आइतबार, मंसिर ६ २०८३

आइतबार, मंसिर ६ २०८३
  • ६ मंसिर २०८३ , आइतबार
  • November 22 2026

कृषिमा बढ्दो लागत र किसानका पीडा

कृषिमा बढ्दो लागत र किसानका पीडा

राज्यले किसानलाई कि अनुदान दिनुप¥यो हैन भने मूल्य बढाउनुको विकल्प छैन । ठूलो घाटा ब्यहोरेका किसानहरुको यो समस्याप्रति राज्य संवेदनशील बनोस्,कम्तिमा किसान पलायन रोक्नको लागि पनि तत्काल उचित कदम चालियोस् ।


  • Dhorpatan News
  • मंसिर ६ २०८३, आइतबार

नेपालमा कृषि पेशालाई हेयले हेरिन्छ । वैदेशिक रोजगारीले गाउँहरु रित्तो हुँदा एकाधबाहेक अन्यले खेतबारी बाँझो राखेका छन् । एकातिर बाँदर आतंक अर्कोतिर जनशक्तिको अभावका कारण कृषि पेशा अज्माउनेहरु पलायन हुँदैछन् । तर, कालो बादलमा चाँदीको घेरा भनेजस्तै दुग्ध उत्पादन, तरकारी खेती,कुखुरापालन,कफी,अम्रिसो,अलैँची खेतीबाट केही किसानहरुले राम्रै नाफा लिएका छन् । पशुपालन र कृषि कर्ममा फुर्सद र बिदा भन्ने हुँदैन । उनीहरुले दिनरात गरेको कर्मबाट देशले कम्तिमा थोरै भए पनि आयात प्रतिस्थापन गरेको छ । कुखुराको मासु,अण्डालगायतका केही उत्पादनमा आत्मनिर्भरताको बाटो तय भएको छ । राज्यले कुखुरा र माछा र पशुपालनमा केही अनुदान अनि प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको छ । जसका कारण किसानहरुले केही राहत पाएका छन् भने कृषिमै जोडिने उत्साह पनि थपिएको छ । दुर्भाग्य, यो उत्साहमा बेलाबेला चिसोपानी खन्याइन्छ । प्राकृतिक प्रकोपले पनि किसानलाई नै हान्छ, बर्डफ्लू र स्वाइनफ्लू पनि उनीहरुलाई सताउँछ । कहिले मल पाइँदैन,कहिले एकाएक दानाको मूल्य बढ्छ । लागत बढ्दा किसानले प्रतिस्पर्धी क्षमता गुमाउँछन् र घाटामा पर्छन् ।

अहिले गाईभैंसीको चोकर र कुखुराको दानाको भाउ आकासिएको छ । ३६ रुपैयाँ पर्ने मकै अहिले ५० रुपैयाँ पुगेको छ भने भटमासको पिना ८५ बाट १ सय २० रुपैयाँभन्दा माथि पुगिसकेको छ ।अन्डा, मासु र चल्ला उत्पादन गर्ने किसान तथा उद्योगीहरू यतिबेला दानाको भाउ बढेकै कारण उत्पादन लागत धानिनसक्नु भएको गुनासो गरिरहेका छन् ।प्रतिगोटा १ सय २५ रुपैयाँ लागत पर्ने लेयर्स चल्ला उत्पादन खर्च २०–२५ रुपैयाँ बढेर अहिले १ सय ५० पुगेको छ ।मकै प्रतिटन न्यूनतम समर्थन मूल्य (भारु २४.१०) भन्दा धेरै माथि भारु २७ देखि ३० प्रतिकिलोमा कारोबार भइरहेको छ । नेपाल पिनादेखि मकै र भटमासको पिना आयातका निम्ति भारतमा निर्भर छ । भारतमै भाउ बढ्दा त्यसको असर नेपालको ह्याचरी उद्योग र दुग्ध उत्पादक किसानलाई परेको छ । दानाको मूल्यवृद्धि नेपालको मात्र समस्या चाहीँ हैन । रुस–युक्रेन युद्धका कारण मकै र भटमासको आपूर्ति श्रृंखलामा अवरोध आउँदा त्यसको मारमा भारतीय किसान पनि परेकै छन् । किसानहरुको लागत बढेसँगै भारतमा दूध र अण्डाको भाउ बढेको छ । नेपालमा भने दुग्ध उत्पादक किसानहरुले दूधको भाउ बढाउन गरेको माग निश्कर्षमा पुग्न सकेको छैन । लागत बढेपछि मूल्य बढाउनु बाध्यता हो । राज्यले किसानलाई कि अनुदान दिनुप¥यो हैन भने मूल्य बढाउनुको विकल्प छैन । ठूलो घाटा ब्यहोरेका किसानहरुको यो समस्याप्रति राज्य संवेदनशील बनोस्,कम्तिमा किसान पलायन रोक्नको लागि पनि तत्काल उचित कदम चालियोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->