
काठमाडौं / चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनको सेन्जेनमा भएको ऐतिहासिक त्रिपक्षीय बैठकपछि संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्।
एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा उनीहरूले चीनको सेन्जेनस्थित किलियन भिल्लामा बिहीबार भेटवार्ता गरेका हुन्।
यो तीन नेताबिचको पहिलो त्रिपक्षीय बैठक हो। बीबीसीका अनुसार बैठक लगभग १ घण्टा २० मिनेट चल्यो।
बिहीबार जारी घोषणापत्रमा भनिएको छ, ‘आणविक युद्ध न जित्न सकिन्छ न त यो कहिल्यै गर्न हुन्छ।’ तीन देशले पेट्रोलियम उत्पादन र आपूर्ति बढाउने योजनाको रूपरेखा पनि प्रस्तुत गरेका छन्।
घोषणापत्रमा सरकारी अधिकारीहरूले पाउने उन्मुक्तिको विषय पनि उल्लेख छ। भनिएको छ, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) र अन्य त्यस्ता निकायले आफ्नो क्षेत्राधिकारको दुरुपयोग गर्नु हुँदैन।’
त्रिपक्षीय बैठकअघि ट्रम्पले पुटिनसँग मात्र पनि भेटवार्ता गरेका थिए। यो अगस्ट २०२५ पछि दुई नेताबिचको पहिलो भेट थियो। ट्रम्पले पुटिनलाई आफ्नो साथी भने।

सीसँगको छुट्टै कुराकानीमा ट्रम्पले दुई देशबिचको सम्बन्धलाई ‘धेरै विशेष’ भनेर वर्णन गरे।
बैठकको सुरुमा सीले विश्वका प्रमुख शक्तिबिच सकारात्मक संवाद विकल्प नभएर आवश्यकता भएको बताए।
त्यसपछि पुटिनले युक्रेन युद्ध अन्त्य गर्न रुस र चीनको साझा स्वार्थ रहेको बताए।
चीनले यसअघि नै यस द्वन्द्वमा तटस्थता देखाइरहेको छ। चीनले रुसको आक्रमणको निन्दा गर्नबाट आफूलाई टाढै राखेको छ। चीनले संवादमार्फत राजनीतिक समाधानका लागि निरन्तर आह्वान गरिरहेको छ।
ट्रम्पले भने, ‘संवाद जारी राख्नु विश्वका तीन ठुला देशका राष्ट्रपतिहरूको विशेष जिम्मेवारी हो।’
उनले थपे, ‘विगतमा धेरै नेताहरू मतभेद भएका देशहरूसँग वार्ता गर्नबाट जोगिएका थिए। तर उनीहरूको दृष्टिकोण फरक छ।’
ट्रम्पले तीन देशको आणविक शक्तिलाई उद्धृत गर्दै भने, ‘उनीहरू विश्वमा आणविक हतियारको संख्या घटाउने बारेमा छलफल गर्न विशिष्ट स्थानमा छन्।’
उनले अन्य देशमा आणविक हतियारको विस्तार रोक्न सहयोगको आवश्यकतामा जोड दिए।
ट्रम्पले इरानको पनि नाम लिए।
उनले भने, ‘हामी इरानलाई आणविक हतियार राख्न दिने छैनौँ।’
चीनको सेन्जेनमा बुधबार र बिहीबार आयोजित ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा विश्वका तीन शीर्ष नेताबिच पहिलोपटक भेटवार्ता भएको हो।




