थप जीवन्त र प्रभावकारी बनाएर ‘सामूहिक नेतृत्व प्रणाली’ को रक्षा गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी एमालेजनमा अहिले पनि छ। कमिटी प्रणाली र पार्टीको साङ्गठनिक जीवनमा ‘नियन्त्रण र सन्तुलन’ को अपरिहार्यतालाई एमालेले अभ्यासबाटै आत्मसात् गर्दै आएको हो। जनतासँगको सम्बन्ध/सम्पर्क र जनताको दैनिक जीवनसित गाँसिनुपर्ने विषयलाई पार्टीको राजनीतिक-साङ्गठनिक जीवन अगाडि बढाउने अपरिहार्य सर्तका रूपमा एमालेले स्वीकार र आत्मसात् गर्दै आएको हो।
यसलाई कमजोर हुन नदिनु सम्पूर्ण एमालेजनको महत्त्वपूर्ण जिम्मेवारी र कर्तव्य पनि हो। गतिशील संस्थाका रूपमा पार्टीलाई बचाउने र सशक्त ढङ्गले अगाडि बढाउने महत्त्वपूर्ण आधारका रूपमा यसलाई स्वीकार गरिएको हो। आज पनि एमालेभित्र यसलाई थप सुदृढ बनाउने कुरामा जोड दिनुपर्ने त्यत्तिकै आवश्यकता छ। यसलाई कमजोर हुन दिनै हुन्न भन्ने आम अनुभूति एमालेभित्र छ। यसलाई तथ्यपरक र समीक्षात्मक चेतबाट छलफल चलाउनुपर्ने विषयका रूपमा स्वीकार गरेर मात्र अगाडि बढ्न सकिन्छ।
पार्टी विधानको पालना, इच्छा लागेको बेला वा पार्टीभित्र अन्तर्विरोध चर्किएका बेला (आफ्नो पक्षलाई अनुकूल र अर्को पक्षलाई कमजोर देखाउने होडमा) आफ्नो वर्चस्व पुष्टि गर्ने अस्त्रका रूपमा होइन; पार्टी जीवनलाई नियमित र व्यवस्थित बनाउन, गतिशील संस्थाको सबल मेरुदण्डका रूपमा स्थापित गर्न र यिनै कुराको बलमा जनतामा सेवा प्रवाह गर्ने प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउनका लागि अनिवार्य अभ्यासका रूपमा बुझ्नुपर्ने आवश्यकता छ। भेलामा नेताहरूद्वारा प्रस्तुत गरिने विचार र त्यहाँ हुने छलफल–बहसमा यी विषयले स्थान पाउने नै छन् र समीक्षात्मक कोणबाट कुराहरू उठ्ने नै छन्। यी विषय वर्तमान पार्टी जीवनसित गाँसिएका विषय हुन्।
यस सन्दर्भमा एउटा कुरा- एमालेसँग गौरवपूर्ण विगतको लामो इतिहास रहेको छ र त्यसैको जगमा वर्तमानसम्मको सम्मानजनक स्थिति कायम रहेको हो। तर वर्तमानका चुनौती र देखापरेका समस्याहरूको समाधान इतिहासका ती गौरवपूर्ण प्रसङ्गहरूले मात्र दिँदैनन्, त्यसैका भरमा मात्र अगाडि बढ्न सकिँदैन। यसका लागि त अहिलेका चुनौतीहरूसित सामना गर्ने गरी विचारको पुनर्व्यवस्थापन, साङ्गठनिक पुनर्व्यवस्थापन, नेतृत्वको पुनर्व्यवस्थापन, कार्यसम्पादन शैलीको पुनर्व्यवस्थापन र जनसम्पर्क/जनसम्बन्धको पुनर्व्यवस्थापन आवश्यक पर्छ।
