बागलुङ / हरिबोधिनी एकादशीको अवसरमा कालीगण्डकी नदी किनारको निरयघाटमा एकादशी मेला लागेको छ । बागलुङ नगरपालिका-४ को निरयघाटमा धार्मिक मेला लागेको हो । कालीगण्डकी स्नान गर्ने भक्तजनले शुक्रबार निरयघाट भरिएको छ ।
एकादशीकै अवसरमा तुलसीको विवाह, तोरण तार्ने, विभिन्न खेलकुद तथा धार्मिक क्रियाकलाप, भजनकृतनलगायतका क्रियाकलाप गर्न पनि भक्तजन यहाँ ओइरिएका हुन् । हरिबोधिनी एकादशी मेला आयोजकले तीन दिने खेलकुद तथा धार्मिक कार्यक्रम समेत आयोजना गरेपछि भक्तजन बढेको स्थानीय दुर्गाबहादुर आचार्यले बताए ।
लामो समय रोकिएको निरयघाट मेलालाई स्थानीयले जगाएपछि भक्तजनको बाक्लो उपस्थिति भएको हो । साथै व्यक्तिगत रुपमा मात्र गरिने धार्मिक कार्यलाई संस्थागत रुपमा गरिएको छ । यहाँ रहेको मानवसेवा आश्रमलाई व्यवस्थित बनाउन अभियान चालिएकै समयमा मेला समेत आयोजना भएको हो ।
शुक्रबार नदी किनारमा समूहमा भजनकृतन गाउने, पञ्चेबाजा बजाउने र गत असारमा १ सय ८ मोठ बनाएर रोपिएका तुलसीको विवाह पनि गरिएको हो । मोठ बनाउने भक्तजनको नाम आश्रमले मोठमै लेखिदिएको छ।





