बिहिबार, मंसिर ३ २०८३

बिहिबार, मंसिर ३ २०८३
  • ३ मंसिर २०८३ , बिहिबार
  • November 19 2026

एमालेको धक्का निर्वाचनको परिणामले होइन : अध्यक्ष ओली

एमालेको धक्का निर्वाचनको परिणामले होइन : अध्यक्ष ओली

पार्टीभित्रका कुरा फेसबुकमा लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८३, बिहिबार

काठमाडौँ / नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरी सुरु भएको बताएका छन् ।पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई  सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पूर्व भएका ध्वंस,आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे । ‘हामी सरकारबाट अपदस्त हुँदाको अवस्थाको विश्लेषण नागरिक राजनीति हुँदैन’ अध्यक्ष ओलीले भने ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नु पर्दछ । त्यति नबुझी राजनीति बुझिँदैन ।’

अध्यक्ष ओलीले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई विस्थापन भयो भनेर बुझ्नु नहुने बताए । ‘अल्गोदिम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्याइयो’ अध्यक्ष ओलीले भने ‘हामीप्रति घृणा फैलाएर, अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो ।’

अध्यक्ष ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताए । बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुँदैन । ‘यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ । कतिपय आफैँ भुईँमा झर्छन् ’ अध्यक्ष ओलीले भने ‘यस्ता प्रवृत्ति विरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ ।’ ओलीले समाजलाई सबै भ्रमहरूबाट मुक्त गर्ने कामको अगुवाइ एमालेले गर्ने बताए । समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनर्जागरण गराउने कामको नेतृत्व एमालेले गर्दछ ।

पार्टीभित्रका कुरा फेसबुकमा लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी

ओलीले पार्टीभित्रको कुरा सामाजिक सञ्जालमा लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्। भेलालाई सम्बोधन गर्दै महाधिवेशनले गरेको निर्णयलाई लिएर पटकपटक एउटै कुरा गरिरहे स्वीकार्य नहुने चेतावनी दिए।

उनले भने, ‘महाधिवेशनमा हामी थियौँ होइन र ? केही साथीले चित्त नबुझेर विपक्षमा भोट हाल्या होइन ? महाधिवेशनको निर्णय सर्लक्क मानेर अर्को महाधिवेशनसम्म जानु परेन ? अनि बिचमा जहिले पनि त्यही एकतारे बजाएर र्‍याइँ–र्‍याइँ गरिरहने ?’ पार्टीभित्रको आन्तरिक केही विषयमा चित्त नबुझेको कमिटीमा राख्न पाइने बताए।

उनले थपे, ‘कमिटीमा राख्नै पाइएन भन्ने नक्कली गुनासो नगरौँ। कमिटीमा राख्दा कसैले कसैको मुख थुनेको छैन। कसैले आक्रमण गरेकाे पनि छैन, कसैले केही गरेको पनि छैन। नक्कली कुरा नगरौँ।’

पार्टीभित्र छलफलको विषय फेसबुकमा लेखेर विरोधीलाई मौका दिने गतिविधि स्वीकार्य नहुने बताए। ओलीले भने, ‘हामीले अस्तिको केन्द्रीय कमिटीलाई कटअफ बैठक भनेका छौँ। त्यसभन्दा अगाडि जसले अनुशासनहीन काम गरेको भएता पनि, सामाजिक सञ्जालमा गएको भएता पनि, फेसबुक रङ्गाएको भएता पनि, अनुशासन तोडेको भएता पनि अस्तिको केन्द्रीय कमिटी बैठकको मितिभन्दा अगाडिका कुराहरूलाई क्षमा गरिएको छ। अब त्यही कुरा दोहोरिए स्वीकार्य हुँदैन।’

आफूलाई पक्राउ गर्नुअघि पार्टीकै एक नेताले अन्तर्वार्तामा ओलीलाई पक्राउ गरेर एमाले सडकमा जाँदैन भनेर बोलेको भन्दै आक्रोश पोखे। ‘के भनेको त्यो एमाले हुँ भन्ने मान्छेले ? आफू  नउत्रिनु नि, उत्रिँदैन त्यो ठिकै छ। आफू नउत्रिनु नि! कार्यकर्ता नै उत्रिँदैनन् भन्ने, उत्रिए त देशैभरि’ उनले थपे, ‘ती व्यक्तिलाई केपी ओलीलाई गिरफ्तार गर्दै छ भन्ने थाहा छ ? सरकार हच्किराखेको छ। सरकारलाई ढाडस दिने ? केही पनि हुँदैन, एक जना मान्छे पनि सडकमा उत्रिँदैन भनेको समात भनेको त हो नि।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->