बुधबार, मंसिर २ २०८३

बुधबार, मंसिर २ २०८३
  • २ मंसिर २०८३ , बुधबार
  • November 18 2026

ठुली एकादशी: बागलुङमा दिउसै रात पर्ने !

ठुली एकादशी: बागलुङमा दिउसै रात पर्ने !

मनोरञ्जनलाई खर्चगर्न साँचेका गाउँलेका पैसा बागलुङ बजार र मेलामा सकेर जान्थे । मेलामा हुने आर्थिक चलायमानले मान्छेका जीवनका आशाहरु परिपुर्ति गर्न भरपुर मद्दत गर्थे ।


  • कृष्णराज शर्मा
  • मंसिर २ २०८३, बुधबार

पहिलेको बागलुङ बजार सानो थियो । यति सानो कि अहिलेको बजार भन्दा ९५% सानो थियो । त्यो पुरानो बजारको अवस्थिति अहिलेको बजारको पश्चिम किनारको एकछेऊ मात्र थियो । सानो भूगोलको समतल जमिनमा फैलिएको त्यतिबेलाको बागलुङ बजारका लहलह झुल्ने पहेंलपुर धानका खेत र लटरम्म फल्ने कोदो-मकैका बारीहरु त दन्त्यकथामा परिणत भए । अहिलेका नयाँ पुस्तालाई इतिहासको यो यथार्थ सुनाउँदा उनीहरुलाई पक्कै पनि दन्त्यकथा नै लाग्नेछ ।

दन्त्यकथामा मात्र भेटिने तिनै खेत तथा बारी नाशिएर अहिलेको घना कंक्रिट शहर बनेको छ बागलुङ बजार ! सानै भूगोलमा भएपनि यो बागलुङ बजारका सडकहरु माकुराको जालो जस्ता छन् । अर्थात यहाँका सडकहरु भित्र भित्रै जेलिएका छन् । तर तिनै जेलिएका सडकहरु मध्येको यौटा सडकले ( मरेपिपल देखि देउराली चोकसम्म ) बीच बजारलाई चीर्दै पूर्व-पश्चिम नाका खुलाउँछ !

यो सडकबाट भएर बागलुङ जिल्लाको सुदुर तथा विकट पश्चिम क्षेत्र मानिने गल्कोट मल्म तथा ताराखोलासम्मका दिवंगत हुनुभएका व्यक्तिहरुको पार्थीव शरिरलाई कालिगण्डकीको किनार निरहे घाटमा अन्तिम संस्कार गर्न बोकेर ल्याउँदा ‘रामनाम सत्य हो, स्वर्गजाने बाटो हो’ भन्दै शवयात्रा गर्ने चलन थियो । बिहुँ घोडाबाँधेको धुरी यताका बस्तिहरुबाट शव लिएर आउँदा अहिले पनि रामनाम लिंदै यहि बाटो भएर स्वर्गजाने बाटो हो भन्दै कालिगण्डकी निरहे झर्ने चलन हराएको छैन । बजारका अन्य जुनसुकै सडकबाट ल्याए पनि मरेपिपलमा त अनिवार्य मिल्नै पर्छ । त्यसैले बजारको यो पूर्व पश्चिम नाका खुलेको बाटोलाई ठट्टामा स्वर्गजाने बाटो पनि भन्ने चलन छ ।

मृत्युपछि स्वर्ग जानेहरु त रामनाम सत्य हो भन्दै गैजान्छन् तर जिवित छंदै स्वर्गजान चाहनेहरुका लागि पनि यो स्वर्गै जाने बाटै हो भनेर बुझिंदा कत्ति पनि अतिशयोक्ति हुँदैन । किनकी पवित्र कालिगण्डकी नदीमा औंशी एकादशी तीथि ग्रहण लाग्दा लगायत दैनन्दिन पर्ने आजापूजा थालनि गर्नुपुर्व गंगास्नान गर्न जाँदा पनि यहि बाटो भएर पुग्नेहरुले समेत स्वर्गै पुगेसरह अनुभुत गर्दछन् । (त्यसोत,यो लेखको आशय अन्य सडकबाट जाँदा धार्मिक मनोकाँक्षामा अबरोध पुग्छ भन्न खोजिएको होईन । पाँच दशक पहिले त्यहि एउटै बाटोमात्र प्रयोग हुँदाको अवस्थालाई चित्रण गर्न खोजिएको मात्रै हो,अन्यथा होईन है !)

