आइतबार, मंसिर ६ २०८३

आइतबार, मंसिर ६ २०८३
  • ६ मंसिर २०८३ , आइतबार
  • November 22 2026

पौदेलीको न्वागी : सांस्कृतिक महिमा र महत्व

पौदेलीको न्वागी : सांस्कृतिक महिमा र महत्व

न्वागी खाएको दिन साँझपख ग्वालीचौरको खार बजारमा गाउँभरिका मानिसहरू जम्मा हुन्थे।


  • दुर्गालाल तिवारी
  • मंसिर ६ २०८३, आइतबार

नेपालको एकीकरण हुनुअघि नेपालका विभिन्न भूभाग बाइसे तथा चौबिसे राज्यमा विभाजित थिए। त्यही ऐतिहासिक कालखण्डमा हालको पश्चिम बागलुङ र उत्तर–पश्चिम गुल्मीका केही भूभाग ईश्मा राज्यअन्तर्गत ‘असी कुर्य पौदी’ नामले परिचित थिए। यस क्षेत्रअन्तर्गत हाल बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं ५ ग्वालीचौर तथा गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका अमराई, अरेवा, थाम र भर्मचौर क्षेत्र पर्दछन्।

यिनै भूभागमा शताब्दीयौँदेखि एउटा विशिष्ट कृषि तथा सांस्कृतिक परम्पराका रूपमा न्वागी पर्व मनाइँदै आएको छ। न्वागी केवल नयाँ अन्न खाने पर्व मात्र होइन, यो प्रकृति, माटो, किसानको पसिना, धार्मिक आस्था, सामाजिक एकता र पुर्खाहरूले हस्तान्तरण गर्दै आएको सांस्कृतिक सम्पदाको जीवन्त प्रतीक हो।

जब खेतबारीमा धान पाकेर पहेँलपुर हुन्छ, किसानको मनमा वर्षभरिको मेहनत सफल भएकोमा खुसी छाउँछ। नयाँ अन्न घरमा भित्र्याउनुअघि त्यसको पूजा गर्ने, उचित साइत तथा लग्न हेर्ने र शुभ समयमा नयाँ अन्न ग्रहण गर्ने परम्परालाई नै यहाँ न्वागी भनिन्छ। विशेषगरी दहीमा नयाँ चामल भिजाएर त्यसमा केरा, सिलाम, चिनी र मह मिसाई प्रसादका रूपमा खाने चलन छ।

यसरी नयाँ अन्नलाई सर्वप्रथम ईश्वर तथा प्रकृतिप्रति समर्पण गरी देवी देवता कुलपितृ लाई चढाउने र होम गर्ने त्यसपछि मात्र ग्रहण गर्ने परम्पराले यस पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई अझ विशेष बनाएको छ।

न्वागीको उत्पत्तिसम्बन्धी जनश्रुति

स्थानीय जनश्रुतिअनुसार न्वागी मनाउने परम्परा सत्रौँ शताब्दीदेखि नै प्रचलनमा रहेको विश्वास गरिन्छ। यसको उत्पत्तिसँग जोडिएको एउटा रोचक किंवदन्ती आज पनि यस क्षेत्रका अग्रजहरूको स्मृतिमा जीवित छ। किंवदन्तीअनुसार सत्रौँ शताब्दीतिर एकजना महात्मा ग्वालीचौर हुँदै पश्चिमी ढोरपाटनको यात्रामा जाँदै थिए। असार महिनाको समय थियो।

त्यतिबेला ग्वालीचौर क्षेत्रमा पानी जमेर बनेको एउटा झिल (दलदल) थियो। महात्माले आफ्नो साथमा बोकेर ल्याएको ‘जडन’ नामको धानका केही दाना त्यही झिलमा छरेर आफ्नो यात्रा अगाडि बढाएछन्। त्यसपछि उनी ढोरपाटन पुगेर उत्तरगंगा र रुद्रतालको दर्शन गरी फर्किँदा मंसिर महिना भइसकेको थियो। फर्केर हेर्दा आफूले छरेका धानका दाना उम्रिएर पाकिसकेको रहेछ। यसरी महात्माले असार महिनामा छरेको धान मंसिर महिनामा पाकेको उक्त धानलाई सामान्य अन्नका रूपमा मात्र नलिई शुभ साइत र लग्न हेरेर पूजा गरी ग्रहण गरिएको भन्ने जनश्रुति छ।

यसरी नयाँ अन्नको पूजा गरेर शुभ समयमा ग्रहण गर्ने परम्परा सुरु भएको र क्रमशः ग्वालीचौर, अरेवा तथा अमराई क्षेत्रमा बस्ती विस्तार हुँदै गएको भन्ने स्थानीय विश्वास पाइन्छ। यही परम्परा कालान्तरमा धान काट्ने शुभ मुहूर्त अर्थात् ‘मुठी काट्ने’ र नयाँ चामल खाने शुभ मुहूर्त ‘न्वागी’ का रूपमा स्थापित भएको मानिन्छ। यद्यपि यो उत्पत्तिसम्बन्धी जनश्रुति हो, यसको स्वतन्त्र ऐतिहासिक अभिलेखीय पुष्टि हुन बाँकी छ। तर पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस कथाले न्वागी पर्वको मौलिकता र स्थानीय पहिचानलाई जीवन्त बनाएको छ।

