बिहिबार, मंसिर १० २०८३

बिहिबार, मंसिर १० २०८३
  • १० मंसिर २०८३ , बिहिबार
  • November 26 2026

राष्ट्रिय जनमोर्चा बागलुङले सुरु गरेको सामुदायिक खेतीमार्फत धान भित्र्याउदैँ

राष्ट्रिय जनमोर्चा बागलुङले सुरु गरेको सामुदायिक खेतीमार्फत धान भित्र्याउदैँ

सामूहिक धान खेतीबाट यस वर्ष ७० देखि ८० मुरी धान उत्पादन हुने विश्वास पार्टीले लिएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८३, बिहिबार

बागलुङ / राष्ट्रिय जनमोर्चा बागलुङले श्रमदानमा आधारित सामुदायिक खेती सुरु गरेको छ । बसाइँसराइका कारण बागलुङको जैमिनीका गाउँबस्ती सुनसान बन्दै खेतबारी समेत बाँझिँदै गएपछि तिनै जमिनको उपयोग गर्दै जनमोर्चाले सामुदायिक खेती मार्फत उत्पादन सुरु गरेको हो ।

खेतीयोग्य जमिनमा झाडी फैलिन थालेको र गाउँमा जनशक्ति अभाव हुनुका साथै वन्यजन्तुको आतङ्कका कारण स्थानीयले खेतीपाती गर्न छाड्दै गएपछि पार्टीले सामुहिक रुप उत्पादनको काममा संलग्न भई श्रमदान गरेको राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिले जानकारी दिएको छ ।

जैमिनी नगरपालिका–५ बिनामारेको छनौटेमा ३३ रोपनी जग्गा भाडामा लिएर नगर समितिले धान खेती सुरु गरेको हो । पार्टीले श्रम शिविरका रूपमा सञ्चालन गरेको अभियानमा नेता तथा कार्यकर्ता आफैँ खेतमा खटिएका छन् । बिहानदेखि खेतमा पुग्ने उनीहरूलाई पार्टीले नै खाना र खाजाको व्यवस्था गरेको छ । श्रम गरेबापत कसैले पारिश्रमिक लिएका छैनन् ।

स्थानीय खमबहादुर क्षेत्रीको खेतमा पहिलोपटक गरिएको सामूहिक धान खेतीबाट यस वर्ष ७० देखि ८० मुरी धान उत्पादन हुने विश्वास पार्टीले लिएको छ । धान भित्र्याउन सुरु गरेको आठ दिन भइसकेको छ । अब एक–दुई दिनमा सबै धान भित्र्याइसक्ने तयारी छ । खेतीको सुरुदेखि धान भित्र्याउने बेलासम्म करिब ४५० नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् ।

राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिका सल्लाहकार केबी थापाका अनुसार बसाइँसराइका कारण बाँझिँदै गएको गाउँलाई हराभरा बनाउने र खेतीयोग्य जमिनको सदुपयोग गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । “हाम्रो गाउँमा कुनै पनि खेतीयोग्य जमिन बाँझो नरहोस् भन्ने चाहना हो । खाली जग्गाको सदुपयोग गरेर उत्पादन बढाउने नीति लिएका छौँ”, उनले भने, “गत फागुनमा नगर समितिको बैठक बसेर सामूहिक खेती गर्ने निर्णय गरेका थियौँ । सोहीअनुसार खाली जग्गा खोजेर असारदेखि धान खेती सुरु गरेका हौँ । अब अन्य क्षेत्रमा पनि जग्गा लिएर उत्पादन गर्ने लक्ष्य छ ।”

सामूहिक खेती गर्दा एक जना पनि खेताला लगाउन नपरेको थापाले बताए । उत्पादन भएको धान बिक्रीबाट प्राप्त रकम पार्टी सञ्चालन तथा आवश्यक क्षेत्रमा लगानी गर्दै जाने उनको भनाइ छ । सामूहिक श्रमदानबाट खेती गर्दा खेतीयोग्य जमिन बाँझो नरहने र उत्पादनसमेत बढ्ने विश्वास लिइएको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बसाइँसराइका कारण जिल्लाका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो हुँदै गएकोले सामूहिक खेतीलाई विस्तार गर्नुपर्ने बताए । जैमिनीमा जनमोर्चाले सुरु गरेको अभियान अन्य पालिकाले पनि अनुकरण गर्न सके उत्पादन वृद्धि र आत्मनिर्भरता सम्भव हुने उनेको भनाइ छ ।

“जनमोर्चाले जैमिनीमा राम्रो सुरुआत गरेको छ । यस्तो खालको खेती सबै ठाउँमा गर्न जरुरी छ”, थापाले भने, “जिल्लाभरका पालिकामा बसाइँसराइको समस्या बढिरहेको छ । खेती गर्ने जनशक्ति अभावमा खेतबारी झाडीमा परिणत भइरहेका छन् । त्यसलाई रोक्न स्थानीय सरकार, राजनीतिक दल र नागरिकको सामूहिक पहलमा खेती गर्न आवश्यक छ ।”

उत्पादन भएको धानमध्ये ६५ प्रतिशत पार्टी र ३५ प्रतिशत जग्गाधनीलाई उपलब्ध गराउने सहमति भएको छ । गाउँमा जनशक्ति नपाउँदा खेती गर्न कठिन भइरहेका बेला पार्टीले नै सामूहिक खेती गरेपछि सहज भएको जग्गाधनी खमबहादुर क्षेत्रीले बताए ।

“गाउँमा एक जना पनि कामदार पाउन छाडेपछि यति धेरै खेतबारीमा कसरी खेती गर्ने भन्ने समस्या थियो । छरछिमेकका बारीसमेत बाँझो हुँदै छन्”, उनले भने, “यस वर्ष पार्टीले खेती गर्ने जिम्मा लिएपछि धेरै सहज भयो । उहाँहरूले विभिन्न ठाउँबाट आएर मेहनत गर्नुभएको छ । उत्पादन पनि राम्रो भएको छ ।”

परिवारका सदस्यले मात्रै खेती गर्दा मल पुर्‍याउन नसक्ने र उत्पादन बढाउन कठिन हुने गरेको क्षेत्रीलेब बताए । बाँझो राख्नुभन्दा जग्गाको सदुपयोग गरी सामूहिक खेती गर्दा राम्रो उत्पादन भएको उनले बताए । बिनामारेबाट मात्रै दर्जनौँ घरपरिवार बसाइँसराइ गरेर सहरबजार झरेको छन् ।

← Back

Thank you for your response. ✨

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->