झन् कार्तिक शुक्ल एकादशी ( ठुलि एकादशी अर्थात हरिबोधनी एकादशी ) का दिन टाढाटाढाबाट आउने श्रद्धालु भक्तजनहरुले कालिगण्डकीलाई विशेष माला पहिर्याईदिन तोरणले भरिएको डोला लिएर आउनेहरुका साथमा सामेल हुँदा पनि स्वर्गीय अनुभुति पाएको महशुस गर्छन् । पर्वत म्याग्दी बाहेक बागलुङका लगभग सबै भक्तालुजनले यहि सडकको प्रयोग गर्दै निरहे पुग्छन् । तसर्थ मृत्यु पश्चात मात्र नभै जवितै अवस्थामा पनि स्वर्गजाने बाटोको रुपमा यहि बाटोलाई लिईन्छ ।

बागलुङको एकादशी मेला नेपालकै ठुला मेलाहरु मध्येको एक हो । ठुलि एकादशीको महिमा यहाँ गरिएको छैन केवल मेला लाग्ने स्थानको महत्व र मेला हराउँदै गएको प्रसंगलाई मात्र यहाँ जोडदिन खोजिएको हो । यो मेला लाग्ने प्रसिद्ध स्थलको नाम निरहे हो । तथाकथित विद्वानहरुलाई ‘निरहे’ शब्द नराम्रो लागेकाले ‘निर्णय’ शब्दलाई अघि सारिएको भनाई बाहिर आएको छ । निर्णय शब्दलाई राम्रो मान्ने उनीहरुले परापुर्वकालमा ऋषिमुनिहरुले धर्मसंग संबन्धित विवादास्पद विषयलाई निर्णय गर्नुपर्दा यहि निरहे घाटमा आएर निर्णय गर्ने गरेकाले यसलाई निर्णय घाट भन्नुपर्छ भन्ने तर्क राख्छन् ।

अझ अचेलका कतिपय लोकल तर्कशास्त्रीहरु आँफै शुरअशुर बन्दै मनपरि ढंगले गण्डकी मन्थन गरेर निकालिएको अमृत नाम हो भन्दै ‘निर्णय घाट’ राख्नुपर्नेमा चर्को वकालत गर्छन् । उनीहरुले निरहेलाई निर्णय बनाए पनि जनबोलिमा निरहेनै रहेको छ । निरहे परिसरमा टुक्रे साईनबोर्डमा निर्णय लेखिएको देखिएता पनि लेख्नेले नै उल्टै ‘निरहे’ भनेर उच्चारण गर्दछ । अर्थात सबैको मुखबाट निस्कने सरल शब्दचाहिं निरहे नै हो ! यो पंङ्तिकारलाई पनि बालापनदेखि नै सुनेको निरहे शब्द अत्यन्त प्रिय लाग्छ । लोकले पनि त्यहि शब्द प्रिय मान्छ । खैर, यो तीर्थस्थलको नाम जसले जे जसरी थरिथरिका तर्कले नाम जुराउन खोजेपनि श्रद्धालु भक्तजनहरु एकादशी मेला भर्न पुग्ने पवित्र तीर्थस्थल भनेको कालिगण्डकी नदी किनारको बागलुङ तर्फको समतल भाग नै समग्रमा ‘निरहे घाट’ नै हो ! यहि निरहे घाटमा लाग्ने एकादशी मेलाको विशेषता नै रातीको मेला हो ।