न्वागी : आस्था र उत्सवको संगम

न्वागीको शुभ दिन गाउँघरमा छुट्टै रौनक हुन्थ्यो। नयाँ अन्नको पूजा गरी शुभ साइतमा न्वागी खाने समयमा बाजागाजा बजाउने, बडाइँ गर्ने र बन्दुक पड्काएर हर्षोल्लास प्रकट गर्ने चलन थियो। गाउँभरि उत्साह र उमङ्ग छाउँथ्यो।साथै त्यो समय लुगा सिलाउन वालीघरे प्रथा थियो यसरी कपडा सिलाउने चलन अनुसार सुचिकारले दमहा लिएर आफुले कपडा सिलाउने (विष्ट भन्ने चलन थियो)को घरमा गएर बडाई गर्थे भने घरधनीले चामल घ्यु तरकारी आदि दिने चलन थियो।साथै यस पर्वको सबैभन्दा सुन्दर पक्ष सामाजिक सद्भाव र आपसी आत्मीयता हो।

खेतबारी नहुने वा आफ्नो उत्पादन नभएका छिमेकीलाई खेत हुने परिवारले निम्ता गरेर नयाँ चामलको भात खुवाउने परम्परा अझै पनि कायम छ। यसले न्वागी धनी र गरिब, हुनेखाने र हुँदा खानेबीचको भेदभाव मेटाउँदै सबैलाई एउटै खुसीमा जोड्ने पर्व हो भन्ने सन्देश दिन्छ। एउटा घरको नयाँ अन्न अर्को घरको खुसी बन्नु नै हाम्रो मौलिक ग्रामीण संस्कृतिको सुन्दर पक्ष हो।

पुरानो न्वागी : खार बजारदेखि दागाचौरसम्म

पहिलेको न्वागी पर्व सम्झिँदा ग्वालीचौरको खार बजार र दागाचौरको सम्झना नगर्ने सायदै कोही होला। न्वागी खाएको दिन साँझपख ग्वालीचौरको खार बजारमा गाउँभरिका मानिसहरू जम्मा हुन्थे। रातभर रोदी बस्ने, मादल र डम्फुको तालमा गीत गाउने, नाच्ने र रमाइलो गर्ने चलन थियो। जलजला,भिमगिठे,घ्वाङ् ,चित्राम ,दिपार ,अदम र तालकोट क्षेत्रबाट आउनुहुने मगर दाजुभाइहरूले मादल, डम्फु लिएर आउनुहुन्थ्यो। उहाँहरूको आगमनले रोदीघरको रौनक अझ बढाउँथ्यो। गेडागुडी उसिनेर बनाइने ‘बिरमला’ जस्ता स्थानीय परिकारको स्वाद लिँदै भैली नाच्ने र रात बिताउने गरिन्थ्यो।

भोलिपल्ट बिहान खार बजारमाथि रहेको फराकिलो दागाचौरमा दिनभरि मेला लाग्थ्यो। टाढाटाढाबाट मानिसहरू आउँथे। नाचगान हुन्थ्यो, सामानको किनबेच हुन्थ्यो, पिङ खेलिन्थ्यो र साथीभाइ तथा आफन्तसँग भेटघाट हुन्थ्यो। साँझ परेपछि सबै आआफ्ना घर फर्किन्थे।यश समयमा जुवातास खोरखोरे पनि खेल्ने चलन थियो।यहाँ जुवा खेल्न बुटवल देखि समेत नामुद जुवाडे आउने गर्दथे यो खेल कसैको घरमा खेलिन्थ्यो भने खोरखोरे खुल्लाठाउमा मेलाको बिचमै खेलाईथ्यो। त्यतिबेलाको मेलाको मुख्य आकर्षणमध्ये एउटा सुन्तला पनि थियो।

गुल्मी सदरमुकाम नजिकैको भाडागाउँबाट व्यापारीहरूले डोकोमा बोकेर सुन्तला ल्याउँथे। आजजस्तो यातायात र बजारको सहजता थिएन, तर मानिसहरूको उत्साह र मेलाप्रतिको आकर्षणमा कुनै कमी थिएन। ती डोकोभरि आएका सुन्तलाको स्वाद, मादलको ताल, रोदीको गीत र दागाचौरको पिङ आज पनि पुरानो पुस्ताका स्मृतिमा ताजै होलान्। त्यो समयको न्वागी केवल एउटा मेला थिएन, त्यो त गाउँको भेटघाट, आफन्तसँगको आत्मीयता, लोकसंस्कृतिको आदानप्रदान र सामूहिक खुसीको उत्सव थियो।

