पोखरा/नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा पोखराको फेवाताल किनारमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको छ । रोटरी क्लबहरूको आयोजनामा भएको कार्यक्रममा नेपाल र जापानका कलाकारहरूले आ–आफ्नो देशका मौलिक कला, संस्कृति, संगीत तथा नृत्य प्रस्तुत गरे ।
दुवै देशका कलाकारको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई नेपाल–जापान मित्रता, सांस्कृतिक एकता र आपसी सद्भावको उत्सवका रूपमा प्रस्तुत गरेको थियो ।कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल र जापानबीचको सम्बन्ध दशकौँ पुरानो मित्रता, विश्वास र सहकार्यमा आधारित रहेको बताए ।
प्रमुख आचार्यले भने,‘नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धले ७० वर्ष पूरा गर्नु दुई देशका लागि ऐतिहासिक र गौरवपूर्ण अवसर हो । यो सम्बन्ध सरकार र कूटनीतिक तहमा मात्र सीमित छैन, जनस्तरको आत्मीयता, सांस्कृतिक आदानप्रदान, पर्यटन, शिक्षा र विकास सहकार्यसम्म विस्तार भएको छ । यस्ता सांस्कृतिक कार्यक्रमले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महŒवपूर्ण भूमिका खेल्छन् ।’
उनले पोखरा नेपालको पर्यटन राजधानी भएकाले नेपाल–जापान सम्बन्धलाई पर्यटन प्रवद्र्धन र सांस्कृतिक आदानप्रदानसँग जोडेर थप उपलब्धिमूलक बनाउन सकिने बताए । जापानी पर्यटकका लागि पोखरा आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै उनले पोखराको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राखे ।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सात दशक लामो यस सम्बन्धका क्रममा जापान नेपालको विकास साझेदारका रूपमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा मानव संसाधन विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ । फेवातालको किनारमा आयोजित सांस्कृतिक कार्यक्रमले नेपाल र जापानबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक विविधता र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिएको छ ।





