पोखरा/राउटे समुदायका प्रतिनिधिले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गरेका छन् । सुर्खेतबाट आएको ३ सदस्यीय टोलीले मुख्यमन्त्रीलाई मंगलबार दिउँसो कार्यकक्षमै भेटेको हो ।
भेटका क्रममा उनीहरूले पाण्डेलाई ‘कोटी’ अर्थात् कचौरा उपहार दिएका छन्, यो कचौरा काठबाट बनाएर उनीहरू आफैंले लिएर आएका हुन् । राउटे मुखिया प्रकाश शाहले मुख्यमन्त्री पाण्डेलाई आफ्नो समुदायबारे जानकारी गराएका थिए ।
उनले राउटेको वर्तमान अवस्था, दैनिकी, जीवनशैली र भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए । राउटे समुदाय नेपालको मौलिक पहिचान, विशिष्ट संस्कृति र परम्परा भएको समुदाय हो । मुखिया शाहीले अहिले राउटेको संख्या १ सय ३४ जना भएको बताए ।
मुख्यमन्त्री पाण्डेले उनीहरुको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने बताए । ‘उहाँहरूको मौलिक जीवनशैली, भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, सुरक्षा तथा आधारभूत आवश्यकतामा सहज पहुँच सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो,’ पाण्डेले भने ।
अन्तिममा मुख्यमन्त्री पाण्डेले राउटे प्रतिनिधिलाई बाटो खर्चका रुपमा ५० हजार सहयोग गरेका थिए । राउटे समुदाय यसरी नै ठाउँठाउँमा सहयोगका लागि पुग्छन् । यसअघि चाडपर्वका बेला २ पटक गण्डकी सरकारसँग राउटेका प्रतिनिधि आइसकेका छन् ।





