काठमाडौं / भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत सोमबार दिउँसो उक्त सहयोगको घोषणा गरेका हुन्।
यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषय:
१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।
३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।
४. आयुर्वेद र परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन्।
५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।
६. सहरी विकास : दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।
७. स्वास्थ्य र चिकित्सा : भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन्।
८. पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।
मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। हैदरावाद हाउसमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणमा आउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले भने, ‘यस महत्त्वपूर्ण अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा गर्दछु।’
राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री मोदीसँग भेट
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री मोदीसँग भेट गरेका छन्। भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मा सहभागी थिए।
भेटमा भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासहित सरकारी अधिकारीको उपस्थिति रहेको थियो। दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह सोमबार बेलुका स्वदेश फर्कँदै छन्।






