
म्याग्दी । कालीगण्डकी नदी जलाधार क्षेत्रका जिल्लामा नदी नियन्त्रण, बस्ती संरक्षण तथा सिँचाइसम्बन्धी आयोजना सञ्चालन गर्न म्याग्दीको बेनीमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना गरिएको छ ।
कार्यालयले म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसहित कालीगण्डकी नदी जलाधार क्षेत्रका विभिन्न जिल्लामा आयोजना कार्यान्वयन गर्नेछ । कार्यालयको कार्यक्षेत्रमा कालीगण्डकी नदीले छोएका गुल्मी, स्याङ्जा, तनहुँ, कास्कीको मादीखोला क्षेत्र तथा नवलपुरका केही क्षेत्रसमेत समेटिएका छन् ।
आयोजना व्यवस्थापन कार्यालयका प्रमुख प्रेमहरि पराजुलीका अनुसार कार्यालयमा वरिष्ठ डिभिजनल इन्जिनियरको नेतृत्वमा तीन जना इन्जिनियर, तीन जना सबइन्जिनियर तथा एकरएक जना लेखा अधिकृत, नायब सुब्बा, कार्यालय सहयोगी र सवारी चालकको दरबन्दी रहेको छ ।
यसअघि धौलागिरि क्षेत्रमा नदी नियन्त्रण तथा बस्ती संरक्षणसम्बन्धी आयोजना पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयमार्फत सञ्चालन हुँदै आएका थिए । पोखराको कार्यालयबाट सञ्चालन हुँदै आएका बेनी बजार संरक्षणलगायतका आयोजना तथा कार्यक्रम अब बेनीस्थित नयाँ कार्यालयबाट कार्यान्वयन हुनेछन् ।
विभाग र मन्त्रालयबाट कार्यक्रम तथा बजेट हस्तान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख पराजुलीले बताए । बेनीको शिक्षामार्गमा भाडाको घर लिएर कार्यालय स्थापना गरिएको उनले जानकारी दिए ।
कार्यालय सञ्चालनका लागि घरभाडा सम्झौता, फर्निचर तथा कम्प्युटरलगायत आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको छ । उनका अनुसार १५ दिनभित्र आवश्यक व्यवस्थापन पूरा गरी कार्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
जिल्लामै कार्यालय स्थापना भएपछि नदी नियन्त्रण तथा बस्ती संरक्षणसम्बन्धी आयोजना छनोट, कार्यान्वयन र मर्मतसम्भारका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले बताईन ।





