बागलुङ/सरकारले पत्रकार माथी थालेको धरपकडको बिरोध र लोककल्याणकारी बिज्ञापनमा गर्न लागेको कटौतीको निर्णय फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघले थालेको बिरोध अभियान स्वरुप बुधवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको छ ।
महासंघको अगुवाईमा भएको धर्नामा पत्रकारले बुधवार बिहान एक घण्टा प्रशासनमा धर्ना दिएका थिए । उनीहरुले ‘पत्रकारलाई सामुहिक रुपमा गिरफ्तार गर’ लेखेको कालो व्यानर सहित बिरोध गरेका थिए । केही समय अघि सरकारले संचार माध्यमका कार्यालयमा पसेर पत्रकारलाई पक्राउ गरेको थियो । त्यस अघि संचार माध्यम अघि अपरिचत व्यक्ति परिचालन गरेर गाडि पार्क गर्ने, यातायातमा अवरोध सिर्जना गर्ने जस्ता कार्य भएका थिए ।
ती घटनामा सरकारले प्रहरीले गरेको भन्दै आएको छ भने प्रहरीले सरकारले खटाएर पत्रकार पक्राउ गरेको भन्दै आएको छ । त्यो बिषयसँगै सरकारले बर्षौदेखि दिंदै आएको लोककल्याणकारी बिज्ञापनलाई रोक लगाउने गरी नयाँ नीति बनाउन लागेको छ । यो नीतिले स्वरोजगार संचार माध्यमहरु धरासायी बन्ने महासंघको ठहर छ । महासंघले ती अभियानको बिरोधमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाकोलागि संचार सम्बद्द संगठनको छलफल गरी ती समस्या समाधानमा राज्यलाई ध्यानाकर्षण गराउने काम गरिसकेको छ ।
पत्रकार र संचार सम्बद्द नेतृत्वले सरकारको नीति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पार्ने खालको भएको टिप्पणी गरेका छन् । संचार माध्यमको घाँटी निमोठ्ने खालको काम गरेकोमा चर्को आलोचना समेत भैरहेको छ । महासंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने, संसदमा प्रतिनिधित्व गर्ने दलका नेता मार्फत जानकारी दिने, राजनीतिक दलका नेतालाई ध्यानाकर्षण गराउने समेतको काम गरेको छ ।





