आइतबार, मंसिर ६ २०८३

आइतबार, मंसिर ६ २०८३
  • ६ मंसिर २०८३ , आइतबार
  • November 22 2026

कृषिका लागि कुनपाले करिब डेढ करोड अनुदान दिँदै

कृषिका लागि कुनपाले करिब डेढ करोड अनुदान दिँदै


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८३, आइतबार

पर्वत/पर्वतको कुश्मा नगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने कृषि विकासका विभिन्न कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ ।

नगरपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा सहभागी हुन इच्छुक नगरपालिका क्षेत्रभित्रका कृषक, कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्मलाई आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरिएको हो ।

नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार यस वर्ष तीन वटा कृषि कार्यक्रम सञ्चालन गर्न लागिएको छ । जसअन्तर्गत प्लास्टिक टनेल निर्माण कार्यक्रमका लागि एक करोड पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत स्थायी प्लास्टिक घर निर्माण गरिनेछ । यसका लागि लागत साझेदारीमा २० प्रतिशत कृषकको सहभागिता रहने व्यवस्था गरिएको छ ।

त्यसै गरी खाद्य सुरक्षा तथा कृषि यान्त्रिकीकरण विस्तार कार्यक्रमअन्तर्गत ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस कार्यक्रममार्फत कृषकलाई मिनी टिलर वितरण गरिनेछ भने लागत साझेदारी ५० प्रतिशत रहनेछ । यस्तै बाँझो जमिन उपयोग कार्यक्रमका लागि एक लाख रुपैयाँ बजेट छुट्टाइएको छ । उक्त कार्यक्रमअन्तर्गत आवश्यक सामग्री तथा पूर्वाधार उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसमा पनि कृषकको ५० प्रतिशत लागत साझेदारी रहने सूचनामा उल्लेख छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक आवेदकले रीतपूर्वकको निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ । कृषक समूह, सहकारी तथा फर्मको हकमा संस्था दर्ता, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा माइन्युट निर्णयसमेत आवश्यक पर्नेछ ।

त्यसै गरी कार्यक्रम सञ्चालन हुने स्थान अर्थात् जग्गाको स्वामित्व खुल्ने कागजातको प्रतिलिपि वा भाडाको जग्गा भए कम्तीमा पाँच वर्षको सम्झौता करार पेस गर्नुपर्नेछ । लागत साझेदारी विधिमा खरिद गर्ने आवेदकले आफ्नो हिस्साको रकम व्यहोर्न सक्ने प्रतिबद्धता पत्रसमेत बुझाउनुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सम्बन्धित वडा कार्यालयले कृषकहरूको निवेदन म्याद सकिएको भोलिपल्ट नगरपालिकाको कृषि विकास शाखामा सिफारिससहित पेस गर्नुपर्नेछ । रीत नपुगेका वा म्याद नाघी प्राप्त भएका प्रस्तावहरू छनोट प्रक्रियामा समावेश नहुने सूचनामा उल्लेख छ ।

नगरपालिकाले कृषि उत्पादन वृद्धि, कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण तथा बाँझो जमिनको उपयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->