शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

बाल प्रतिभा पहिचान गर्न पञ्चेबाजा प्रतियोगिता

बाल प्रतिभा पहिचान गर्न पञ्चेबाजा प्रतियोगिता


  • ढाेरपाटन संवाददाता
  • मंसिर ४ २०८३, शुक्रबार

पर्वत/बालबालिकाको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले पर्वतमा बालबालिकाहरूबिच पञ्चेबाजा बजाउने प्रतियोगिता सम्पन्न भएको छ ।

एकीकृत सेवा कार्यालय पर्वतले विश्व बाल दिवसको अवसर पारेर ‘गायन तथा पञ्चेबाजाको सङ्गीतमार्फत बाल अधिकार, आवाज र प्रतिभा प्रस्तुति’ भन्ने उद्देश्य राखेर विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूबिच जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरेको हो । कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरू सहभागी भएको प्रतियोगिता जिल्लामा नै पहिलो पटक आयोजना गरिएको हो ।

जिल्लाका विभिन्न स्थानीय तहहरूबाट सात ओटा विद्यालयहरू सहभागी भएको प्रतियोगितामा खरीबोट गोविन्दनाथ देव शर्मा माध्यमिक विद्यालय कुश्मा प्रथम, नारायण माध्यमिक विद्यालय कुश्मा. द्वितीय, शालिजा माध्यमिक विद्यालय जलजला तृतीय र स्वधर्म माध्यमिक विद्यालय महाशिला सान्त्वना भएका छन् । यी समूहहरूलाई पुरस्कार स्वरूप क्रमशः १५ हजार, १० हजार, ७ हजार र ४ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै विधागततर्फ दमाहामा नारायण मा.वि.कुश्मा, झ्यालीमा काफलचौर मा.वि. कुश्मा, ट्याम्कोमा महेन्द्र शिखरी मा.वि. मोदी, ढोलकीमा गोविन्दनाथ देव शर्मा मा.वि. कुश्मा, सहनाईमा स्वधर्म मा.वि. महाशिला, नृत्यमा शालिजा मा.वि. जलजला र कर्नालमा विद्याज्योति मा.वि. जलजला उत्कृष्ट भएका छन् ।

सामान्यतः प्रौढ बाजा समूहबिच समेत प्रतिस्पर्धा नहुने गरेकोमा विद्यालयमा अध्ययनरत बालबालिकाहरूको समूह विद्यालयमा निर्माण गरेर प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण थियो । तर पनि बाजाको संरक्षण, मौलिक कलाको रक्षा, कलाको पुस्तान्तरण तथा बाजा बजाएर दैनिकी गुजार्नेहरूलाई अझै व्यावसायिक बन्ने प्रेरणा प्रदान गर्नको लागि पनि प्रतियोगिता आयोजना गरिएको कार्यालय प्रमुख जीवन पौडेलले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिको कार्यालयका जिल्ला समन्वय अधिकारी बद्रीप्रसाद तिवारीले विश्व बाल दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै फरक शैलीको कार्यक्रमको आयोजना भएकोमा खुसी व्यक्त गरे । विद्यालयमा अध्ययनरत बालबालिकाहरूले व्यावसायिक कलाकारहरूको जस्तै गरी बाजा बजाउँदा संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुगेको बताए । एकीकृत सेवा कार्यालयले गरेको कार्यक्रमलाई अब स्थानीय तहमा पनि आयोजना हुनुपर्ने सुझाव राख्दै समन्वय अधिकारी तिवारीले कला, गला, मौलिकता र संस्कारको रक्षा गर्न पुस्तान्तरणको आवश्यकता रहेको बताए । बाजा बजाउन सक्ने पुरानो पुस्ताको निधनपछि नयाँ पुस्तामा बाजाको अभ्यास नहुँदा नेपाली नौमती बाजा कम हुँदै गएको उनको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य इन्द्रमान खत्री, नेपाल सरकारका उपसचिव राजेन्द्रबहादुर क्षेत्री, जिल्ला बाल अधिकार समितिका अध्यक्ष नवीन जि.सी, कार्यक्रम आयोजना भएको शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेल लगायतले पनि बोलेका थिए । उनीहरूले विद्यार्थीहरूलाई अझै पनि जबरजस्ती रूपमा रुचि नभएको विषय अध्यापन गर्ने गरिएकोमा चिन्ता व्यक्त गरे । बालबालिकाहरूलाई आफ्नो क्षमता अनुसार अध्ययन तथा अन्य क्रियाकलापहरूमा प्रोत्साहन गर्नुपर्ने उनीहरूको भनाइ छ । अभिभावकले विषय रोजेर बालबालिकालाई विषय लाद्नुभन्दा उनीहरूको क्षमता बाहिर ल्याउनको लागि मनोवैज्ञानिक रूपमा व्यवहार गरिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

जिल्ला बाल क्लब सञ्जाल पर्वतका अध्यक्ष दिप्सन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लक्ष्मण बि.सी.ले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->