पोखरा/हेमजाको साहित्यिक गरिमा, प्रकृतिक सौन्दर्य र सिर्जनात्मक सम्भावनालाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यका साथ भएको दोस्रो हेमजा महोत्सव सकिएको छ । पोखरा–२५, हेमजामा शनिबार सुरु भएको महोत्सव विभिन्न कार्यक्रमसहित आइतबार सकिएको हो ।
महोत्सवको पहिलो दिन कविता, साहित्यिक पर्यटनको सम्भावना, लोकसंस्कृतिको धुन भजनमा हेमजाबारे चर्चा गरिएको थियो । दोस्रो दिन मुक्तक, कविता र लघुकथावाचनका साथमा कविता हुँदै आख्यान र गैरआख्यानबारे छलफल भएको छ ।
महोत्सव समापन समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा जुन हिसाबले हेर्दै गयो त्यही हिसाबले देखिने बताए । उनले कुनै पनि कुराको परिकल्पनासहित सार्वजनिक रुपमा घोषणा गर्दा त्यो काम जसै गर्नुपर्नेमा जोड दिए ।
हेमजालाई काव्य नगरी रुपमा घोषणा गरेपछि सोही अनुसार हेमजा साहित्य प्रतिष्ठानले काम गर्नुपर्नेमा उनको जोड छ । ‘आज हामी यहाँ साहित्यक चर्चा गरिरहेका छौं, सायद नेपालको साहित्यका लागि यो निकै महत्वपूर्ण छ । कुनै कुरा गर्छु भनी लाग्नुभयो भने त्यो कुरा नगरे सुखै छैन,’ आचार्यले भने, ‘सार्वजानिक रुपमा यो क्षेत्रलाई काव्य नगरीका रुपमा सुशोभित गराउनका लागि केके कुरा तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्नेमा हो योजना बनाएर अगाडि बढ्नुस्,त्यसमा महानगरपालिकाको साथ रहने छ ।’
महानगरको काम पूर्वाधार निर्माणमात्र नभई साहित्य, सांस्कृति प्रवर्धन पनि भएको उनको भनाइ छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव रोशन शेरचनले नेपाली साहित्यमा गण्डकी क्षेत्रको योगदान अतुलनीय रहेको जनाएका छन् । शेरचनले गण्डकीमा कौंडा, सालैजो, चुड्का, ठाडोभाकालगायत बढी प्रचलनमा रहेको जनाए ।
पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले महोत्सवलाई महत्वपूर्ण उत्सवको संज्ञा दिँदै यसले हेमजाको पहिचानलाई विश्वमाझ पु¥याउने विश्वास व्यक्त गरे । महोत्सव निर्देशक शंकरमणि त्रिपाठी (छन्दमणि)ले साहित्य महोत्सवको पहिलो संस्करणमार्फत् हेमजालाई काव्यनगरी घोषणा गरिएको स्मरण गरे ।
हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनील गायकले हेमजाको साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महोत्सव कोसेढुंगा बनेको जनाए ।




