काठमाडौं /नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन् । पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै नेता भण्डारीले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरिन् ।
गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा व्यहोर्नुपरेको धक्काबाट कार्यकर्तामा केही निराशा उत्पन्न भएको भए त्यसबाट मुक्त हुन आग्रह गर्दै उनले भनिन्, ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’
भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे स्पष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुर्याउन फर्किएको बताइन् ।
राष्ट्रपतिको सर्वोच्च संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता तथा छिमेकी एवं मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उनले उल्लेख गरिन् ।
‘मैले राष्ट्रपतिको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब कुनै पनि पदप्रति लोभ छैन’, भण्डारीले भनिन् ।
मुलुकको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको भन्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्दा देशको अन्तर्राष्ट्रिय छविमा आँच आउन थालेको टिप्पणी गरिन् । समयमै यसको निराकरण नभए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने उनको चिन्ता थियो ।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा उतार्नुपर्नेमा उनले जोड दिइन् ।
आवश्यकताभन्दा पनि मागका आधारमा कमिटीहरूलाई ठूलो र भद्दा बनाउने प्रवृत्ति अन्त्य गरी कमिटीलाई मानार्थ नभई कार्यकारी बनाउन, आलोचना र आत्मालोचनाको पद्धति अपनाउन तथा सादगी जीवनशैली अवलम्बन गर्नुपर्ने भण्डारीको तर्क थियो ।
त्यसैगरी, युवा पुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनहरूले उद्यमशीलता विकास, बहस तथा रचनात्मक अभियान चलाउनुपर्ने उनले बताइन् । निर्वाचित जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका क्षेत्रमा पारदर्शी ढंगले काम गर्नुपर्ने वरिष्ठ नेता भण्डारीको धारणा छ ।





