काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणका क्रममा नेपाल-भारतबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यलाई प्राथमिकतामा राखिने भएको छ। भ्रमणका क्रममा दुई देशबीच सम्पन्न भएका विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर ६ र ७ गतेसम्म भारतको दुईदिने राजकीय भ्रमणमा जान लागेका हुन्। गत फागुन २१ मा भएको निर्वाचनपछि प्रधानमन्त्री बनेयता बालेनको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको भ्रमण कार्यक्रमअनुसार, प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बताए।
‘भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद व्यवस्थापन, मानव संशाधन विकास जस्ता विषयहरू समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्,’ राईले भने, ‘यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुनेछ।’
यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य विस्तार हुने अपेक्षा गरिएको उनले बताए। नेपालका लागि भारत ठूलो र महत्त्वपूर्ण विकास साझेदार रहेकाले दुवै देशका नेतृत्वबीच विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीको भ्रमणबाट प्राप्त हुने उपलब्धिले द्विपक्षीय साझेदारीलाई थप गति प्रदान गर्नुका साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस लाभ प्राप्त गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयको भनाइ छ।
‘द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरू अपरिहार्य हुन्छन्,’ परराष्ट्र सचिव राईले भने, ‘हाम्रा दुई देशबीच इतिहास, सभ्यता, संस्कृति तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहिआएको छ। आसन्न भ्रमणले नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्धलाई थप उचाइ प्रदान गर्न समेत महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।’
प्रधानमन्त्री शाह नेतृत्वको सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ। प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी भ्रमणमा सहभागी हुनेछन्। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही सदस्य थपिनेछन्।
त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भारत जानेछ। भ्रमणको रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि निजी खर्चमा सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोज (अफिसियल लन्च) आयोजना गर्नेछन्। प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रमसमेत तय भएको छ।
यसैगरी, भ्रमणका क्रममा नेपाल-भारत बिजनेस फोरमको छलफल कार्यक्रम हुने तय भएको छ। कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रमलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने छन्।
‘नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने र नेपाल सरकारको तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ,’ कार्यक्रमबारे जानकारी दिदै सचिव राइले भने, ‘यो कार्यक्रम नेपाली र भारतीय व्यवसायीबीच सहकार्य गर्ने सेतु पनि बन्नेछ।’
प्रधानमन्त्री शाहको आसन्न भ्रमणले नेपाल र भारतबीच सदियौँदेखि रहिआएको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। मन्त्रालयका अनुसार इतिहास, सभ्यता, संस्कृति र जनस्तरको घनिष्ठ सम्बन्धमा आधारित दुई देशबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक साझेदारीलाई भ्रमणले थप उचाइ दिने राइले बताए।
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६:३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।




