बागलुङ/गएको असोज ११ गते बागलुङ, पर्वत र म्याग्दीमा ठूलो धनजनको क्षति हुने गरी बाढी, पहिरो आयो । बागलुङमा मात्रै १३ जनाको ज्यान गयो । कालीगण्डकी बाढी र निसीखोलाको बाढीले एक सयभन्दा बढी घर बगे । करोडौंको सम्पत्ति नोक्सान भयो । अहिले पनि सयौं नागरिक घरबार विहीन भएका छन् ।
यो घटनामा तत्काल खोजी, उद्धार गरिए पनि पुनर्निर्माणको थालिएको छैन । अहिले पनि पीडितहरु आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुको पुनस्र्थापना अबको मुख्य चुनौती हो । जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य पुनर्निर्माण र पुनस्र्थापनामा अब ढिला गर्न नहुने बताउँछन् ।
‘अब सबै मिलेर पीडितको घाउमा मलम लगाउने र पुनस्र्थापनामा लाग्नुपर्छ’, आचार्यले भने, ‘अब पालिका तहबाट छिटो सिफारिस आउनुपर्छ ।’ पालिकाले स्रोत दिएर पुनस्र्थापना पनि गर्न सक्ने उनले बताए । संघीय सरकारबाट माग्ने हो भने समयमा सिफारिस ल्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने उनको भनाइ छ ।
विपत जोखिम न्यूनीकरण अवधारणा तथा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा सरोकारवालाले विपदपछि दिगो व्यवस्थापनमा लाग्नुपर्ने निष्कर्षसमेत निकालेका छन् । कार्यक्रममा बागलुङका सबै स्थानीय तहका जनप्रतिनिधि तथा विपत हेर्ने फोकल पर्सनहतथा पर्वत र म्याग्दीका समेत प्रतिनिधि सहभागी थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरकारी अधिकारीको क्षमता अभिवृद्धि गर्ने, सुरक्षित आवास योजना बनाउने र विपद् जोखिम अनुगमन तथा पूर्व तयारी गर्ने बिषयमा प्रस्तुति र छलफलसमेत भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्टार फाउन्डेसन, किरडार्क नेपाल तथा युके इन्टरनेसनल, स्थानीय सोर्डेक नेपाल लगायतको साझा अभियानका रुपमा विपतपछिको पुनर्निर्माणमा काम कसरी गर्ने भन्ने छलफल भएको हो । असोजको बाढी, पहिरोपछि बागलुङका काठेखोला र ताराखोला गाउँपालिकामा भएका भूगर्भवेत्ताको अध्ययनको प्रारम्भिक प्रतिवेदनसमेत सार्वजनिक गरियो ।
ती प्रतिवेदन अनुसार काठेखोला वडा नंं १ को ४ स्थान र ताराखोलाको १२ स्थानमा भएको अध्ययनमा १ सय बढी घर जोखिममा देखिएका छन् । खोला किनारमा बस्ती बिस्तार, जोखिमको आंकलन नगरी संरचना बनाउने, सडकहरु अव्यवस्थित बनाउने र पानीको निकासमा ख्याल नगर्ने जस्ता कारणले यो समस्या आएको पहिलो चरणको निष्कर्ष निकालिएको भूगर्भविद सुमन पाण्डेले बताए ।
उनले ती स्थानको प्रारम्भिक प्रतिवेदन सम्बन्धित पालिकालाई समेत हस्तान्तरण गरिएको सुनाए । उनले अध्ययनमा कतिपय घर सार्नुपर्ने देखिएको र कतिपयलाई समयमै संरक्षण गरिनुपर्नेमा जोड दिइएको जनाए ।
कार्यक्रममा किरडार्क नेपालका निर्देशक गौतमराज अधिकारीले विपतका पीडितलाई पहिलो चरणमा खाद्यान्न र न्यानो कपडा दिइएको बताए । साथै, सरसफाइ सामग्री, संवेदनशील क्षेत्रमा पोषण सहयोग र विपद पीडितलाई मनोसामाजिक परामर्श पनि दिइएको थियो । जलउत्पन्न प्रकोप तथा पहिलो, भूकम्प लगायतलाई मात्र विपदको रुपमा लिने गरेकोमा यो पटक हावाहुरी पनि उत्तिकै समस्याका रुपमा देखिएको उनको भनाइ छ ।
यी संस्थाले बाढी, पहिरोपछि बडिगाड र गलकोटका केही वडामा आएको हावाहुरीले क्षति पुगेकालाई पनि सहयोग गरेका छन् । । अधिकारीका अनुसार ३ सय ६५ घरमा खाद्यान्न सहयोग गरिएको हो । हरेक घरमा कम्तीमा ६ हजार रुपैयाँ बराबरको खाद्यान्न दिइएको थियो भने ३ सय ५० घरमा ११ हजार रुपैयाँ बराबरका न्यानो कपडा दिइएको हो ।
त्यसबाहेक विपतमा मानवीय क्षति कम हुनुमा सचेतनाको कारण भएको भन्दै आगामी दिनमा पनि सचेतना बढाउन पहल गरिनुपर्ने सिकाइ भएको पनि उनले उल्लेख गरे । त्यसअघि अर्का विज्ञ दीपक मरहट्टाले स्थानीय जनप्रतिनिधि तथा सरकारी अधिकारको क्षमता विकास कसरी गर्ने, विपदबारे बुझाइमा एकरुपता ल्याएर विपद व्यवस्थापन समिति गठन गर्ने, पालिका स्तरमा विपत व्यवस्थापन ऐन ल्याउने जस्ता काममा लाग्न सुझाए ।
नीतिगत रुपमा आएका पालिकालाई संघीय सरकारसहित बिभिन्न दाताले पनि साथ दिने भएकाले दिगो व्यवथापनमा सहयोग पुग्ने उनले औंल्याए । कार्यक्रममा रत्नबहादुर शाही तथा देवीप्रसाद तिमिल्सिनाले विपद पछिको ५० दिनमा गरेका कामको अनुभव सुनाए । विपदलाई व्यवस्थापन गर्दै पीडितको राहत तथा अन्य व्यवस्थापनका लागि किरडार्क लगायतका संस्थाले युके इन्टरनेसनलको सहयोगमा काम गरेका थिए ।





