म्याग्दी/चर्चित नेपाली सांगीतिक समूह नेपथ्यको प्रस्तुतिमा बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजार संगीतमय बन्यो । बेनीको खुलामञ्चमा आयोजित सांगीतिक कार्यक्रममा गायक अमृत गुरुङले आफ्ना लोकप्रिय गीत सुनाउँदा हजारौँ दर्शकले करिब २ घन्टा मन्त्रमुग्ध भएर सुने ।
म्याग्दी र कालीगण्डकी नदीको दोभान स्थित खुलामञ्चमा आयोजित कार्यक्रममा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की र मुस्ताङबाट समेत दर्शक आएका थिए । ‘आँगनैभरी’ गीतबाट प्रस्तुति सुरु गरेका उनले लगातार आफ्ना चर्चित गीत सुनाउँदै दर्शकलाई मनोरञ्जन दिएका थिए । ‘भेडाको ऊन जस्तो’, ‘रामा रामा’, ‘खान्न म त लामपाते सुरती’, ‘चरी म¥यो सिसैको गोलीले’, ‘जोमसोमे बजारमा १२ बजे हावा सरर’, ‘उडायो रेलैले’, ‘हो कि होइन हो’, ‘जीवन हो घामछाया’ र ‘म नाचेँ छमछमी’ लगायतका गीतमा दर्शकले स्वरमा स्वर मिलाए ।
गीतसँगै अमृतले बेनीसँग जोडिएका पुराना स्मृतिसमेत सुनाए । ३० वर्षअघि जोमसोममा गीतको छायांकन गरी बेनी हुँदै पैदल पोखरा पुगेको प्रसंग उनले सुनाए । उनको प्रस्तुति मनोरञ्जनमा मात्र सीमित रहेन । सामाजिक सद्भाव, मानव कल्याण, राष्ट्रिय एकता र देश निर्माणको सन्देश पनि उनले गीत तथा मन्तव्यबाट दिएका थिए ।
गाउँका घर खाली हुँदै गएको र खेतीयोग्य जमिन बाँझिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले पर्वतको बाँसखर्कमा विदेशबाट फर्किएर सुन्तला खेतीमा लागेका किसानको प्रशंसा गरे । राजनीतिक नेतृत्वलाई जिम्मेवार बन्न र कर्मचारीलाई न्यायपूर्ण राज्य सञ्चालनमा विचलित नभई काम गर्नसमेत उनले आग्रह गरे ।
कार्यक्रमको अन्त्यतिर ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ गीतमार्फत् देश निर्माणमा एकजुट हुन आह्वान गरेका अमृतले ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ प्रस्तुत गर्दा दर्शकको उत्साह थप चुलिएको थियो ।





