काठमाडौं / नेकपा एमालेको राष्ट्रिय भेलालले १७ बुँदे विशेष संकल्प पारित गरेको छ । बुधबार र बिहीबार दुई दिन चलेको राष्ट्रिय भेलाले विभिन्न १७ बुँदामा विशेष संकल्प पारित गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बताए ।
भेलाको समापनपछि आचार्यले जारी गरेको विज्ञप्तिमा पारित भएका संकल्पको सूची सार्वजनिक गरिएको छ । जसमा असंवैधानिक ढंगले लोकतन्त्र अपहरित भएको दाबी गर्दै फिर्ता गरिहाड्ने पहिलो संकल्प उल्लेख छ ।
एमाले राष्ट्रिय भेलाद्वारा जारी विशेष संकल्पहरू :
-हामी असंवैधानिक ढङ्गले अपहरित गरिएको लोकतन्त्र फिर्ता गरिछाड्ने छौँ । राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिन हमेशा तयार रहने छौँ ।
-हामी सिङ्गो पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रुपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आ–आफ्नो ठाउँबाट अधिकतम योगदान गर्नेछौँ ।
-गत: वर्ष व्यहोर्नु परेको धक्कालाई चिर्दै धुलो टक्टक्याउँदै उठ्न, आन्दोलनको पुनरुत्थान गर्न र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न उच्च मनोबलका साथ अगाडि बढ्ने छौँ । हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिङ्गो युद्ध हारेका होइनौँ । आगामी निर्वाचन मार्फत् यस सत्यलाई स्थापित गरिछाड्ने छौँ ।
-हामी पार्टीले गरेका ऐतिहासिक कामहरुप्रति गर्व गर्छौँ । कमी–कमजोरीहरुलाई बिना मोलाहिजा सच्याउँने छौँ । सकारात्मकता, नयाँ गति र उच्च मनोबलका साथ अगाडि बढ्नेछौँ ।
-हामी जनताको बिचमा जानेछौँ । उहाँहरुका सुझाव, गुनासा र आलोचना सुन्नेछौँ । तिनलाई आत्मसात गर्नेर्छौं ।
-युवा पुस्तासँग संवाद गर्नेछौँ । उहाँहरुको मनोविज्ञान र सरोकारलाई बुझ्नेछौँ । उहाँहरुसँग सहकार्य गर्नेर्छौँ र आन्दोलनमा उहाँहरुको सहभागिता र प्रभावकारी भूमिका सुनिश्चित गर्नेर्छौँ ।
-हामी जिम्मेवारी लिँदा लिएको शपथ ग्रहणप्रति हमेशा प्रतिबद्ध रहने छौँ । नैतिक, पारदर्शी, सादा, उद्यमशील, स्वावलम्बी र स्वच्छ आचरणयुक्त जीवन बिताउने छौँ । मुलुकको संविधान, कानुनसँगै पार्टी विधान, नियमावली र आचार संहिताको अक्षरश: पालना गर्नेछौँ ।
-पार्टी पङ्क्तिमा देखापरेका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकतालाई अन्त्य गर्नेर्छौँ र जनताको सेवकका रुपमा स्थापित हुनेछौँ ।
-कतिपय नेता कार्यकर्तामा देखापरेका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुनेछौँ । तिनलाई हटाउनेछौँ । स्वच्छ, जनसेवी र भरोसायोग्य अगुवाका रुपमा नेकपा (एमाले) को छविलाई थप उज्यालो बनाउनेछौँ ।
-निर्वाचनमा निर्धारित विधि एवं जनता र कार्यकर्ताको भावना अनुरुप स्वस्थ ढङ्गले उम्मेदवार चयन प्रक्रियामा सहभागी हुनेछौँ । पार्टीको निर्णयलाई आत्मसात गर्दै पार्टी उम्मेदवारलाई विजय बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्नेछौँ ।
-महङ्गी, अभाव, विस्थापन, वेरोजगारी, विभेद, बसाइसराइँ, निशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता जनसरोकारका विषयमा सबैभन्दा अगाडि रहेर आवाज उठाउने छौँ । समाधानका लागि पहल गर्नेछौँ । सुखदु:खमा हमेशा जनताको साथमा रहनेछौँ ।
–अधिवेशन र बैठकहरुमा स्वस्थ वहस गर्ने छौँ । सहमति निर्माणको प्रयास गर्नेर्छौँ । लोकतान्त्रिक विधिबाट हुने फैसलालाई हार्दिकतापूर्वक सम्मान गर्नेर्छौँ ।
-गुटबन्दी, अस्वस्थता र नकारात्मकतालाई निषेध गर्नेर्छौँ । आफूलाई लागेका कुरा निर्धक्कताका साथ सम्बन्धित कमिटीमा राख्नेछौँ । सार्वजनिक रुपमा पार्टी नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गर्र्नेर्छौँ ।
-असहमतिहरुलाई सम्मान गर्नेछौँ । असझदारी र अस्वस्थता हटाउने छौँ । सबै कमरेडहरुलाई उचित ढङ्गले जिम्मेवारी बाँडफाँट गर्नेर्छौँ । सिङ्गो पार्टीको उर्जालाई एकजुट बनाउन हरसंभव प्रयत्न गर्नेर्छौँ ।
-हामी आफ्नो जिम्मेवारीलाई गंभीरता, इमान र पूर्ण क्षमताका साथ पूरा गर्नेछौँ । आफ्नो काम र कार्यक्षेत्रको परिणामप्रति पूर्ण जवाफदेही हुनेछौँ । अरुतिर औँला तेर्स्याएर आफू दायित्वबाट पञ्छिने छैनौँ ।
-महिला हिंसा, जातीय विभेद र छुवाछुत, श्रमिकहरुप्रति अवहेलना, अन्धविश्वास, कुरीति र राज्य एवं सामुदायिक स्रोतहरुको दुरुपयोगप्रति घृणा गर्नेर्छौँ । सामाजिक एकता, सद्भाव, सहिष्णुता, स्वच्छता र मर्यादाको अगुवाइ गर्नेछौँ ।
-हामी विश्वास गर्छौँ : पार्टीको शक्तिका स्रोत जनविश्वास हो । नेतृत्वको आधार पार्टी पङ्क्ति र समाजबाट प्राप्त विश्वास हो । सङ्गठनको शक्ति विधि र अनुशासनमा निहित हुन्छ । राजनीतिको आदर्श जनताको सेवा हो । पार्टीको भविष्य आफूभित्र हुने रुपान्तरण र सामाजिक रुपान्तरणमा खेल्ने भूमिका हो । हामी यसै आधारमा अगाडि बढ्नेछौँ ।





