पर्वत/लोकप्रिय गायक प्रकाश दूतराजको सांगीतिक प्रस्तुतिमा पर्वत सदरमुकाम कुश्मा बजार शनिबार साँझ संगीतमय बन्यो । उनका चर्चित गीतको धुनसँगै कुश्मामा भेला भएका बालबालिकादेखि युवायुवती र संगीतप्रेमी दर्शकहरू निकै बेर झुमेका छन् ।
शिवालय युवा विकास मञ्च कुश्माले आयोजना गरेको ‘कुश्मा म्युजिक फेस्टिभल २०८३’ मा प्रस्तुति दिन पर्वत आएका गायक दूतराजले आफ्ना लोकप्रिय तथा पुराना गीतहरू सुनाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका हुन् । उनले ‘लाहुर जाने रेलैमा’, ‘चिसोमा चिसो’, ‘छैन र माया’, ‘रिमै’ लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शकले गीतसँगै स्वर मिलाएका थिए ।
दूतराजको मौलिक गायनशैली, लोकलयमा आधारित गीत र प्रस्तुतिले दर्शकलाई कार्यक्रममा बाँधेर राखेको थियो । उनका गीतमा बालबालिकादेखि युवापुस्तासम्मका दर्शक झुमिरहेको दृश्यले कुश्मा बजारको माहोल नै सांगीतिक बनेको थियो ।
कार्यक्रममा ८८४८ ब्यान्डले समेत आफ्नो सांगीतिक प्रस्तुति राखेको थियो । यस्तै, पर्वतकै गायक सन्दीप बस्यालले पनि आफ्ना सांगीतिक कोसेली प्रस्तुत गर्दै स्थानीय दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । स्थानीय प्रतिभा र राष्ट्रियस्तरमा लोकप्रिय कलाकारको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
पर्वतमा अघिल्लो वर्ष आयोजित पर्वत महोत्सवपछि लामो समयसम्म ठूला सांगीतिक कार्यक्रम आयोजना हुन सकेका थिएनन् । लामो अन्तरालपछि आयोजना भएको सांगीतिक कार्यक्रममा प्रकाश दूतराजजस्ता लोकप्रिय कलाकारको उपस्थितिले दर्शकको आकर्षण बढाएको देखिन्थ्यो ।
सांगीतिक मनोरञ्जनसँगै स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित कुश्मा म्युजिक फेस्टिभलले पर्वतको सांगीतिक वातावरणलाई पुनः चलायमान बनाएको छ ।





