काठमाडौं/प्रधानमन्त्री बालेन्द्र शाहको २ दिने भारत भ्रमणले दुई देशबीच सहकार्यको नयाँ मार्गचित्रको खोजी गरेको छ । आइतबार नयाँदिल्ली गएका प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किइसकेका छन् ।
दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि साझेदारीका लागि १० मुख्य स्तम्भसहितको संयुक्त दृष्टिकोणपत्र सार्वजनिक भएको छ । सोमबार जारी ‘विकसित भारत र समुन्नत नेपाल ः साझेदारीको पुनर्कल्पना’ विषयक दस्तावेजले दुई देशको सम्बन्धलाई आधुनिक, नतिजामुखी र युवाको आकांक्षामा केन्द्रित बनाउने लक्ष्य राखेको छ ।
दुवै देशका प्रधानमन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई समसामयिक राजनीतिक, आर्थिक र प्राविधिक यथार्थअनुकूल अद्यावधिक कानुनी संरचनामा आधारित बनाउन सहमति जनाएका छन् । यसअन्तर्गत सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहितका विद्यमान द्विपक्षीय सम्झौताहरू आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने उल्लेख छ । जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासम्बन्धी बाँकी रहेका सबै विषय आपसी छलफल र संवादमार्फत समाधान गरिने संयुक्त दस्तावेजमा जनाइएको छ ।
प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डानिश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला लगायतले बिदाइ गरेका थिए ।
प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा नेपाल र भारतबीच आर्थिक सहायता, हवाई तथा रेल सम्पर्क, ऊर्जा, व्यापार र पूर्वाधार विकास क्षेत्रमा सहमति भएका छन् । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको अनुदान तथा ऋण सहायता उपलब्ध गराउने भएको छ।लामो समयदेखि छलफलमा रहेका हवाई प्रवेशमार्ग, सीमापार रेलमार्ग र जलविद्युत आयोजनाका विषयमा पनि केही नयाँ सहमति भएका छन् ।
काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने, रक्सौल–काठमाडौं रेलमार्ग अघि बढाउने र नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को क्याम्पस स्थापना गर्ने सहमति जुटेको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन टुंग्याउने तथा बाँकी सीमा विवाद समाधान गर्ने विषयमा भने दुवै नयाँ प्रगति भएन ।
यसअघि काठमाडौंबाट उडेका अन्तर्राष्ट्रिय विमानहरू भैरहवाबाट बाहिरिन पाउँथे भने भारतीय आकाश हुँदै काठमाडौं भित्रिने जहाज भने सिमराबाट मात्र आउने पाउँथे । भैरहवाको एयररूट पाएसँगै अब नेपाललाई भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजता हुनेछ। महेन्द्रनगर र जनकपुरको एयर रुटका विषयमा भनेसहमति जुटेन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री शाहको प्रशंसा गरे । उनले प्रधानमन्त्री बालेनमा दूरदर्शिता देखिएको सुनाए ।उनले भने, ‘आज केही घन्टाको कुराकानीमै मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका उनको क्लिअर भिजन र कमिटमेन्टको महसुस गरेँ ।’
नेपालका जनताले उनलाई दिएको ऐतिहासिक जनादेशले पनि नेपालका नयाँ पीडिका आशा र भरोसालाई दर्साउने मोदीले जनाए । नेपालले भारतका थप दुई बन्दरगाह प्रयोग गर्ने सुविधा पनि पाउने भएको छ ।
मोदीले गुजरातको कान्डला र उडिसाको पारादीप बन्दरगाह नेपाललाई पारवहन व्यापारका लागि उपलब्ध गराउने घोषणा गरेका छन् । भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाएपछि नेपाली व्यवसायीलाई सामान आयात–निर्यातका लागि वैकल्पिक मार्ग उपलब्ध हुनेछ ।
प्रधानमन्त्री मोदीले नेपालमा भारतको प्रतिष्ठित प्राविधिक शिक्षण संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)को क्याम्पस स्थापना गर्ने घोषणा पनि गरेका छन् । नेपालमा स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्न पनि भारतले सहयोग गर्ने भएको छ ।
मोदीले नेपाली क्रिकेटको विकासका लागि पनि भारतले सहयोग बढाउने घोषणा गरेका छन् । नेपालमा क्रिकेट पूर्वाधार निर्माण र खेलाडीहरूको प्रशिक्षणका लागि भारतले सहयोग गर्नेछ ।
दुवै प्रधानमन्त्रीले भारतको अयोध्या र नेपालको जनकपुर जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाशुभारम्भ र भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने महाकाली नदीमाथिको मोटर चल्ने पुल उद्घाटन गरे ।
६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । मोदीले अरूण तेस्रो जलविद्युत आयोजना समयमै सम्पन्न गर्न भारत प्रतिबद्ध रहेको जनाएका छन् ।
प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।प्रतिनिधिमण्डल स्तरीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।
‘यस महत्वपूर्ण अवसरमा महामहिम श्री नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण जनताको तर्फबाट नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिन चाहन्छु,’ उनले भने । उनले भारतीय नागरिकलाई नेपाल भ्रमण गर्न अनुरोधसमेत गरे ।





