बागलुङ/हरिबोधिनी एकादशी मेलाको अबसरमा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगितामा गलकोट नगरपालिकाको नरेठाँटी भलिबल टिमले जितेको छ ।
बिहिवारदेखि शुरु मेला खेल कार्यक्रम सँगै आइतवार समापन भएको छ । आइतवार गलकोटले जैमिनी नगरपालिकालाई खेल जितेर १ लाख ५० हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र पायो । जैमिनीले दोश्रो भएर १ लाख रुपैयाँमा चित्त बुझायो ।
आइतवार बागलुङ नगरपालिका ४ को निरयघाटमा भएको प्रतिस्पर्धामा शुरुवाती जित निकालेको जैमिनीले त्यसपछिका लगातार तीन खेलमा हार व्यहो¥यो । लगातार तीन खेल गलकोटको पोल्टामा जाँदा जैमिनी स्तब्ध भयो । पहिलो खेल २६–२४ को अंकले अगाडि रहेको जैमिनीलाई गलकोटले लगातार २७–२५, २९–२७ र २५–२१ को अंकले जित निकालेको हो । तेस्रो स्थान पाएको कुश्माले ५० हजार र चौथो स्थान पाउने बागलुङ नगरपालिकाले २५ हजार नगद पुरस्कार पायो । गलकोटका कुश्मन थापा उत्कृष्ठ खेलाडी घोषित भै ५ हजार नगद पुरस्कार पाए । खेलमा १२ टिम सहभागि थिए ।
शनिबार भएको सेमिफाईनल खेलमा जैमिनी नगरपालिकाले कुस्मा नगरपालिका पर्वत र गलकोटले बागलुङ नगरपालिकालाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । जैमिनीले फाइनल प्रवेशकालािग कुस्मालाई २७–२५ र २५—२१को अंकले जित निकालेको थियो । दोस्रो सेमिफाइनल खेलमा गलकोटको नरेठाँटी भलिबल टिमले बागलुङ नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै जैमिनी नगरपालिकासँग उपाधि भिडन्त पक्का गरेको हो । गलकोटले २५—२१ र २५—२१ अंकले खेल जितेको थियो । बिजयी टिमलाई जेष्ठ नागरिक दुर्गाबहादुर आचार्यले पुरस्कार दिए ।
मेलामा भजनकृतम, फूलको डोरी तार्ने, बिपत जन्य प्रतिकार्य अभ्यास, खेलकुँद र शालीग्राम प्रर्दशनी समेत गरिएको थियो । मेलाबाट आउने आयले यहाँ संचालित मानवसेवा आश्रमलाई सहयोग समेत गरिने आयोजकले बताए । गत बर्ष महायज्ञ लगाएर यहाँ मानवसेवा आश्रमको भवन निर्माण भैरहेको छ । आश्रममा ७० जना आश्रित छन् ।