समयले पल्टा खाएपछि अचेल रातीमा मेला लाग्दैन । तर ऊ बेला त कालिगण्डकीमा माला लगाउने तोरणलाई डोलामा बोकेर आउने हजारौं श्रद्धालु भक्तजनहरु साँझ परेपछि नै बागलुङ बजार भएर मेलामा सहभागी हुन मरेपिपल हुँदै लाम्पाटाबाट ओह्रालो झर्थे । बाटोभरि मैण्टोल, टर्चलाटको उज्यालोले झिलमिलि हुन्थ्यो । झिलिमिलि बाटोमा पञ्चेबाजा, डम्फु-मादल, खैजडी मुजुरा बजाउँदै आ-आफ्नै तालमा तन्नेरी तरुनीहरु नाच्दै गाउँदै रमाउँदै आउँथे । निरहे पुगेपछि पनि रातभरी नाच्ने गाउने रमाईलो गर्ने र भोलिपल्ट बिहान उज्यालो भएपछि ल्याउनेले तोरण तार्ने, नल्याउनेले मद्दत गर्ने र अन्तिममा पवित्र कालिगण्डकी नदीमा स्नान गरेर घर फर्किने गर्दथे ।

त्यसरी एकादशीको अघिल्लो दिनदेखि तीनचार दिनसम्म मेलाले निरन्तरता पाउँथ्यो । आजभोलि त जहाबाट आएपनि बिहानै कालिगण्डकी निरहे घाट आउने र बिहानै तोरण तार्ने अनि घर फर्कने गरिन्छ । उहिले-उहिलेको एकादशी मेलाको रातमा हुने रामरमिताको तामझाम त इतिहासको पानामा सिमित भयो । धूमधामको परम्परागत साँस्कृतिक मेला समयको भेलले कता बगायो कता ! त्यस्तो भव्य मेला शनैशनै लोप हुँदै गएपछि स्थानीयहरु निराश बन्न थालेको दशकौं भयो । रातीमा लाग्ने भव्य मेला हराउनुमा कसैलाई दोष थुपर्नु भन्दा समयको बेग र बललाई जिम्मा लगाउँदा सन्तोष लाग्छ ।

०३६ सालमा दाम्लो चुँडालेको र ०४६ सालको राजनैतिक परिवर्तनपछि समाज उन्मत्त बन्दै गयो । अर्धचेतनाको अभिबृद्धि संगसंगै सामाजिक प्रकृतिमा फेरबदल आई रिस, ईर्ष्या, डाह र अपराधिक मनोवृत्ति ह्वात्तै बढ्न पुग्यो । चाडबाड मेलापर्वहरु पनि राजनैतिक रंगले रंगिन थाले । सगोत्री दाजुभाइ ईष्टमित्रहरु पनि राजनीतिक विचारमा विभाजित हुनपुगे । ज्यूँदाको जन्ती र मर्दाको मलामी भन्ने पुरानो मान्यतामा कुठाराघात हुन पुग्यो ।

समाजमा फटाहा नेताहरुको भ्रमजालमा परेको पत्तै नपाउनेहरु आपसमा भिड्न पुग्थे । यसले गर्दा आपसि सद्भाव र मेलमिलापमा रमाएको समाज माथि उल्लेख गरिएजस्तै टुटफुट र ईर्ष्यायुक्त बन्दै आपसी झैझगडाले प्रश्रययुक्त बन्यो ।फलत: भाइफुटे गँवार लुटेकोको अवस्थामा गाउँका गाउँले दाजुभाइहरु फँसे ! अनि आपराधिक मनोवृत्ति ह्वात्तै बढ्यो ।

त्यतिबेला देशैभरिमा एउटा मात्र मान्छे मारिंदा पुरै देश आतंकित हुने हाम्रो देशमा हज्जारौं मान्छे मारिंदा पनि राज्य निरिह बन्नुको कारण पनि त्यहि थियो । फटाहाले फालेका भ्रमका पोकाले पेटभर्नेहरुले म को हुँ भन्ने प्रश्न आँफुलाई राखेनन् । अरुको लहै लहैमा लाग्दाको परिणाम सोझा गाउँलेहरु अझै फस्दैन । जेहोस, स्वस्थ्य समाजमा बिष घोलेर बिषालु समाजका हामीहरु अरुले उचालेर उचालिई रहयौं र आपसमा द्वेष राख्दै गयौं ।

