पोखरा/युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो दिन ३ खेल भएका छन् ।
पहिलो खेलमा गण्डकीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सोझो सेटमा हराएको छ । पहिलो र दोस्रो सेट समान २५–१७ ले जितेको गण्डकीले तेस्रो सेट १९–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले जितेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक दोस्रो खेलमा एपिएफले नेपाल पुलिसलाई ३–२ को सेटमा हराएको छ । पहिलो सेट २९–२७ ले जितेको एपिएफ दोस्रो सेटमा १८–२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा २५–१८ ले जित हासिल गरेपनि चौथो सेट २२–२५ ले गुमाउन पुगेको थियो । अन्तिम तथा निर्णायक सेटमा एपिएफले १५–१३ को जित हासिल गरेको हो ।
अन्तिम खेलमा आयोजक किङ्स क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पाखा लगाएको छ । आयोजकले २६–२४, २५–१८ र २५–२० सेटमा हराएको हो ।
प्रतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले गरेकी थिइन् । राउन्ड रोबिन फम्र्याटमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र सान्त्वनालाई ५० हजार दिइने क्लबका अध्यक्ष अशोक गुरुङले बताए । सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार दिइनेछ ।