समयसँगै बदलिँदो न्वागीको स्वरूप

समय परिवर्तनशील छ। समयसँगै समाजका रहनसहन, आवश्यकता र उत्सव मनाउने शैली पनि परिवर्तन हुँदै जान्छन्। न्वागी पर्व पनि यसबाट अछुतो रहन सकेन। बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि न्वागीका कार्यक्रमहरू क्रमशः खार बजारमै केन्द्रित हुन थाले। विस्तारै यस पर्वले थप औपचारिक र व्यवस्थित स्वरूप ग्रहण गर्दै गयो। केही समय राजनीतिक दलहरूबीच आआफ्ना मञ्च निर्माण गर्ने रातभर पार्टीका कलाकारहरुले सास्कृतिक कार्यक्रम (नाचगान कमेडी) देखाउने र अर्को दिन केन्द्रिय स्तरका नेताहरूलाई निमन्त्रणा गरेर ल्याउने भाषण सुनाउने होडबाजीसमेत चल्यो।

न्वागीलाई व्यवस्थापन गर्न एउटा न्वागी सञ्चालक समिति गठन भए पछि न्वागी पर्वलाई व्यवस्थित बनाउदै अगाडि बढ्ने क्रममा न्वागी महोत्सवमा दोहोरी गीत, नृत्य, भलिबल प्रतियोगिता, लुठो तान्ने, घैँटो फुटाउनेजस्ता विविध मनोरञ्जनात्मक तथा खेलकुद कार्यक्रमहरू समावेश हुन थाले। साथै कृषकहरूले उत्पादन गरेका कृषि उपजको प्रतिस्पर्धा गराउने र विभिन्न विधाका विजेतालाई पुरस्कार प्रदान गर्ने चलन पनि सुरु भयो। यसले न्वागीलाई धार्मिक तथा सांस्कृतिक पर्वका साथै मनोरञ्जन र प्रतिभा प्रदर्शनको साझा मञ्चका रूपमा विकास गर्न मद्दत गर्‍यो।

सशस्त्र द्वन्द्व अर्थात् जनयुद्धको समयमा भने न्वागीको उल्लास र गतिविधिमा केही कमी आयो। तर समयक्रमसँगै शान्ति स्थापना र गणतन्त्र प्राप्तिपछि यस पर्वले पुनः गति लियो। पछिल्ला वर्षहरूमा न्वागी महोत्सव अझ व्यवस्थित, भव्य र परिस्कृत बन्दै गएको छ। अहिले न्वागीको अवसरमा आधुनिक पिङहरू सञ्चालन गरिन्छन्। राष्ट्रियस्तरका कलाकारहरूलाई निमन्त्रणा गरिन्छ। विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक, खेलकुद तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिन्छन्। यसरी पाँचदेखि सात दिनसम्म विविध कार्यक्रम सञ्चालन गरेर न्वागी महोत्सव मनाउने प्रचलन विकसित भएको छ।

न्वागी : हाम्रो पहिचान, हाम्रो गौरव

आज न्वागी पर्वले आफ्नो परम्परागत धार्मिक तथा कृषि महत्त्वलाई कायम राख्दै आधुनिक उत्सवको स्वरूप पनि ग्रहण गरेको छ। तर यसको वास्तविक आत्मा भनेको नयाँ अन्नप्रतिको सम्मान, प्रकृतिप्रतिको कृतज्ञता, किसानको श्रमको सम्मान र समुदायबीचको आत्मीयता नै हो। हिजो झिलमा छरिएका केही धानका दानासँग जोडिएको जनश्रुतिबाट सुरु भएको मानिने यो परम्परा आज हजारौँ मानिसलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने पर्वका रूपमा विकसित भएको छ।

पुर्खाहरूले रोपेको संस्कृतिको बीउ आज नयाँ पुस्ताले महोत्सवका रूपमा हुर्काइरहेको छ। हामीले आधुनिकता र विकासलाई आत्मसात् गर्दै जाँदा आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई बिर्सनु हुँदैन। न्वागीलाई केवल मनोरञ्जन र महोत्सवमा सीमित नराखी यसको ऐतिहासिक पृष्ठभूमि, धार्मिक आस्था, कृषि सभ्यता, लोकगीत, लोकनृत्य, मगर संस्कृति तथा सामाजिक सद्भावको महत्त्वलाई भावी पुस्तासम्म पुर्‍याउनु आजको आवश्यकता हो। किनकि न्वागी केवल नयाँ चामलको स्वाद होइन, यो त पुर्खाको सम्झना हो, माटोको सुगन्ध हो, किसानको पसिनाको सम्मान हो, गाउँघरको आत्मीयता हो र हाम्रो मौलिक पहिचानको गौरव हो। न्वागी हाम्रो परम्परा हो, हाम्रो संस्कृति हो र हाम्रो पुस्तौँदेखिको साँझा सम्पत्ति हो। यसलाई जोगाउनु, संरक्षण गर्नु र भावी पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो। २०८३ सालको न्वागी मंसिर ६ गते देखि १२ गतेसम्म सञ्चाल हुदैछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->