त्यसपछि एकापसमा गुम्सिएर बसेको तुष ठाउँठाउँमा लाग्ने मेलापर्व तथा जमघटहरुमा प्रकट हुनथाले । फलत: रातमा लाग्ने बागलुङ निरहेको एकादशी मेला पनि अछुतो रहन सकेन ।मेलामा सहभागि मध्येबाटै मेलाकै राती छुरी प्रहार हुँदा दुईजनाको घटनास्थलमै ज्यान गयो । यहि हत्या पश्चात मेला भर्न आउनेहरु भयभित र आतंकित बन्दै गए । मेलामा मान्छे मारिएको समाचार यति चाँडै फैलियो कि तीन दशक पहिल्यै पनि अहिलेको सामाजिक सञ्जाल थियो जस्तो गरि अपराध समाचार भाईरल बनेर गाउँगाउँमा फैलियो । यो दर्दनाक हत्यापछि एकादशी मेलाको रातमा मान्छेहरु मेलाभ र्न जान छाडे । अन्तत: असुरक्षाकै कारण रातीको एकादशी मेला गायब हुन पुग्यो ।

मायाँ प्रिति पनि मेलालाई साँचेर राख्नेदेखि गाउँमा उत्पन्न समान्य झगडाको रिस फेर्ने थलो पनि यिनै मेला पर्व हुन थाले । एकादशी मेलाको रोमाँस र रसरंगको पाटो सबैभन्दा आकर्षक पक्ष थिए । शिक्षाको कमिले गर्दा समाज भित्र पन्पंदै जाने यौनकुण्ठालाई शान्त पार्ने थलो पनि मेलापर्व नै थिए ।  भलै, सुरक्षित उपाए अपनाउन नपाउँदा त्यतिबेलाका यौवनाहरु नचाहँदा नचाहँदै बरबादी जीवन जिउन विवश हुन्थे । त्यसो हुनुमा मेलाहरुमा केटाकेटीहरु एकापसमा भेटिएर दोहोरीगीत गाउने र गीतमा पराजित हुनेले शर्त अनुसार मान्नुपर्ने मान्यता बलियो थियो । केटीपक्ष पराजित भए केटाले विवाह गरेर लैजान्थ्यो । केटा अविवाहित हो वा उसका कतिवटी श्रीमती छन भन्ने कुरा पनि पराजित गायिकाले विजेता केटासंग विवाह गरेपछि मात्र थाहा पाउँथिन् ।

यो मेलाको महत्व रातमा भएकाले विशेष हुन्थ्यो । जिल्ला स्थित प्रशासनिक कार्यालयका कर्मचारीहरु भेष बदलेर मेलामा झुल्किन्थे । कर्मचारी पनि अर्कै ग्रहबाट आएको प्राणी थिएनन् । उनको पनि अरुको जस्तै रमाउने मन हुन्छ । तर उनीहरु नैतिक बन्धनको ख्याल राखेर अरुले जस्तै मन बुझाउने गर्थे । मध्येरातको अँध्यारोमा निरहे पुगेर कसैले पत्तो नपाउनेगरि भोलिपल्ट कार्यालयमा देखापर्थे । जेहोस एकादशी मेलामा स्वर्ग नर्क दुवैको सम्मिश्रण थियो । कसले स्वर्ग समात्ने कसले नर्क भन्नेकुरा संबन्धित व्यक्तिमा निर्भर हुन्थ्यो ।

नर्क समात्ने धेरैजसो स्थानीय युवाहरु नै ज्यादा हुन्थे भने बाहिरबाट आएका कर्मचारी र सुरक्षाअंगका तल्लो तहका कर्मचारी बढी हुन्थे । जाडोको समयमा खास्टो ओढेर मुख छोप्दै लाज मान्दै संगीहरुसंग रातीको मेलामा हिंडेका युवतीहरुलाई यिनै युवा र कर्मचारीले बलात केटीहरुको खास्टो खोसेर भाग्थे । त्यहि खास्टो माग्नजाँदा पापीहरुले केटीहरुको कुमारित्व लुटेर पठाउँथे । यस्तो नरकमार्गको यात्रा तय गर्ने भनेका स्थानीय ठालु आमाबुबाका पुलपुलिएका सन्तान र हाकिमको कमजोरी थाहा पाएका निम्नस्तरका कर्मचारी नै हुन्थे । अहिले जस्तो आशयदृष्टमा पनि उजुर गरेर पुरुषले दु:ख पाएजस्तो कुनै प्रकारको उजुर-बाजुर केटीहरुले गर्दैनथे ।

