भोटकोशी बाढी गएको ठ्याक्कै ३ महिना भएको छ । १५ सयको नागरिकको ज्यान लिएको तथा करिब ५ हजारलाई बेपत्ता बनाएको भोटेकोशी–त्रिशूली बाढीबाट विस्थापित हुनेको संख्या पनि उत्ति नै छ । भोटेकोशी र त्रिशूली आसपासका सबैजसो बस्ती बगरमा परिणत भएका छन्;पुरिएका घरमा आफन्तको लास हुनसक्ने स्थानीयको भनाइ छ तर उद्धारका कामहरू करिब रोकिएका छन् । बाढीपछिका केही दिन लर्को लागेर राहत वितरणको काम भए पनि दशैंयता त्यस्ता गतिविधि ठप्प छन् ।
सरकारले बाढीपीडितको लागि राहत र पुनस्र्थापनाको प्याकेज घोषणा त ग¥यो तर व्यवहारमा त्यसले पीडितलाई राहत दिएन । पुल बगाएर सम्पर्क विच्छेद भएका बस्तीहरु जोड्न, बगरमा परिणत भएको थातथलोमा नयाँ संरचना खडा गर्दै नयाँ जीवन सुरु गराउन सरकारले ढिला ग¥यो । जाडो मौसम सुरु भएको छ । राज्यले पुनस्र्थापनामा चासो नदेखाएपछि त्रिशूली बजारका विस्थापितले विद्युत प्राधिकरणको जग्गा सम्याएर टहरो बनाएका छन् । तर,निर्दयी सरकारले त्यहाँको विद्युत आपूर्ति नै ठप्प पारिदिएको छ ।
स्थानीयका अनुसार सरकारले पुनस्र्थापनामा सहयोग त केघोषित किरिया खर्चसमेत दिएको छैन । अर्कोतर्फ बेपत्तालाई राज्यले मृत घोषणा गरिसकेको छैन भने शवहरू परिवारलाई हस्तान्तरण नहुँदा अन्तिम संस्कार रोकिएको छ । यी यावत ढिलाइमा राज्यको गैरजिम्मेवारीपन झल्किएको छ ।
बाढीपीडितको उद्धार,राहत र पुनस्र्थापनामा कुनै कसर बाँकी नराख्ने घोषणा गरेको सरकारको व्यवहार पीडितमैत्री देखिएको छैन । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा देश–विदेशबाट ठूलो रकम प्राप्त भएको छ । त्यो रकम थन्किएर बसेको छ । सरकारले तत्काल सो रकम पुनस्र्थापना र पुननिर्माणको लागि खर्चनु पर्छ । संघीय सरकारले पुनस्र्थापनामा प्रदेश र स्थानीय तहसँग समन्वयसमेत गरेको छैन । जसका कारण समस्या झन जटिल बनेको छ ।
अहिले भोटेकोशी र त्रिशूली क्षेत्रका बाढीपीडितले बाटो,पुलसहित बगरमा पुनः नयाँ संरचना खडा गर्ने चाहना राखेका छन् । आफ्नो थातथलोमा पुनः जीवन सुरु गर्न चाहने ती नागरिकलाई अनदेखा गर्नु भनेको सरकार दायित्वविमुख हुुनु हो । राज्य अभिभावक हो । हरेक नागरिकको संरक्षण उसको दायित्व हो । राज्यले यो वा त्यो तर्क गरेर नागरिकलाई पीडामा राख्न मिल्दैन । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले जाडो मौसम सुरु भएसँगै पीडितहरुको दिनचर्या झन कष्टकर बन्ने प्रक्षेपण गर्दै उनीहरुलाई थप सहयोग आवश्यक पर्ने बताएको छ । राज्यले विश्व खाद्य संगठनको कुरा पनि सुनोस् । बाढीपीडितहरु यो जाडोमा कठ्याङ्ग्रिएर मृत्युवरण गर्न अभिषप्त नबनून् ।


