आइतबार, मंसिर ६ २०८३

आइतबार, मंसिर ६ २०८३
  • ६ मंसिर २०८३ , आइतबार
  • November 22 2026

एनपीएलका तीन संस्करणमा तीन फरक च्याम्पियन

एनपीएलका तीन संस्करणमा तीन फरक च्याम्पियन

विजेता सुदूरपश्चिमले १ करोड ५० लाख, दोस्रो लुम्बिनीले ८० लाख, चितवन राइनोजले ४० लाख र चौथो काठमाडौं गोर्खाजले ३० रुपैयाँ प्राप्त


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८३, आइतबार
‘नेपाल प्रिमियर लिग (एनपिएल)’ को उपाधि जितेपछि खुसी साट्दै सुदूरपश्चिम रोयल्सका खेलाडी । तस्बिर : घनश्याम श्रेष्ठ

पोखरा / नेपाल प्रिमियर लिग (एनपीएल) का तीन संस्करणमा तीन फरक टोली च्याम्पियन बनेका छन्। शनिबार एनपीएल तेस्रो संस्करणको साविक विजेता लुम्बिनी लायन्समाथि १० विकेटको फराकिलो जित निकाल्दै सुदूरपश्चिम रोयल्स पहिलो पटक च्याम्पियन बन्यो।

लगातार तिन संस्करण फाइनल खेल्ने एक्लो टोली सुदूरपश्चिमले पहिलो पटक उपाधि जित्न सफल भयो। एनपीएलको पहिलो र दोस्रो क्वालिफायर खेल्दै फाइनलमा पुगेको सुदूरपश्चिमले यो सिजनमात्र लुम्बिनीसँग लगातार २ हार व्यहोरेको थियो।

एनपीएलका पछिल्ला तीन खेलमा लुम्बिनीसँग नै लगातार पराजित भएको सुदूरपश्चिमले आजको खेलमा त्यो हारको बदला लिदै उपाधि जितेको हो।

दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम लुम्बिनीसँग नै ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो।

यो पटक सुदूरपश्चिमले उपाधि जितेसँगै एनपीएलको तिन फरक संस्करणले नयाँ च्याम्पियन पाएको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनी लायन्सले भने लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास बनाउने मौका गुमायो।

फाइनल खेलमा लुम्बिनीका बलरमाथिका सुदूरपश्चिमका ओपनर जर्ज मुन्से पूर्ण रुपमा हावी भए। लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३।३ ओभरमा बिना विकेटको क्षति भेट्टायो।

जर्ज मुन्सेले १ सय २५ र विनोद भण्डारीले ३० रनको अविजित पारी खेले। लुम्बिनीले सुदूरपश्चिमविरुद्ध ६ बलर प्रयोग गरेपनि आफ्नो रणनितिमा सफल हुन सकेन।

अघिल्ला खेलहरुमा सुदूरपश्चिममाथि लुम्बिनी हावी थियो। लुम्बिनीले सुदूरपश्चिमलाई एनपीएलको उद्घाटनमा ७ विकेट र पहिलो क्वालिफायरमा ६ विकेटले हराएको थियो। यसपटकको फाइनलमा भने सुदूरपश्चिम पूर्णरुपमा हावी रहँदै च्याम्पियन बन्न सफल भयो।

विजेता सुदूरपश्चिमले १ करोड ५० लाख, दोस्रो लुम्बिनीले ८० लाख, चितवन राइनोजले ४० लाख र चौथो काठमाडौं गोर्खाजले ३० रुपैयाँ प्राप्त गर्नेछन्। कात्तिक ९ गतेबाट सुरु भएको एनपिएलमा ८ टोलीको सहभागिता रहेको थियो।

एनपीएलमा लिग चरणका २८ र नकआउट चरणका ४ गरि ३२ खेल भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->