पोखरा/दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताका ३२ खेलका ३ सय ८४ इभेन्ट समावेश छन् ।
प्रतियोगितामा सात प्रदेशसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र एनआरएनए गरी ११ टोलीको सहभागिता छ । ३ सय ८४ स्वर्ण, ३ सय ८४ रजत र ५ सय ६९ कास्य गरी कुल १ हजार ३ सय ३७ पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा गण्डकी प्रदेशको समेत सहभागिता छ ।
गण्डकी प्रदेशले ३२ मध्ये ३१ खेलका सबै इभेन्टमा सहभागिता जनाउँदैछ । गण्डकीले कुस्तीबाहेक सबै खेलमा सहभागिता जनाएको हो । गण्डकीबाट ६ सय २६ खेलाडीको सहभागिता छ । यस्तै, ७९ प्रशिक्षक, ४० जना व्यवस्थापक तथा टोली नेता र उपनेता गरी७ सय ६० जना जानेछन् ।
गण्डकीबाट टेनिस, पौडी, महिला बास्केटबलको टोली, क्रिकेट टोली, जिम्न्याष्टिक, फुटबलको पुरुष टोली, फुल कनट्याक कराते र बक्सिङको टोली कर्णाली पुगिसकेको छ । शारीरिक सुगठनको टोली बुधबार जाँदैछ ।
यस पटक झिनो आशासहित गण्डकी प्रदेशको टोली कर्णाली पुगेको छ । गण्डकीले टेनिस, आर्चरी, पुरुष भलिबल र फुटबलसँगै मार्सलआट्र्समा पदक ल्याउने सम्भावना छ । चार वर्षअघि पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशऐतिहासिक रुपमा प्रदेशतर्फ प्रथम हुन सफल भएको थियो ।
समग्रमा चौथो स्थानमा रहेपनि प्रदेशतर्फ गण्डकीले उत्कृष्ट नतिजा हाँसिल गरेको थियो । २०७९ मंसिरमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ७२ स्वर्ण पदकसहित आर्मीच्याम्पियन बनेको थियो । त्यो बेला ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदकसहित ३ सय ७० पदक जितेको थियो । सातौं र आठौं संस्करणको उपाधि पनि आर्मीले नै जितेको थियो ।
नवौंमा ६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसमेत २ सय १८ पदकसहित एपिएफ क्लब दोस्रो तथा ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदकसहित १ सय ९५ पदकका साथ नेपाल पुलिस क्लब तेस्रो भएका थिए । ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित कुल १ सय २० पदक जितेको गण्डकी चौथो भएको थियो ।
बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदकसहित १ सय ४५ पदक हात पारेर पाँचौं, प्रदेश १ ले १० स्वर्णसहित ८३, सुदूरपश्चिमले १० स्वर्णसहित ६३, एनआरएनएले पनि १० स्वर्णसहित २६ पदक जितेको थियो । लुम्बिनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेस प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक जितेको थियो ।
२३ खेल सुर्खेत
मंगलबारदेखि पाँच खेलको प्रतिस्पर्धा सुरू भएको छ । महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल सुरु भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ३२ खेलमध्ये २३ खेल सुर्खेतमै केन्द्रित हुनेछन् । बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुनेछन् ।
पदक विजेतालाई पुरस्कार
यस संस्करणमा पदक विजेता खेलाडीले नगद पुरस्कारसमेत पाउने भएका छन् । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपटक रजत र कास्य पदक पाउने खेलाडीका लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
व्यक्तिगततर्फ स्वर्ण जित्ने खेलाडीले २० हजार, रजत जित्नेले १५ हजार तथा कास्य जित्नेले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, टिमतर्फ स्वर्ण जित्नेलाई १५ हजार प्रतिखेलाडी, रजतलाई १० तथा कास्यलाई ८ हजार पुरस्कार मिल्नेछ। रजत र कास्य जित्ने खेलाडीलाई पहिलो पटक पुरस्कार व्यवस्था गरिएको हो ।





