स्याङ्जा/नागरिकताको सरकारी अभिलेख कीर्ते तथा अनधिकृत हेरफेर आरोपमा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । स्याङ्जा जिल्ला अदालतले ३ कर्मचारी र १कीर्तेका मतियारलाई बिहीबार कारागार पठाएको हो ।
अदालतले जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं, लेखापाल रमेश विक र फेदीखोला–२ घर भई पोखरा बस्ने प्रयासी गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत कात्तिक १६ गते चारै जनालाई प्रहरीले फक्राउ गरेको थियो भने स्याङ्जा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबारसरकारी लिखतसम्बन्धी कसुर (किर्ते गर्न नहुने)मा मुद्दा दायर गरेको थियो । अदालतले तत्काल प्राप्त प्रमाणबाट प्रतिदाबीहरु कसुरदार होइनन् भन्ने नदेखिएकाले हाल दफा ६७ को १(ख) बमोजिम कारागार पढाएको स्रेस्तेदार भेषराज पौडेलले जानकारी दिए ।
जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलाशले पुर्पक्षमा पठाउने आदेश गरेको हो । साबिक आरुखर्क–८ का प्रयासीले आफ्ना २ बालबालिकाको नाबालक परिचयपत्र बनाउने क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरिएका कागजात रुजु गर्दा उनका २ नागरिकता रहेको खुलेको थियो ।
गुरुङले २०५६ चैत ३ गतेस्याङ्जाको ठेगाना राखेर ५७०६६ नम्बरको पहिलो नागरिकता र २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका–७, कास्कीको ठेगाना राखेर १०८५८८ नम्बरको दोस्रो नागरिकता लिएका थिए ।
दुई नागरिकता भेटिएपछि कास्की प्रशासनले पहिलो नागरिकता रद्द गरिएको भए त्यसको कानुनी आधार, प्रक्रिया र निर्णयसम्बन्धी कागजात स्याङ्जा प्रशासनसँग मागेको थियो । छानबिनका क्रममा लेखापाल रमेश विकले कागजात तयार गर्ने, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईंले तत्कालीन प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गर्ने र प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले प्रमाणित गर्ने गरेको देखिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बताए ।
नागरिकता निर्णय अनुसार नभई कागजी रुपमा देखाउनका लागि मात्र रद्द गरिएको थियो । ३ कर्मचारीले गत भदौ १५ गते नागरिकताको अभिलेख कीर्ते गरेका थिए भने भदौ २६ गते प्रशासनले अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको थियो ।
यसै घटनामा गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि असोज २८ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई पत्र पठाएको थियो भने प्रशासनले कात्तिक ९ गते प्रहरीलाई पत्राचार गरेको थियो ।





