शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

देश र जनताका लागि जीवन समर्पित गर्छु : देउवा

देश र जनताका लागि जीवन समर्पित गर्छु : देउवा


  • ढाेरपाटन संवाददाता
  • मंसिर ४ २०८३, शुक्रबार

बागलुङ/पूर्व प्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवाले आँफूले देश र जनताका लागि जीवन समर्पित गरेको बताएका छन् । उनले पञ्चायत कालदेखिनै व्यक्तिगत जीवन जीउन नपाएको भन्दै अहिले पनि पार्टीकै लागि लागेको बताए ।

उनले कांग्रेस विवादमा अदालतबाट कार्यकर्ताको भावना अनुसार न्याय पाउने बताए । पार्टी, देश र जनताका लागि हामी हिंडेका छौं, न्याय पनि पाइन्छ’ उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, सर्वोच्चले न्याय दिन्छ ।’ अदालत कसैको पक्षमा नबिक्ने उनले बताए । उनले आफ्नै पक्षको कांग्रेसलाई अदालतले आधिकारिता दिने विश्वास व्यक्त गरेका छन् । जे–जस्ता हल्लाहरु आएपनि सर्वोच्च अदालतले सबै कांग्रेस कार्यकर्ताको भावना अनुसारको निर्णय दिने उनले बताए ।

देउवा पक्षिय कांग्रेसको महाधिवेसनअन्तर्गत बागलुङ जिल्ला अधिवेसनको उद्घाटन गर्न आएका देउवाले ज्ञानेन्द्रको निरंकुशता विरुद्व लडेको कांग्रेस देशमा आइपर्ने सबैखाले समस्यामा जुध्न तयार रहेको बताए । उनले विशेष महाधिवेसनबारे भने बोलेनन् । उनले आफ्नो प्राण रहुन्जेल लोकतन्त्र र गणतन्त्रमा समर्पित बन्ने बताए ।

आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्ने आबस्यकता औल्याउँदै उनले त्यसका लागि कार्यकर्तालाई एक भएर लाग्न निर्देशन दिए । ‘मेरो जीवन देश र जनतालाई दिंदै आएको छु, अझैपनि लोकतन्त्र र गणतन्त्रको रक्षामा समर्पित गर्छु’ उनले भने, ‘सबै कार्यकर्ताले कांग्रेसको संगठन बढाएर आगामी निर्वाचन जित्ने वातावरण बनाउनुहोला ।’ उनले फूटेर नभइ जुटेर कांग्रेस अगाडि बढ्नुपर्ने बताए । यसअघि विभिन्न स्थानमा पार्टी नेतृत्वप्रति आक्रोसित देउवा शुक्रबार शान्त देखिएका थिए ।

कांग्रेसको संगठनमा बागलुङले गरेको योगदानको उनले स्मरण गरे । ‘सहिद थिरबम मल्लले योगदान गरेको कांग्रेस बचाउने जिम्मा लिने जिल्ला बागलुङ हो’ उनले भने, ‘कांग्रेसका कार्यकर्ताहरु बिचलित नभइ देशको हितमा लागौं ।’ एकता भएमा अन्य दलले हराउन नसक्ने उनको भनाई थियो ।

हेलिकोप्टरमा आएका देउवाले २ घण्टा बसेर कार्यक्रममा बसेपनि मन्तव्य भने ४ मीनेट मात्रै राखेका थिए । अधिवेसनले जिल्ला नेतृत्व चयन गर्ने निर्वाचन संयोजक सागर छन्त्यालले बताए ।
छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य किरणराज पौडेल, कांग्रेस जिल्ला सभापति जितबहादुर शेरचन, पुर्व सभापतिहरु दिपेन्द्रबहादुर थापा, मणीभद्र शर्मा, क्षेत्र नं. २ का सभापति धनबहादुर कायतलगायतले बोलेका थिए ।

अधिवेसनमा भाग लिन जिल्लाभरका कार्यकर्ता सदरमुकाम भेला भएका छन् । अधिवेसनमा कांग्रेसले चार जोर पञ्चेबाजा, ढोरपाटनको झाक्रीनाँचलगायतका झाँकीको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->