काठमाडौं / नेकपा एमालेले २०४७ सालयता विभिन्न समयमा सरकारको नेतृत्व गर्दा तथा सरकारमा सहभागी हुँदा देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्य तथा उपलब्धिहरूको फेहरिस्त सार्वजनिक गरेको छ ।
काठमाडौंमा जारी राष्ट्रिय भेलामा उपाध्यक्ष विष्णु पौडेलले १८ पृष्ठ लामो दस्तावेजमार्फत पार्टीले संवैधानिक विकास, आर्थिक-सामाजिक रूपान्तरण, पूर्वाधार, सामाजिक सुरक्षा, सुशासन र परराष्ट्र सम्बन्धका क्षेत्रमा भएका प्रमुख प्रगति प्रस्तुत गरेका हुन् ।
दस्तावेजमा २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ फागुन २४ सम्म पार्टी अल्पमतको सरकारमा करिब ९ महिना, बहुमतको सरकारमा करिब ३ वर्ष, अरू दल सहभागी सरकारको नेतृत्वमा करिब ३ वर्ष ६ महिना र अरू दलको नेतृत्वमा करिब ५ वर्ष सहभागी रहेको उल्लेख छ।
राजनीतिक अस्थिरताका बाबजुद पार्टीले आफूले नेतृत्व गरेको र सहभागी भएको सरकारका कामको मात्र जिम्मेवारी लिने तर समग्र ३५ वर्षको जिम्मेवारी नलिने स्पष्ट पारेको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा र ‘परिपूर्ण लोकतन्त्र’ को मान्यताअनुरूप समाजवादउन्मुख आर्थिक-सामाजिक विकासको नीति अवलम्बन गरिएको एमालेको दाबी छ।
एमालेले २०४७/४८ को अवस्थासँग तुलना गर्दै हालका आर्थिक तथा सामाजिक सूचकमा उल्लेख्य सुधार भएको जनाएको छ। दस्तावेजअनुसार २०५२ मा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० मा २०.३ प्रतिशतमा झरेको छ भने मानव विकास सूचकाङ्क ०.४३७ बाट ०.६०२ र प्रतिव्यक्ति आय २०० डलरबाट २०८२ मा १,५३५ डलर पुगेको छ।
त्यस्तै, २०४७ मा रु. १ खर्ब २० अर्ब रहेको कुल गार्हस्थ्य उत्पादन हाल रु. ६६ खर्ब, वार्षिक बजेट रु. ३१ अर्ब ५५ करोडबाट रु. २१ खर्ब २४ अर्ब र विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट २६ अर्ब ४८ करोड डलर पुगेको तथ्याङ्क प्रस्तुत गरिएको छ।
२०५२ सालमा मासिक १०० बाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता हाल ४ हजार पुगेको र ३६ लाख नागरिक लाभान्वित भएको दस्तावेजमा उल्लेख छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २१ लाख श्रमिक आबद्ध भई १ खर्ब २४ अर्ब जम्मा भएको र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीको प्रबन्ध गरिएको पनि जनाइएको छ ।
यसैगरी, साक्षरता दर ३९.६ बाट ७६.२ प्रतिशत, औसत आयु ५५ बाट ७२ वर्ष पुगेको तथा बाल र मातृ मृत्युदरमा भारी गिरावट आएको उल्लेख छ। स्वास्थ्य बिमामा ८० लाख नागरिक आबद्ध भएको र एकैपटक ३९६ आधारभूत अस्पतालको शिलान्यास गरिएको जनाइएको छ।
तीन तहका जनप्रतिनिधि संस्थामा करिब ४१ प्रतिशत महिला प्रतिनिधित्व, निजामती सेवामा २९ प्रतिशत सहभागिता र ४५ लाख महिलाको घरजग्गामा स्वामित्व कायम भएको दस्तावेजमा उल्लेख छ।
भौतिक पूर्वाधारतर्फ देशभरको सडक सञ्जाल ८,३२८ किलोमिटरबाट १ लाख १० हजार किलोमिटर पुगेको र थानकोट, सिद्धबाबा तथा काठमाडौँ–निजगढ द्रुतमार्गका सुरुङमार्गमार्फत नेपाल सुरुङ युगमा प्रवेश गरेको एमालेले जनाएको छ। तुइन विस्थापन गरी १,४२३ झोलुङ्गे र ९१५ पक्की सडक पुल निर्माण, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा जयनगर–जनकपुर रेल सेवा सुरु भएको उल्लेख छ।
ऊर्जा क्षेत्रमा विद्युत जडित क्षमता २२७ मेगावाटबाट ४,१२० मेगावाट र विद्युत पहुँच १० बाट ९९ प्रतिशत पुगेको, लोडसेडिङ अन्त्य भई भारततर्फ ३,७७७ गिगावाट घण्टा विद्युत निर्यात भइरहेको दाबी गरिएको छ।
यस्तै, धान उत्पादन ३० वर्षमा ३३ लाखबाट ५९ लाख मेट्रिक टन, वन क्षेत्र ३९ बाट ४६ प्रतिशत, ८५ प्रतिशत जनसङ्ख्यामा इन्टरनेट पहुँच र ‘नागरिक एप्स’ सहित डिजिटल सेवा विस्तार भएको जनाइएको छ। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, चोभार सुक्खा बन्दरगाह, दैलेख ग्यासखानी परीक्षण र निर्यात व्यापार रु. १ खर्ब नाघेको तथ्य पनि समेटिएको छ।
२०७२ को भूकम्पपछि करिब ८ लाख निजी आवास, ७ हजार ५२ विद्यालय र ६४० पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको दस्तावेजमा उल्लेख छ। २०५२ को ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमदेखि संविधानसँग बाझिएका २०० भन्दा बढी कानुन संशोधन गरी सङ्घीयता संस्थागत गरिएको तथा सिके राउत र नेत्रविक्रम चन्द नेतृत्वका समूहलाई शान्तिपूर्ण मूलधारमा ल्याइएको एमालेले जनाएको छ।
परराष्ट्र सम्बन्धमा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ को नीतिअन्तर्गत नाकाबन्दीको सम्मानजनक समाधान, चीनसँग समुद्री बन्दरगाह र भारतसँग जलमार्ग सम्झौता भएको पौडेलले उल्लेख गरेका छन् ।
साथै, सीमा सुरक्षाका लागि २०८ स्थानमा बोर्डर आउट–पोस्ट स्थापना र सङ्घीय संसद्को सर्वसम्मत संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा प्रकाशनलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘तथापि, हामीले हाम्रो पार्टी सरकारको नेतृत्वमा रहँदा वा सरकारमा सहभागी हुँदा आर्थिक–सामाजिक रूपान्तरणका लागि पहलकदमी लिएका छौँ । त्यस अवधिमा, विशेषगरी पार्टी सरकारको नेतृत्वमा रहेको अवधिमा भौतिक पूर्वाधार, आर्थिक वृद्धि र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएका छन्।’





