पोखरा / कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिकलेसमा एकै दिन १ हजार ५३२ पर्यटक पुगेका छन् ।
सिकलेसमा शनिबार (२०८३ मंसिर ६ गते) १ हजार ५३२ पर्यटकले भ्रमण गरेको तथ्यांक सार्वजनिक भएको हो । तीमध्ये ७९६ पुरुष र ७३६ महिला रहेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये पाँच जना विदेशी नागरिक हुन् ।
पर्यटक आगमन बढेसँगै सिकलेसको प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणलाई स्वच्छ तथा सुरक्षित राख्न स्थानीयले आग्रह गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सिकलेस भ्रमण गर्दा फोहोर जथाभावी नफाल्न, उचित स्थानमा विसर्जन गर्न र वातावरण संरक्षणमा जिम्मेवार बन्न पर्यटकलाई अनुरोध गरिएको छ ।
पर्यटकीय गन्तव्यको सुन्दरता कायम राख्न ‘पदचिह्न मात्र छाडौं, सम्झना मात्र लिएर जाऔं’ भन्ने सन्देशसहित स्थानीयले पर्यटकलाई स्वच्छ पर्यटनमा सहयोग गर्न आग्रह गरेका छन् ।





