काठमाडौं / विश्वव्यापी तापक्रम वृद्धि भएसँगै हिमनदी पग्लने क्रम तीव्र भएको छ। हिमताल विस्फोटबाट हुने बाढीको जोखिम बढ्दै गएको छ। यसै पृष्ठभूमिमा नेपालले चार उच्च जोखिमयुक्त हिमतालको जोखिम घटाउन एक बृहत् परियोजना सुरु गरेको छ।
कुल चार करोड ९९ लाख ४० हजार अमेरिकी डलर बराबरको यो परियोजनाले हिमतालबाट हुन सक्ने बाढीको जोखिम कम गर्नुका साथै तल्लो तटीय क्षेत्रका समुदाय, पूर्वाधार र जीविकोपार्जनको सुरक्षा गर्ने लक्ष्य राखेको छ।
‘ग्लोफ सञ्जीवनी’ नाम दिइएको उक्त सात वर्षे परियोजनाअन्तर्गत संखुवासभाको तल्लो बरुण, सोलुखुम्बुका लुम्दिङ छो र होङ्गु२ तथा मनाङको थुलागी हिमतालमा जोखिम न्यूनीकरणका लागि विभिन्न कार्य गरिने छ।
हिमतालको पानीको सतह घटाउने, पूर्वसूचना प्रणाली स्थापना गर्ने, जलाधार क्षेत्रको संरक्षण गर्ने र स्थानीय समुदायलाई विपद् सामना गर्न तयार पार्ने कार्यक्रम परियोजनामा समेटिएका छन्।
सन् २०२६ को मार्चदेखि २०३३ मार्चसम्म सञ्चालन हुने यो बृहत् परियोजनाको कुल बजेटमध्ये हरित जलवायु कोष (जिसिएफ) ले तीन करोड ६१ लाख ६० हजार डलर अनुदान उपलब्ध गराउनेछ।
यसैगरी नेपाल सरकारले एक करोड १३ लाख २० हजार डलर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले २१ लाख ४० हजार डलर र निजी क्षेत्रले तीन लाख २० हजार डलर योगदान गर्नेछन्। परियोजनाबाट तीन लाख ८५ हजार ९५६ सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने र अप्रत्यक्ष रूपमा १९ लाखले लाभ पाउने आकलन छ।
चार वटै हिमतालको अवस्था र जोखिमअनुसार पानीको सतह फरकफरक स्तरमा सतह घटाइनेछ।
तल्लो बरुण, थुलागी र लुम्दिङ छोको सहित तीन तालमा पानीको सतह तीन–तीन मिटरले तथा होङगु–२ को सतह एक मिटरले घटाइनेछ। हिमतालको पानीको सतह घटाउनुबाहेक यो परियोजनाअन्तर्गत मौसम तथा जलविज्ञानसम्बन्धी निगरानी, पूर्वसूचना प्रणाली, नदी नियन्त्रण, पहिरोको जोखिम न्यूनीकरण, जैविक इन्जिनियरिङ, जलाधार पुनस्र्थापना र समुदायको तयारीका कार्यक्रम पनि समावेश छन्।
हिमताललाई छुट्टै जोखिमका रूपमा मात्र नहेरी त्यसबाट प्रभावित हुने समग्र नदी प्रणाली र जलाधार क्षेत्रको जोखिम घटाउने लक्ष्य परियोजनाको छ।
बुधबार काठमाडौंमा आयोजित परियोजनाको सुरुआती कार्यशालामा परियोजना निर्देशक डा. राजन भट्टराईले हिमालय क्षेत्रमा हिमताल तथा हिमनदीसँग सम्बन्धित जोखिमको प्रकृति बदलिँदै गएको र विपद् आएपछि उद्धार तथा राहतमा केन्द्रित हुनेभन्दा जोखिमको पूर्वानुमान गरी न्यूनीकरण गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए। ‘चुनौती बदलिँदै छन्, त्यसैले हाम्रो प्रतिकार्य पनि बदलिनुपर्छ,’ भट्टराईले भने।
