शक्तिशाली प्रधानमन्त्रीको सचिवालयले राज्यको सबैजसो शक्ति परिचालन गरेको छ । प्रहरीले गर्नुपर्ने काम पनि अहिले प्रधानमन्त्री कार्यालयबाटै हुने र प्रहरीलाई जानकारीमात्र आउन थालेको सार्वजनिक भएको छ । भ्रष्टाचारको अनुसन्धान र कारवाहीको अख्तियारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग छायाँमा परेको छ । साना साना माछा समात्ने र भ्रष्टाचारका ठूला मुद्दामा सिन्को भाँच्न नसकेकोमा आलोचित यो संस्थामाथि सरकाले दबाब सिर्जनामात्र गरेन; आफू अनुकूलका निर्णय गराएको पनि छिपेको छैन । आलोचनामुक्त नभए पनि अख्तियार संवैधानिक निकाय हो र यसलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्छ । तर, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका आयुक्तहरूको मानमर्दन र तेजोवधबाट यो सरकारले अख्तियारलाई गिजोलिदिएको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दा होस् वा भ्रष्टाचारका विषय नै किन नहुन्, प्रधानमन्त्री कार्यालयबाट सक्रियता भइरहेको छ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा प्रकरण, इनम सापकोटासँग बहालवाला न्यायाधीशहरूले भेटेको स्वीकारोक्ति तथा न्यायाधीशमाथि महाभियोगको हल्लाले सर्वोच्चलाई पनि छोएको छ । प्रहरी प्रमुख हटाएर अर्कालाई जिम्मेवारी प्रदानबाट प्रहरी संयन्त्र सिंहदरबारबाट झन त्रसित छ भन्ने पुष्टि भइसकेको छ । संवैधानिक अंगमाथि प्रधानमन्त्री सचिवालयको छाँयाले संवैधानिक अंगलाई विस्तारै कमजोर तुल्याउँदै लोकतन्त्र नै मासिने त हैन भन्ने आशंकासमेत पलाउन थालेको छ ।
यस्तो परिस्थितिमा कसरी प्रधानमन्त्रीको सचिवालयबाट दिइने गैरकानुनी आदेशलाई पन्छाउने र आफूलाई निश्पक्ष रुपमा खडा गर्ने जिम्मेवारी संवैधानिक र सुरक्षा निकायको पनि हो । अतः यो विषमतामा अख्तियार जस्ता संवैधानिक अंगले आफ्नो उपस्थिति पुष्टि गर्नुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नामैले पनि अख्तियारी पाएको मानिसले गर्ने दुरुपयोग छानबिन गर्न बनेको निकाय हो । यसको अनुसन्धानको दायरा पनि कानुनले फराकिलो नै दिएको छ भने अधिकार पनि झण्डै असीमित छ । उसले चाह्यो भने जो कोहीलाई पनि आफ्नो अनुसन्धानको दायरामा ल्याउन सक्छ । नसक्ने भनेको सदन र सेनाका गतिविधिमा मत्र हुो ।
भारतमा अन्ना हजारेले नेपालको अख्तियार जस्तै लोकपाल विधेयक माग गरेर आन्दोलन नै गरेको सम्झने हो भने पनि नेपालको अख्तियारलाई काम नै गर्ने हो भने कतैबाट पनि रोकतोक छैन भन्दा हुन्छ । हो अख्तियारले आफ्नो यही अधिकार क्षेत्रबारे मनन ग¥यो र वर्तमान सरकारका शक्तिशालीहरु पनि कानुनभन्दा माथि हुँदैनन् भन्ने सन्देश प्रवाह गर्नुपर्छ । कार्यपालिकाको छाँयाबाट बच्नुपर्छ र व्यक्तिगत लाभहानीका पक्षबाट पर बस्नुपर्छ । यसको कार्यक्षेत्र खुम्च्याउन खोजियो भने त्यसको प्रतिकार जनताले नै गर्छन् ।



