सोमबार, मंसिर ७ २०८३

सोमबार, मंसिर ७ २०८३
  • ७ मंसिर २०८३ , सोमबार
  • November 23 2026

सामाजिक सुरक्षामा जोड्न अभियान

सामाजिक सुरक्षामा जोड्न अभियान


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८३, सोमबार

बागलुङ/औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य जोडिनुपर्नेमा श्रमिक सम्बद्ध संस्थाका अगुवाले जोड दिएका छन् । उनीहरूले अनौपचारिक क्षेत्रका श्रमिकलाई त कोषमा जोडिनकालागि प्रोत्साहित गर्नुपर्ने सुझाए ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघबागलुङको आयोजनामा भएको सामाजिक सुरक्षामा पहुँच सहजीकरण अभियानमा नागरिकको सुरक्षित भविष्यकालागि राज्यले नीति ल्याएपनि कार्यान्वयन नभएकोमा उनीहरू चिन्ता जताए । स्थानीय तहमा बजेट भएर पनि अहिलेसम्म श्रमिकलाई सुरक्षा कोषमा जोड्न नसक्नु अर्को दुर्भाग्य भएको उनीहरुको टिप्पणी छ ।

संघका केन्द्रीय अध्यक्ष प्रदीप आचार्यले सकेकाबेला श्रमिकले योगदान गरी लगानी गर्ने, नसकेकाबेला त्यसबाट पेन्सन खाने पद्धतिले सामाजिक सुरक्षा कोष चलेको बताए । तर अहिलेसम्म थोरै मात्र श्रमिक कोषमा जोडिएको उनको भनाइ छ ।

‘दशौं लाख श्रमिक यहाँ जोड्नुपर्ने छ’, उनले भने, ‘त्यसकालागि राज्यका निकाय, स्थानीय तह समेतले आफ्नो क्षेत्रका श्रमिकलाई जोड्दै जान सकेमा राम्रो हुनेछ ।’ उनले श्रमिकहरु कोषमा जोडिँदा बुढ्यौलीमा पेन्सन पाउनेमात्र नभई स्वास्थ्य उपचार, दुर्घटना उपचार खर्च जस्ता सेवा पनि पाउन सक्ने उनले औंल्याए ।

जिल्लाका निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले त झनै यो कोषमा जोडिनैपर्ने उनको भनाइ छ । पहिलो चरणमा केही व्यक्तिमात्र जोडेर भएपनि अभ्यास सुरु गर्न उनले बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलाई समेत आग्रह गरे ।

प्रमुख श्रेष्ठले चालु वर्ष ५० लाख बजेट विनियोजन गरेपनि श्रमिक सूचीकरण र कोषमा आवद्धता नभएको उनले बताए । त्यसकालागि श्रमिक सम्बद्ध संस्थाहरूले सहजीकरण गरेर कोषको दायरामा ल्याउन पहल गर्न आचार्यले सुझाव दिए ।

कोषमा आवद्ध हुनका लागि औपचारिक क्षेत्रका भएमा रोजगारदाता कम्पनीले २१ प्रतिशत र श्रमिकले १० प्रतिशत कोषमा जम्मा गर्नुपर्छ । लगातार १५ वर्ष वा श्रमिकको उमेर ६० वर्ष पुगेपछि कुल बचतको ६० प्रतिशत सामाजिक सुरक्षाको रुपमा पेन्सन दिने व्यवस्था हुनेछ । नेपाल सरकारले २०७४ सालमा सामाजिक सुरक्षा ऐन ल्याएको छ ।

श्रमिक सम्वद्ध संस्थाहरूले निरन्तर बहस पैरवी गरी यो अभियानमा जोड्ने काम गरिरहेका छन् । आचार्यका अनुसार सुरक्षा कोषमा आबद्ध भएकै कारण भोटेकोशी बाढीमा बेपत्ता र ज्यान गुमाएकाका परिवारमा पेन्सन दिने थालिएको छ ।

संघका अध्यक्ष भीमबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव हिरा सापकोटा, यामनारायण आचार्य, नेपाल ट्रेडयुनियन कांग्रेसका अध्यक्ष ईश्वर ठाकुर पौडेल, प्रदेश उपाध्यक्ष शकुन्तला शर्मा लगायतले बोलेका थिए ।

आइतबारै भएको संघको तेस्रो साधारणसभा तथा अधिवेसनले भीमबहादुर खत्रीकै अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गीता कुँवर, सचिव हिरा सापकोटा, कोषाध्यक्ष सरस्वती सार्की र कोषाध्यक्षमा सचिन हरिजन चुनिए ।

समितिकासदस्यमा जोखबहादुर विक, डण्डपाणि कँडेल, रुपा केसी, जमुना बस्याल र जमुना ठकुरी छन् । समितिले स्थानीय तहमा पुगेर अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्न पहल गर्ने खत्रीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->