पोखरा/पोखरा उद्योग वाणिज्य संघ र गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा पोखराका उद्योगी÷व्यवसायीका निम्ति वित्तीय सशक्तीकरण र उद्यमशीलता विकासबारे अभिमुखीकरण आयोजना गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संघको वर्तमान कार्यसमिति,विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि एवं संघका साधारण सदस्यको सहभागिता रह्यो ।
संघअध्यक्ष गौतमले मोफसलमा स्थापित गरिमा विकास बैंकले पुँजी निर्माण,उद्यमशीलता विकास तथा वित्तीय सशक्तीकरणका निम्ति गरेको योगदान सराहनीय भएको बताइन् । सर्वसाधारणका निम्ति सहज पहुँचबाट नै बैंक तथा वित्तीय संस्था सफल बन्ने धारणा राख्दै अध्यक्ष गौतमले बैंक र वित्तीय संस्थाबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताइन् ।
उनले नेपाल राष्ट्र बैंकबाट पछिल्लो समय जारी आर्थिक सूचाङ्कहरू सकारात्मक भए पनि निक्षेप बढ्दा किन निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढ्न सकेको छैन भन्ने प्रश्नको कारण खोज्नुपर्ने धारणा राखिन् ।उद्योगी, व्यवसायीले गरिमा विकास बैंकको वित्तीय अवस्थादेखि बैंकले किन एकाएक ब्याज बढाउँछन्, बिना धितो कर्जाको कार्यान्वयन किन हुँदैन जस्ता प्रश्न राखेका थिए ।
खराब कर्जा,बैंकबाट धितो लिलामी प्रक्रिया,सेवा शुल्कलगायतका विषयमा पनि त्यहाँ प्रश्न उठेका थिए । गरिमाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले विकास बैंकले निक्षेपकर्ताको निक्षेप सुरक्षा गर्दै न्यूनतम् दरमा कर्जा प्रवाह गरिरहेको बताए ।
देशका विभिन्न ठाउँमा १ सय २६ वटा शाखा रहेको बैंकले खासगरी साना तथा मझौला उद्योगीका निम्ति कर्जा प्रवाहमा विशेष जोड दिँदै आएको छ । प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार सञ्चालन हुने प्रष्ट पार्दै बढी नाफा र लुकाएर शुल्क लिने जस्ता काम गरिमाले नगर्ने बताए ।
उनले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा कम्तीमा सम्झौतमा लेखिएका विषय पढेरमात्र दस्तखत गर्न आग्रह पनि गरे ।बैंकका डेपुटी कार्यकारी प्रमुख अनिल रेग्मीले गरिमाको वर्तमान वित्तीय अवस्थाबारे जानकारी दिँदै बैंकको ठूलो संख्यामा पोखरामा ग्राहक रहेको जानकारी गराए ।
विकास बैंकहरूले प्रदान गर्ने सबै सेवा बैंकले दिइरहेको र वाणिज्य बैंकले प्रवाह गर्ने सेवा पनि गरिमाबाट पाइने बताउँदै उनले गरिमासँग कारोबार गर्न उद्योगी, व्यवसायीसमक्ष आग्रह पनि गरे । संघका निवर्तमान अध्यक्ष गोकर्ण कार्कीले गरिमाले सेवा प्रवाहबाटै आफूलाई प्रमाणित गरेको बताउँदै उद्यमशीतता विकास,रोजगारी सिर्जना र देशको कुल ग्राहस्थ उत्पादन बढाउने क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा संघका महासचिव सुदीप प्रधानांग, कार्यसमिति सदस्य र केशव ढकालले पनि बोलेका थिए ।





