सोमबार, मंसिर ७ २०८३

सोमबार, मंसिर ७ २०८३
  • ७ मंसिर २०८३ , सोमबार
  • November 23 2026

प्रधानमन्त्रीको भारत भ्रमण र अपेक्षा

प्रधानमन्त्रीको भारत भ्रमण र अपेक्षा

समकक्षीसँग प्रधानमन्त्री बालेन्द्रले कम्तिमा नेपालको चासो र चाहनालाई प्रष्ट रुपले राख्ने हिम्मत गर्दै छिमेकीको नाताले भारतको चासो सम्वोधनमा कुनै कञ्जुस्याइँ गरेनन् भने त्यसलाई नै सफलता मान्नुपर्ने हुन्छ ।


  • Dhorpatan News
  • मंसिर ७ २०८३, सोमबार

भारतको राजकीय भ्रमणको सिलसिलामा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानदेखि व्यस्त छन् । प्रधानमन्त्रीको औपचारिक भ्रमण लामो छैन । प्रधानमन्त्रीको भ्रमणमा तीर्थाटनको कुनै कार्यक्रम समेटिएको छैन । आइतबार नयाँदिल्ली उत्रेका प्रधानमन्त्री आज नै स्वदेश फर्कने छन् ।

भारत–नेपाल सम्बन्धबारे लामो चर्चा जरुरी छैन । भारत नेपालको ठूलो र तीनतिरबाट घेरिएको छिमेकी हो । खुला सीमा,रोटीबेटी सम्बन्ध,सांस्कृतिक समानता यो सम्बन्धका विशेषता हुन् । तर, यो सम्बन्ध समस्यारहित भने छैन । हामीबीच लामो समयदेखि सीमा विवाद कायमै छ । व्यापार घाटा तथा नेपालको आन्तरिक राजनीतिमा भारतीय हस्तक्षेप जस्ता विषयहरु पनि यो सम्बन्धमा जोडिएकै छन् । साथी फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिँदैन भनेजस्तै यावत समस्या र असन्तुष्टिका बाबजुद पनि नेपालको समुन्नतिका निम्ति भारतको सद्भाव अपरिहार्य छ । प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपालले खेलकुदसहितका पूर्वाधार निर्माण,उर्जा व्यापार,थप हवाइ मार्ग,सूचना–प्रविधिको क्षेत्रमा भारतीय सहयोगको अपेक्षा राखेको छ । सार्वजनिक भएका समाचार अनुसार भारत सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा भोटेकोशी बाढीपछिको पुननिर्माणको लागि अनुदानसहितको ठूलो रकम दिन राजी भएको छ तर त्यो रकमले मात्र यो भ्रमणको सफलता मापन हुँदैन ।

निरन्तरतामा क्रमभंगता गर्दै सत्तामा पुगेका बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष कसरी प्रस्तुत हुन्छन् भन्नेले नै यो भ्रमणको सफलता मापन गर्छ । काठमाडौंको मेयर हुँदा लिपुलेकसहितको ग्रेटर नेपालको नक्सा भित्तामा झुड्याएका बालेन्द्रले प्रधानमन्त्री बनेपछि चाहीँ ‘नेपालले पनि भारतीय भूमि मिचेको रहेछ’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिए । कुनै समय भारतीय सिनेमामाथि प्रतिबन्धलगाउने उनको छविप्रति भारतीय संस्थापन त्यत्ति खुसी नभएको अनुमान छ । यसअघि भारतीय विदेश सचिवसँग भेट्न समेत इन्कार गरेको घटनालाई बिर्सेर भारतले विद्रोहबाट सत्तामा आएका बालेन्द्रलाई चिढ्याउने छैन । नजिकका छिमेकीहरुसँगको चिसो सम्बन्ध तथा आफ्नो सुरक्षा चिन्ताका कारण पनि भारतले नेपाललाई साथमा लिनुपर्ने हुन्छ । त्यसमानेमा भारतले बालेन्द्रको मानमनितोमा कुनै कमी हुन दिने छैन । प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हुने बहुप्रतिक्षित भेटवार्ता र त्यसले तय गर्ने नेपाल–भारत सम्बन्धबारे टिप्पणी गर्न हतारो हुन्छ अपितु भ्रमणको सफलता चाहीँ त्यही भेटले निर्धारण गर्ने छ ।यो भ्रमणको क्रममा थाँती रहेका विवादित विषय नछोइने भएको छ । यस मानेमा भ्रमण उपलब्धिमूलकभन्दा पनि सम्बन्ध बिस्तारको अवसरकै रुपमा सीमित हुने निश्चित छ ।समकक्षीसँग प्रधानमन्त्री बालेन्द्रले कम्तिमा नेपालको चासो र चाहनालाई प्रष्ट रुपले राख्ने हिम्मत गर्दै छिमेकीको नाताले भारतको चासो सम्वोधनमा कुनै कञ्जुस्याइँ गरेनन् भने त्यसलाई नै सफलता मान्नुपर्ने हुन्छ । यसअघि नेपालको तर्फबाट भएका राजकीय भ्रमणको क्रममा एक न एक ठाउँमा प्रधानमन्त्रीहरु चुक्दै आइरहेका छन् । कम्तिमा प्रधानमन्त्रीको रुपमा बालेन्द्रले त्यस्तो गल्ती नगरून् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->