बुधबार, मंसिर ९ २०८३

बुधबार, मंसिर ९ २०८३
  • ९ मंसिर २०८३ , बुधबार
  • November 25 2026

खेलमा पोखरा–इविन सहकार्य

खेलमा पोखरा–इविन सहकार्य


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८३, बुधबार

पोखरा/चीनको इविन नगरको प्रतिनिधिमण्डल र पोखरा महानगरपालिकाबीच खेलकुद विकास तथा दुईपक्षीय हित प्रवद्र्धनका विषयमा छलफल तथा अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङलगायतका जनप्रतिनिधि तथा महानगरपालिकाका अधिकारीसँग इविन नगरबाट आएको प्रतिनिधिमण्डलले भेटघाट तथा छलफल गरेको हो ।

पोखरा र इविनबीच भगिनी सम्बन्ध छ । छलफलका क्रममा दुवै नगरबीचको भगिनी सम्बन्धलाई थप प्रभावकारी बनाउँदै खेलकुद, पर्यटन, संस्कृति तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय उठेको छ । विशेषगरी खेलकुद क्षेत्रको विकास, अनुभव आदानप्रदान तथा दुवै नगरका खेलाडी र खेलकुदसम्बन्धी संस्थाबीच सहकार्य प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको छ ।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा र इविनबीच स्थापित भगिनी सम्बन्धलाई उपलब्धिमूलक बनाउन आपसी सहकार्य र साझेदारीलाई थप विस्तार गर्नुपर्ने बताए । उनले पोखरा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमन वृद्धि, पर्यटन व्यवसायमा साझेदारी तथा खेलकुद पर्यटनको विकासमा समेत सहकार्य गर्न सकिने सुनाए ।

उपप्रमुख गुरुङले भगिनी सम्बन्धले दुई नगरका नागरिकबीच आपसी सद्भाव, मित्रता र सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पु¥याउने विचार राखिन् ।उनलले विशेषगरी महिला तथा युवा सहभागितासहित खेलकुद र सामाजिक विकासका क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।

इविन नगरबाट आएको प्रतिनिधिमण्डलमा लिउ नाइगुई, चेन लङ, चेन झेङ, ये पिङ र झेङ चेङबिन लगायत छन् । पोखरा र चीनको इविन नगरबीचको भगिनी सम्बन्धलाई थप सुदृढ गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन तथा खेलकुद क्षेत्रको विकासमा आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले भएको यस भेटघाटलाई दुई नगरबीचको सम्बन्ध विस्तारको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->