बिहिबार, मंसिर ३ २०८३

बिहिबार, मंसिर ३ २०८३
  • ३ मंसिर २०८३ , बिहिबार
  • November 19 2026

अर्गानिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

अर्गानिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

अर्गानिक खेतीले महिलाको आर्थिक अवस्था मात्र नभई पारिवारिक सम्बन्धमा समेत सकारात्मक परिवर्तन ल्याएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८३, बिहिबार

नवलपुर / हुप्सेकोट-४ का महिलाले अर्गानिक झोल मल र गँड्यौला मल प्रयोग गरी खेती सुरु गरेका छन् । घरायसी प्रयोजनका लागि मात्र तरकारी खेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक खेतीमा आत्मनिर्भर बन्दै गएका हुन् । शङ्खदेवमा १४ जना महिलाले अर्गानिक तरकारी खेती गरिरहेको स्थानीय कृषक रूपा रानाले बताईन ।

उनीहरुले रासायनिक मल तथा विषादीको प्रयोगलाई निषेध गर्दै प्राङ्गारिक मल, गँड्यौला मल र झोल मलको प्रयोगबाट तरकारी खेती सुरु गरेका छन् । उत्पादन लागत केही बढी भए पनि बजारमा मूल्य पाउन समस्या छैन । यहाँ उत्पादित तरकारी कावासोती, काठमाडौँ र बुटवल पठाइन्छ ।

“सबैभन्दा पहिले आफू स्वस्थ भइन्छ, उपभोक्तालाई स्वस्थकर खुवाउन पाइन्छ,” रानाले भनिन्, “उपभोक्ता पनि विषादीप्रति सचेत भएकाले अर्गानिक तरकारी केही महँगो भए पनि बजार अभाव छैन ।”

१० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएकी हुप्सेकोट-४, भैँसेघाटकी रमा न्यौपाने पहिले बजारबाट विभिन्न प्रकारका विषादी र रासायनिक मल ल्याएर प्रयोग गर्थिन  । उनले अहिले आफैँ झोल मल र गँड्यौला मल उत्पादन गरी बारीमा प्रयोग गर्ने गरेको बनाईन् ।

“पहिले धेरै उत्पादन हुन्छ भनेर विषादी प्रयोग गरिन्थ्यो । त्यही विषादीयुक्त तरकारी आफैँले पनि कति खाइएछ कति,” न्यौपानेले भनिन्, “अहिले हाम्रो ठाउँ विषादी मुक्त बनेको छ, विषादी प्रयोग नगरी उत्पादन गरिएको तरकारी बजारमा बिक्री गर्न पनि समस्या छैन ।”

डब्लुडब्लुएफ र सहमति संस्थाको प्राविधिक सहयोगमा महिला व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । कृषक डिमाया झेँडीमगर अर्गानिक खेतीले महिलाको आर्थिक अवस्था मात्र नभई पारिवारिक सम्बन्धमा समेत सकारात्मक परिवर्तन ल्याएको बताउछिन् ।

पहिले घरखर्चका लागि श्रीमानको कमाइमा निर्भर हुनु पर्दा घरमा कलह हुने, महिलालाई हेप्ने चलनको अन्त्य भएको र पारिवारिक सम्बन्ध सुमधुर भएको उनको भनाइ छ । “अहिले घरव्यवहार चलाउन समस्या छैन,” झेँडीले भनिन्, “महिलाले नै घरखर्च व्यवस्थापन गर्न सक्दा परिवारमा खुुसी र श्रीमान्बाट माया पाइँदो रहेछ ।” तरकारी खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइखर्च जुटाउन र घरव्यवहार चलाउन सहज भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->