कित्ताकाट गरिहाल्ने वा अमैत्रीपूर्ण व्यवहार गरिहाल्ने कुरा पार्टीभित्रको बृहत् एकताको आवश्यकता र मान्यतासित समेत मेल खाँदैन। यो कुरा वर्तमान जटिल परिस्थितिले गरेको आवश्यक मागसित पनि मेल खान्छ भन्ने लाग्दैन। यसका लागि यस सम्बन्धमा कतिपय कुरामा आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ।
यो भनेको पार्टी ‘अपडेटेड’ भइरहनुपर्छ, अपडेटेड भइएन भने आउटडेटेड हुनबाट कसैले पनि बचाउन सक्दैन भन्ने हो। यिनै आवश्यकता पूरा गर्ने सम्बन्धमा भेला जति केन्द्रित हुन सक्छ, त्यसैमा यसको सफलताको आकलन हुने कुरा पार्टी पङ्क्ति र आम जनताले समेत प्रतीक्षा गरेका छन्। अगाडि आइ नै सकेको निर्वाचनरूपी लडाइँमा मात्र होइन, अगाडि आउने अरू चुनौतीहरूलाई योग्यतापूर्वक सामना गर्न पनि यी काम गरिनैपर्छ।
५. यतिबेला नेकपा (एमाले) भित्र पुनर्गठन वा पुनर्व्यवस्थापनको कुरा उठ्नु अस्वाभाविक र असान्दर्भिक मान्नु हुन्न भन्ने लाग्छ। परिवर्तित परिस्थितिअनुसार सिङ्गो पार्टीलाई पुनर्गठित/पुनर्व्यवस्थित गर्ने कुराको आवश्यकतालाई बुझ्न सक्नुपर्छ। परिवर्तित सन्दर्भमा पार्टीलाई पुनर्व्यवस्थित गर्न विचार, सङ्गठन, नेतृत्व बनोट, कार्यसम्पादन शैली, जनतासितको सम्बन्ध/सम्पर्कलाई मजबुत बनाउने कुरा तथा पार्टी कामलाई उत्पादन र रोजगारीसित एकीकृत हिसाबले गाँस्ने कुरा आदिलाई सन्तुलित ढङ्गले बुझ्न सक्नुपर्छ।
यी समग्र पार्टी जीवन र आन्दोलनको भविष्यका लागि दिशानिर्देश गर्ने निर्णायक मोडका महत्त्वपूर्ण कुरा हुन् । यसलाई मनोगत रूपमा, आत्मकेन्द्रित भएर वा सङ्कीर्ण हिसाबले बुझेर अघि बढ्नै सकिन्न। समग्रतामा र पार्टी, आन्दोलन अनि सिङ्गो मुलुकको भाग्य र भविष्यसित गाँसिएको विषयका रूपमा बुझ्न सक्नुपर्दछ। यी पूरा गर्नैपर्ने विषय हुन् र यिनलाई सम्बोधन गरेर मात्र अगाडि बढ्न सकिन्छ।
६. आम एमाले पङ्क्ति र एमालेप्रति आशा–भरोसा गरिरहेका जनताले अघिल्लो केन्द्रीय कमिटीको बैठकका सार्वजनिक भएका कतिपय कुराहरू व्यावहारिक रूपमा कार्यान्वयन भएको बुझ्न वा देख्न पाएका छैनन् । यो भेलाले ती विषयहरूलाई कति गम्भीरताका साथ लिन्छ र सहभागी साथीहरूबाट ती विषयउपर कस्तो पहलकदमी लिइन्छ, त्यसमा आधारित भएर यसका उपलब्धिबारे आम एमाले पङ्क्ति र जनताले धारणा बनाउने छन् ।
आशा गरौँ- भेलामा सहभागीहरूबाट सकारात्मक भूमिका पूरा हुनेछ र महत्त्वपूर्ण उपलब्धिका साथ यो सम्पन्न हुनेछ। अहिले देखापरेका चुनौतीलाई सामना गर्दै सम्भावनाको नयाँ र आकर्षक मैदानमा-खासगरी आइरहेको निर्वाचनमा- एमाले आफूलाई मार्गदर्शन गर्ने विचारबाट निर्देशित हुँदै सशक्त र एकताबद्ध रूपमा उभिन पुगोस् भन्ने विश्वास गरौँ ! सबैमा कार्यक्रम सफलताका लागि हार्दिक शुभकामना !





