पोखरा/नेपाल ट्रस्टको कार्यालयले पोखरामा रहेका रत्न मन्दिर, हिमागृह लगायतका सम्पत्ति लिजमा दिने टेन्डर नखुलेको जनाएको छ । ट्रस्टका प्रवक्ता रमेशबहादुर बस्नेतले ती सम्पत्तिको व्यावसायिक उपयोग र संरक्षणकासम्भावनाबारे सरोकारवालासँग प्रारम्भिक परामर्श मात्रै गरिएको उल्लेख गरेका छन् ।
दुई साताअघि रत्न मन्दिर, हिमागृह लगायत ट्रष्टका सम्पत्ति ३० वर्षका लागि लिजमा दिन एक अध्ययनको सुझाव सार्वजनिक भएपछि सरोकारवालाले पोखरेलीले आपत्ति जनाएका थिए ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालको मापदण्ड र सर्वोच्च अदालतको आदेश विपरीत सार्वजनिक सम्पत्ति लिजमा दिन खोजिएको भन्दै त्यो सम्भव नहुने उल्लेख गरेका थिए ।
बाराहीघाटको अधिकांश भाग तथा रत्न मन्दिर र हिमागृहको सम्पूर्ण जग्गा फेवातालको मापदण्डभित्र पर्ने भएकाले व्यावसायिक संरचना निर्माण गर्नु कानुनी व्यवस्थाविपरीत हुने आचार्यको तर्क छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानुनी तथा प्राविधिक रूपमा निर्माण गर्न नमिल्ने अवस्थामा लिज लिएर लगानी गर्दा भविष्यमा निर्माण कार्य रोकिएमा वा संरचना हटाउनुपर्ने अवस्था आएमा सम्बन्धित व्यक्ति वा संस्था स्वयं जिम्मेवार हुनुपर्नेछ ।’
ट्रस्टका प्रवक्ता बस्नेले पोखराको सम्पत्ति संरक्षण र उचित उपयोगका सम्भावनाबारे विभिन्न अध्ययन भएको जनाउँदै प्राकृतिक, भौतिक र वातावरणीय सम्पदाको संरक्षण तथा दिगो उपयोगलाई उचित प्राथमिकता दिइने जनाए ।
ट्रस्टको बोर्ड बैठकले कात्तिक १९ गते पोखरामा रहेका सम्पत्तिको व्यावसायिक रणनीतिक योजना तर्जुमा गर्न उपसमिति गठन गरेको थियो । नेपाल ट्रस्टको ‘सम्पत्तिहरूको रणनीतिक व्यावसायिक योजनाको समग्र सारांश (पोखरा)’ शीर्षकको दस्तावेजमा पोखराका पाँचसम्पत्तिको उपयोग तथा संरक्षणसम्बन्धी प्रस्ताव समेटिएको छ ।
तीमध्ये तीन ठाउँका जग्गालाई निर्माण अवधिसहित ३० वर्षका लागि लिजमा दिएर व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिने प्रस्ताव गरिएको छ ।पोखरा–६ बाराहीघाटस्थित खेल मैदानको कित्ता नम्बर १७६२ र १७६३ को कुल ४८ रोपनी ७ आना २ पैसा क्षेत्रफलमध्ये फेवातालको मापदण्डअनुसार लिज गणनाका लागि १५ रोपनी ९ आना ३ पैसा ३.४ दाम जग्गा प्रस्ताव गरिएको छ ।
उच्च व्यावसायिक मूल्यको सम्पत्तिको रूपमा वर्गीकृत उक्त जग्गामा तीन वर्षको निर्माण अवधिसहित ३० वर्षको लिजमा कमर्सियल कम्प्लेक्स, होटल, रेस्टुरेन्ट, कार्यालय तथा खुद्रा व्यापारिक केन्द्र सञ्चालन गर्न उपयुक्त हुने दस्तावेजमा उल्लेख छ ।पोखरा–६ स्थित रत्न मन्दिर परिसरको कित्ता नम्बर १२७० मा रहेको २ रोपनी ३ पैसा १ दाम जग्गा पनि तीन वर्षको निर्माण अवधिसहित ३० वर्षका लागि लिजमा दिने प्रस्ताव छ । उक्त स्थानमा सपिङ कम्प्लेक्स, होटल, कार्यालय, मनोरञ्जन केन्द्र तथा रेस्टुरेन्ट सञ्चालन गर्न सकिने उल्लेख छ ।
पोखरा–७, रत्नचोकस्थित कित्ता नम्बर ३० को १ रोपनी १२ आना १ पैसा क्षेत्रफलको खेल मैदानको जग्गालाई पनि तीन वर्षको निर्माण अवधिसहित ३० वर्षका लागि लिजमा दिने प्रस्ताव गरिएको छ । उक्त जग्गामा कमर्सियल कम्प्लेक्स, होटल, रेस्टुरेन्ट, कार्यालय तथा खुद्रा व्यापारिक केन्द्र सञ्चालन गर्न उपयुक्त हुने योजनामा उल्लेख छ ।
ट्रष्टको रणनीतिक योजनामा पोखरा–६ स्थित रत्न मन्दिर र हिमागृह परिसरलाई भने व्यावसायिक भवन निर्माणभन्दा सम्पदा संरक्षण तथा पर्यटन प्रवर्धनमा उपयोग गर्ने प्रस्ताव गरिएको छ ।





