शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

अमरसिंह माविमा महायज्ञ सुरु

अमरसिंह माविमा महायज्ञ सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८३, शुक्रबार

पोखरा/अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा बिहीबारबाट महायज्ञ थालिएको छ । यहाँ पितृमोक्ष श्रीमद्भागवत ज्ञान महायज्ञ तथा शृंगारिक महाआरती १७ गतेसम्म चल्नेछ ।

महायज्ञको पहिलो दिन बिहीबार बिहान कलश तथा शोभायात्रा निकालिएको छ । विभिन्न बाजागाजा, भजनकीर्तनसहित नगर परिक्रमा गरी जल तथा फूलपाती महायज्ञस्थलमा स्थापना गरेर महायज्ञको उद्घाटन गरिएको छ । बिहीबार कलश यात्रासहित औपचारिक उद्घाटन गरिएपनि ज्ञान प्रवचन भने शुक्रबारदेखि सुरु हुनेछ ।

लालीगुराँस एकता युवा क्लबको मुख्य आयोजनामा अमरसिंह माध्यमिक विद्यालयका विपन्न तथा असहाय विद्यार्थीको शैक्षिक सहयोगार्थ महायज्ञ भएको हो । महायज्ञ अवधिभर प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म श्रीमद्भागवत पाठपारायण, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, प्रह्लादशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजनलगायत धार्मिक कार्यक्रम सञ्चालन हुनेछन् ।

पितृको फोटो राखी पितृ तर्पण, तुलादान, विवाह, व्रतबन्ध, गुन्यूचोली तथा आरती अर्पणसमेत गरिने आयोजक क्लबका अध्यक्ष कृष्ण थापामगरले जानकारी दिए । बिहीबार गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले महायज्ञको औपचारिक उद्घाटन गरे । उनले युवाको धार्मिक अभिरुचिको प्रशंसासमेत गरे ।

महायज्ञमा पण्डित शुकदेव शरणबाट संगीतमय श्रीमद्भागवत ज्ञान प्रवचन तथा देवलीला प्रस्तुत गरिनेछ । उपवाचकमा श्रीकृष्णशरण आचार्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->