पोखरा / सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।
बिहिबार भएको खेलमा कर्णाली प्रदेशलाई ५-० ले गराउँदै जित हासिल गरेको हो । गण्डकी संगको हारसंगै लगातार तेस्रो हारसहित सह–आयोजक कर्णाली प्रदेश पुरुष फुटबलबाट बाहिरिएको छ।
बिहीबार प्रतियोगिताको तेस्रो दिन भएको खेलमा फराकिलो हार बेहोरेसँगै कर्णालीको यात्रा लिग चरणमै समाप्त भएको हो।
जित्नैपर्ने दबाबमा मैदान उत्रिएको कर्णालीले गण्डकीविरुद्ध गोल गर्न सकेन।
गण्डकीले सुरुवातदेखि नै कर्णालीमाथि दबाब बनाएको थियो। खेलको १६औं मिनेटमा लक्षु थापाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए। त्यसपछि आशिष गुरुङले २५औं र ३३औं मिनेटमा लगातार दुई गोल थपे। पहिलो हाफ सकिँदा गण्डकी ३–० ले अघि थियो।
दोस्रो हाफमा पनि गण्डकीले आक्रामक खेललाई निरन्तरता दियो। खेलको ५७औं मिनेटमा सुदीप गुरुङले गोल गर्दै टोलीको अग्रता ४–० मा पुर्याए। खेलको अतिरिक्त समयमा टेकराज गुरुङले थप एक गोल गरेपछि गण्डकीले ५–० को फराकिलो जित सुनिश्चित गर्यो।





