
पर्वत/जिल्लाको मोदी गाउँपालिका–५ बाजुङस्थित पोखरेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको छ ।
विद्यालयमा स्मार्ट कक्षाकोठा व्यवस्थापन, आवासीय भवन सहितको छात्रावास, शैक्षिक एवं भौतिक पक्षको स्तारोन्नती, विद्यालयलाई स्तरीय शिक्षालयका रूपमा विकास गर्ने, सक्षम एवं सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेर महायज्ञ सञ्चालन गर्न लागिएको हो । महायज्ञ यही मङ्सिरको १५ गतेदेखि २२ गतेसम्म विद्यालयको प्राङ्गणमा नै आयोजना हुने र भागवत कथा वाचन दीनबन्धु पोख्रेलले गर्ने विद्यालयका प्रधानाध्यापक विमल शर्माले बताए ।
कक्षा सम्म सञ्चालनमा रहेको र हाल एक सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले भौतिक निर्माण सँगसँगै अभिभावक, शिक्षक र विद्यार्थीहरूमा असल संस्कारयुक्त सकारात्मक सोच र भावनाको विकास गर्ने, धर्म, संस्कृति जगेर्ना तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने तथा सबै नागरिकहरूमा आध्यात्मिक चेतनाको विकास गर्नु पनि महायज्ञको लक्ष्य रहेको उनको भनाइ छ । ‘यस विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने हामी सबैको साझा सङ्कल्प हो । यसको भौतिक पक्षलाई प्रविधिमैत्री, सिपमूलक एवं व्यवहारिक रूपमा विकास गर्नका लागि महायज्ञ आयोजना गरिएको हो’, प्रधानाध्यापक शर्माले भने, ‘नेपालभरि नै एक सय एक प्राविधिक विद्यालय स्थापना गर्ने सङ्कल्प बोकेर महान् अभियानमा जुट्नुभएका सङ्कल्पकर्ता चन्द्रप्रसाद बसेल (ध्रुवशरण) जी को सम्पर्कबाट ३४ औँ कार्य योजनाको रूपमा महायज्ञ आयोजना गरिएको हो ।’
दान र सहयोगले नै स्मार्ट, प्रविधिमैत्री, सिपमूलक साथै व्यवहारिक शैक्षिक विकास एवं धार्मिक सामाजिक र पर्यटकीय उन्नयनका लागि सहयोग पुग्ने महायज्ञ मूल समारोह समितिका अध्यक्ष बमबहादुर कुँवरले बताए । बढ्दो शैक्षिक बेरोजगारी युवा एवं सक्रिय जनसङ्ख्या वैदेशिक पलायनको मात्रा घटाउन पनि ठुलो मद्दत पुग्ने उनको भनाइ छ ।
मङ्सिर १५ गते बिहान कलश यात्रासहित सुरु हुने महायज्ञको उद्घाटन सोही दिन दिउसो हुने छ । नियमित रूपमा बिहान सात देखि १० बजेसम्म पूर्वाङ्ग, भागवत पाठ पारायण, मूल पाठ पूजा अर्चना, बिहान साढे १० बजेदेखि साढे चार बजेसम्म प्रवचन, भक्ति सङ्गीत, झाँकी प्रदर्शन र दाता तथा दानवीर सम्मान, साँझ पाँच बजेदेखि साढे पाँच बजेसम्म आरती र फुलप्रसाद वितरण तथा साँझ साढे सात बजेदेखि साढे नौ बजेसम्म भजन कीर्तन र झाँकी प्रदर्शन गरिने छ ।
महायज्ञमा एक देखि चार सय ९९ सम्मको रकम दान पेटिकामा राखिने, पाँच सयदेखि नौ सय ९९ सम्म रसिद काटिने, एक हजारदेखि दुई हजार चार सय ९९ सम्म दातालाई रामनामी र सम्मान पत्रले सम्मान, दुई हजार पाँच सयदेखि १० हजार नौ सय ९९ रामनामी र फ्रेमसहितको सम्मान पत्र सहित मञ्चबाट सम्मान गरिने छ । यस्तै, ११ हजारदेखि २४ हजार नौ सय ९९ सम्म रामनामी, फ्रेमसहित सम्मान पत्रद्वारा सम्मान र दाताको नाम शिलालेखमा लेखिने, २५ हजारदेखि ४९ हजार नौ सय ९९ माथिका सहयोगदातालाई विद्यालयको विशिष्ट सदस्यता प्रदान गरिने प्रधानाध्यापक शर्माले बताए ।
यस्तै, एक लाख सम्म पञ्चेबाजा सहितको आतिथ्य सत्कार, विशिष्ट अभिभावक सदस्यता प्रदान र दम्पतीको नाम शिलालेखमा लेखिने, दुई लाख सम्मका सहयोगदातालाई बाजागाजा सहितको सत्कार, संरक्षक अभिभावक सदस्यता तथा दुई पुस्ते नाम शिलालेखमा उल्लेख र एक अमृत कलशसहित सभा नायकको रूपमा मञ्चाशन गराइने छ । दुई देखि तीन लाख, तीन देखि पाँच लाख, पाँच देखि १० लाख, १० देखि १५ लाख, १५ देखि २५ लाख, २५ देखि ४० लाख, ४० देखि ५० लाख र सो भन्दा माथिको दान गर्नेहरूको समूह निर्माण गरिएको छ । यी दाताहरूलाई सभा नायक बनाइने, प्रमुख अतिथि बनाइने, भवनको कक्षको संरक्षक ताम्र पत्रमा नाम राखिने, स्मार्ट कक्षाको नामकरण, दाताको नाममा भवन ब्लकको नामकरण, आवास भवनको नामकरण, अर्ध कद र पूर्ण कदको सालिक निर्माण लगायतका सम्मानहरू रहेका छन् ।
महायज्ञमा लक्ष्वर्ती, चौरासी पूजा, तुला दान, धनधान्याञ्चल, विवाह, व्रतबन्ध, चार हजार कलश पूजन, एक सय आठ शालिग्राम परिक्रमा तथा अन्य पूजा र ग्रह शान्तिका कार्यक्रमहरू पनि समावेश गरिएका छन् ।





