पोखरा /पोखरा महानगरपालिका–१६ घार्मीखोलास्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आगलागी हुँदा दुईवटा भवनको माथिल्लो तला जलेर नष्ट भएको छ। आगलागीबाट आश्रममा रहेका अन्नपात तथा फर्निचरका सामानसमेत पूर्ण रूपमा क्षति भएका छन्।
मंगलबार दिउँसो करिब साढे ४ बजे अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ।
आगलागीको खबर पाएपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। दमकल र स्थानीयवासीको सहयोगमा साँझ साढे ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आश्रमका इँटा र बाँसले बनेका, टिन र मार्बलको छाना भएका दुईतले भवनका माथिल्ला तला आगलागीबाट पूर्ण रूपमा जलेका छन्। भवनमा रहेका अन्नपात र फर्निचरका सामानसमेत नष्ट भएका छन्।
आगलागीबाट मानवीय तथा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ। क्षतिको आधिकारिक विवरण आउन बाँकी रहे पनि स्थानीयवासी र जनप्रतिनिधिको भनाइ उद्धृत गर्दै प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