इसिमोडका एक अध्ययनअनुसार अघिल्लो दशकको तुलनामा सन् २०११ देखि २०२० सम्म हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीमा ६५ प्रतिशतले ह्रास आइसकेको छ। अर्कातिर तापक्रम वृद्धि भएसँगै सन् १९८७ देखि २०१७ सम्म समग्रमा नेपालका हिमतालले ओगटेको क्षेत्रफल २५ प्रतिशतले विस्तार भएको छ।
थुलागी हिमताल फुटेर बाढी आए त्यसको प्रभाव क्षेत्रमा पर्ने सम्पत्तिको मूल्य करिब ४० करोड ६७ लाख ३० हजार अमेरिकी डलर हुन सक्ने एक अध्ययनले देखाएको थियो।
नेपालले पटक पटक हिमताल विस्फोटबाट हुने विनाशकारी बाढीको सामना गरिसकेको छ। पछिल्लो ६ दशकमा हिन्दुकुश हिमालय क्षेत्रमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना अभिलेख गरिएका छन्। तीमध्ये १५ वटा नेपालबाट र ११ वटा चीनको तिब्बत स्वायत्त क्षेत्रबाट सुरु भएका थिए।
सन् २०१६ को भोटेकोसी बाढी तिब्बतमा रहेको हिमताल फुटेसँग सम्बन्धित थियो, जसबाट ११ करोड २० लाख अमेरिकी डलरभन्दा बढी क्षति भएको थियो। सन् २०२३ को सिक्किम विपद् र सन् २०२४ को नेपालको थामे बाढीले पनि हिमतालजन्य जोखिमको गम्भीरता र सीमापार प्रभाव देखाएका थिए।
युएनडिपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २०२० मा गरेको अर्काे अध्ययनले अध्ययन क्षेत्रमा ४७ वटा सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो। तीमध्ये नेपालमा २१, चीनमा २५ र भारतमा एउटा हिमताल थिए।
सञ्जीवनी परियोजनाका लागि छनोट गरिएका चार हिमताल पनि यसै क्षेत्रको व्यापक जोखिमका हिस्सा हुन्। त्यसैले तिनको निगरानी र जोखिम न्यूनीकरणका लागि राष्ट्रिय सीमाभन्दा बाहिरसम्मको सहकार्य र समन्वय आवश्यक देखिन्छ।
युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले रसुवा–भोटेकोसी र गण्डकी क्षेत्रमा हालै आएका बाढीले जलवायुसम्बन्धी जोखिमले छोटो समयमै मानवीय र आर्थिक संकट निम्त्याउन सक्ने बताइन्। ‘अर्को विपद् आउँदासम्म हामी पर्खेर बस्न सक्दैनौं,’ उनले भनिन्।
विपद्पछि प्रतिक्रिया जनाउनेभन्दा जोखिमको पूर्वानुमान गरी त्यसलाई कम गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्। योकोसुकाले हिमतालको पानीको सतह घटाउनु मात्रै पर्याप्त नहुने बताइन्। जोखिम न्यूनीकरणका लागि बलिया संस्थागत संरचना, निरन्तर निगरानी, पूर्वसूचना प्रणाली, प्रकृतिमा आधारित समाधान र सूचित तथा विपद्का लागि तयार समुदाय आवश्यक पर्ने उनले तर्क थियो। ‘वैज्ञानिक ज्ञानलाई नीतिसँग, जोखिमसम्बन्धी सूचनालाई लगानीका निर्णयसँग र राष्ट्रिय संस्थालाई स्थानीय समुदायसँग जोड्नुपर्छ,’ उनले भनिन्।
