बागलुङ/देवकुमार नेपालीले कारोबारको रेकर्ड भएको वास्तविक बचत रकम यकिन गरी पाउन दिएको निवेदनमा जिल्ला अदालत बागलुङले अन्तिम फैसलालाई असर पर्ने गरी जाहेरवालाहरूको बिगो छुट्टाउन अस्वीकार गरेको छ ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक एवं ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीको निवेदन अदालतले अस्वीकार गरेको हो । मुद्दाको फैसला हुँदाका बखत जाहेरवालाको अभियोग दाबी तथा अनुसन्धानमा संकलित प्रमाणहरुको विस्तृत विश्लेषण गरी निष्कर्षमा पुगिने भएकाले तत्काल नेपालीको निवेदन अनुसार बिगो छुट्टयाउन अदालतले अस्वीकार गरेको हो ।
बुधबार जिल्ला अदालतमा उनको पेशी थियो । हाल बागलुङ जिल्ला अदालतमा नेपाली विरुद्धको सहकारी ठगी र सम्पत्ति शुद्धिकरणका २ मुद्दा विचाराधीन छन् । यसअघि कास्की जिल्ला अदालतले पोखराकै इमेज बचत तथा सहकारी ठगी मुद्दामा नेपालीलाई ८ वर्ष कैद,१ करोड २६ लाख रुपैयाँ जरिवाना र १८ करोड ९६ लाख बिगो भराउने फैसला गरिसकेको छ ।
नेपालीले बागलुङ जिल्ला अदालतमा भने बचतकर्ताको रकम यकिन गरिपाउँ भनी निवेदन दिएका थिए ।नेपाली विरुद्धको सहकारी ठगीको मुल मुद्दा फैसला नभइसकेकाले अदालतले निवेदनको माग बमोजिमको आदेश दिन इन्कार गरेको हो ।
नेपाली सहकारी ठगी मुद्दामा दुईवर्षदेखि बागलुङ कारागारमा पुर्पक्षमै छन् । २०८१ असोज १२ गते उनी भारतको नयाँदिल्लीबाट पक्राउ परेका थिए । जिल्ला अदालत बागलुङको २०८१ असोज १५ गतेको आदेशबाट नेपालीलाई पुर्पक्षकालागि थुनामा पठाइएको थियो ।
नेपालीले बागलुङका बचतकर्ताको झण्डै २ अर्ब बचत रकम अपचलन गरेको आरोपसहित प्रहरीमा जाहेरी परेपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।नेपालीविरुद्ध बागलुङका १ हजार ५ सय ४३ बचतकर्ताले जाहेरी दिएका थिए ।
१ अर्ब ३० करोड ७६ लाख ९८ हजार रुपैयाँ बिगो मागदाबीसहित परेको मुद्दापछि नेपालीले १ अर्ब ५ करोड ३० लाख रुपैयाँ बिगोको मिलापत्रसमेत गरिसकेका छन् । अब २५ करोड ३० लाख रुपैयाँमात्र दायित्व रहेको अवस्थामा उनको मुद्दा जिल्ला अदालत बागलुङमा अझै विचाराधीन छ ।
नेपालीविरुद्ध १ अर्ब ५८ करोड करोड रुपैयाँ बिगो मागदावीसहित २०८२ भदौ २३ गते दर्ता भएको सम्पत्ति शुद्दिकरण मुद्दासमेत सोही अदालतमा विचाराधीन छ ।सम्पत्ति शुद्दिकरण निवारण ऐन २०६४ को दफा १३ मा भएको व्यवस्था बमोजिम मुद्दा दर्ता गरिएको उल्लेख छ ।
मुद्दा दर्ताभएपछि नेपालीको नाउँमा रहेकासबै सम्पत्ति रोक्का गरिएको छ । २०८० को वैसाखमा तरलता अभाव देखाएर सहकारी बन्द गरेपछि पीडित बचतकर्ताले आफूहरु ठगिएको थाहा पाएका थिए । २०८० कै जेठदेखि नेपाली फरार भएका थिए ।
रेडकर्नर नोटिस जारी भएका उनलाईभारतमा पक्राउ गरी नेपाल ल्याएपछि नेपालीलाइ जिल्ला अदालत बागलुङले पुर्पक्षकालागि कारागार पठाएको थियो । २०७४ सालअघि नेपाली नेकपा माओवादीमा आवद्ध थिए ।
माओवादीबाट नगर प्रमुखको टिकट नपाएपछि उनले उम्मेदवारी मनोनयनकै दिन एमाले प्रवेश गरी टिकट लिई निर्वाचित भएका थिए । उनी दोस्रो कार्यकालमा पनि एमालेबाटै नगर प्रमुख निर्वाचित भएका हुन् ।
नेपालीपोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाका पनि प्रतिवादी हुन् । सूर्यदर्शनका पूर्वउपाध्यक्षसमेत रहेका नेपालीले गीतेन्द्रबाबु (जिबी) राईसँग असन्तुष्ट भएपछि इमेज सहकारी खोलेका थिए । पोखरा र बागलुङमा एउटै नामबाट सहकारी चलाएका उनले बचताकर्ताको रकम व्यक्तिगत सम्पत्ति जोड्न र मोजमस्तीमा प्रयोग गरेको अभियोग छ ।