यौटा निश्चित समुदायका केटीहरु माथि त्यो अन्याय भएपनि आमाबाबुले छुट दिने चलन रहेछ । अनि मेरो छोरीको भाग्यनै यस्तै रहेछ के गर्ने भन्दै सबथोक बिर्सेर चेलिहरुले आफ्नो दिनचर्यालाई अगाडि बढाउँथे । तर आँफु माथि त्यस्तो व्यहोर्दा व्यहोर्दै पनि बर्षदिन पछि सबैकुरा भुलेर फेरी मेलामा रमाउन आउन छोड्दैनथे ।

एकादशीमा अर्को पाटो पनि छ त्यो हो ब्यापार ! बजारमा ब्यापरीहरुले आफ्नै पसल भित्र राखेका सामानहरु बाहिर घरको पटाहामा देखाएर ब्यापार गर्थे । अघिपछि यस्तो देखिंदैनथ्यो । सुका मोहरको ब्यापारमा दिनभरिमा चार पाँसशय रुपैयाँको ब्यापार हुँदा त ब्यापारीको खुट्टा भुँईमा हुन्नथ्यो । मेलास्थलमा दोकान थाप्नेहरु पनि मालामाल हुन्थे । मेलास्थलमा पसल राख्दा अहिले जस्तो भाडा तिर्नु पर्दैन्थ्यो नि:शुल्क हुन्थ्यो ।

मनोरञ्जनलाई खर्च गर्न साँचेका गाउँलेका पैसा बागलुङ बजार र मेलामा सकेर जान्थे । मेलामा हुने आर्थिक चलायमानले मान्छेका जीवनका आशाहरु परिपुर्ति गर्न भरपुर मद्दत गर्थे । यस्ता अनगिन्ति कथाहरू छन ठुलि एकादशी मेलाका जुन यो सानो आलेखमा समेट्न असंभव हुन्छ । तैपनि उपरोक्त प्रसंगहरुले थोरै भएपनि इतिहासमा रुचि राख्नेहरुलाई सहयोग पुगेमा जाति हुन्थ्यो !

अन्तमा, अहिले पुरानै मेला लाग्ने ठाउँमा प्रायोजित रुपमा मेलाको आयोजना गरिएकोमा खुशि लागेको छ । निकै समयको अन्तरालमा त्यो पुरानो रातीको एकादशी मेलालाई उस्तै रुपमा फर्काउन नसकिए पनि संगठित भएर पुन: जागृत गराउन थालिएको प्रयासलाई सह्राहना गर्नै पर्दछ ।

अब रातमा मेला हुन संभव पनि छैन । जेहोस दिउँसै रात पारेर भएपनि एकादशी मेला भरिभराऊ, भव्य र सभ्य बनोस् । बरु, यो एकादशी मेलाको अन्तर्यमा कसैको राजनीतिक अभिष्ट नलुकेको भए पक्कै पनि यो पुण्यकार्य लाई अझ सफलता मिल्ने पक्का छ । अहिलेलाई भने दिउसै रात पारेर भएपनि रातीको एकादशी मेलालाई पुरानै अवस्थामा फर्काउने प्रयासलाई सबैको सहयोग रहनु पर्दछ । यो पंङ्तिकारको पनि आग्रह छ आउनुस, तपाईं हामी सबै निरहे पुगेर दिउँसै रात पारेर भएपनि ठुलि एकादशी मनाउने शुभकार्यको नयाँ थालनिमा सहभागी बनौं ! मेला पुर्ण सफलताको हार्दिक शुभकामना !! धन्यवाद !!!

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->