परियोजनाअन्तर्गत मौसम तथा बाढीको निगरानी र पूर्वसूचना प्रणालीका लागि २४ वटा स्वचालित मौसम मापन केन्द्र, ६ वटा आधार केन्द्र, नौ वटा वर्षा मापन केन्द्र, २७ वटा जल तथा मौसम मापन केन्द्र र नौ वटा साइरन स्थापना गरिनेछन्। यी उपकरण मस्र्याङ्दी, दूधकोशी र अरुण उपजलाधार क्षेत्रमा राखिनेछन्।
यस प्रणालीले मौसम, वर्षा, नदीको पानीको सतह र हिमतालको अवस्थाबारे निरन्तर सूचना संकलन गर्नेछ। प्राप्त सूचनाको विश्लेषण गरी साइरन, मोबाइल नेटवर्क, रेडियो र अन्य स्थानीय माध्यमबाट जोखिमको पूर्वसूचना प्रवाह गरिनेछ।
स्थानीय आपत्कालीन सञ्चालन केन्द्र र समुदायस्तरका प्रतिकार्य योजनाले सम्भावित विपद्का बेला सुरक्षित स्थानमा सार्ने लगायत काममा सहयोग गर्नेछन्। परियोजनाले नदी नियन्त्रणका लागि तटबन्ध र नदीकिनार संरक्षणका संरचना निर्माण गर्नुका साथै प्रकृतिमा आधारित उपाय पनि अपनाउनेछ।
यसअन्तर्गत वनस्पति रोपण, पहिरोको जोखिम न्यूनीकरण, संरक्षण पोखरी, चेकड्याम र जलाधार पुनस्र्थापनाका काम गरिनेछन्। यी उपायले भूक्षय कम गर्न, नदीको बहाव क्षेत्र र बस्तीको संरक्षण गर्न तथा तल्लो तटीय क्षेत्रमा बाढी र गेग्रानको प्रभाव घटाउन सहयोग पुग्ने अपेक्षा छ।
हरित जलवायु कोषको सचिवालयका जलवायु लगानी प्रमुख डा. बापोन फखरुद्दिनले जलवायु वित्त प्रभावकारी रूपमा उपयोग गर्न नेपालले संस्थागत क्षमता र अनुकूल वातावरण बलियो बनाउनुपर्ने सुझाव दिए। जलवायु वित्त कहाँबाट भित्रियो, कसरी बाँडफाँट भयो र जोखिममा रहेका समुदायसम्म पुग्यो कि पुगेन भन्ने विवरण राख्ने राष्ट्रिय संयन्त्रको आवश्यकता उनले औंल्याए।
हिन्दुकुश हिमालय क्षेत्रका हिमतालजन्य जोखिमले राष्ट्रिय सीमा नचिन्ने भएकाले वैज्ञानिक सूचना आदानप्रदान र क्षेत्रीय सहकार्य बढाउनुपर्ने फखरुद्दिनको सुझाव थियो। ‘नेपालले क्षेत्रीय सहकार्यमा नेतृत्वदायी भूमिका खेल्न सक्छ र इसिमोडजस्ता वैज्ञानिक संस्थाले जोखिमबारे साझा बुझाइ विकास गर्न सहयोग पुर्याउन सक्छन्,’ उनले भने।
फखरुद्दिनले साना तथा मझौला उद्यम र उद्यमीसहित निजी क्षेत्रको लगानी परिचालन गर्न पनि सुझाव दिए। जलविद्युत् र पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाले परियोजनामा सहलगानी गर्नुले जलवायु उत्थानशीलताले आर्थिक सम्पत्तिको सुरक्षा गर्नुका साथै स्थानीय समुदायका लागि अवसर सिर्जना गर्न सक्ने देखाएको उनले बताए।
परियोजना नेपाल सरकारको नेतृत्वमा कार्यान्वयन हुनेछ भने जिसिएफबाट प्राप्त अनुदान व्यवस्थापन गर्ने मान्यता प्राप्त निकायका रूपमा युएनडिपीले सहजीकरण गर्नेछ। जलस्रोत, वातावरण, विपद् व्यवस्थापन र स्थानीय विकाससँग सम्बन्धित विभिन्न सरकारी निकाय, स्थानीय तथा प्रदेश सरकार लगायत अन्य साझेदारसँगको सहभागितामा परियोजना कार्यान्वयन गर्ने तयारी छ।





