बागलुङ/एक महिनाअघि धौलागिरि अस्पताल जैमिनी–१० की एक महिलाले ३५ हप्तामा शिशु जन्माइन् । तर शिशुको तौल १ केजी ५ सय ८० ग्राम थियो । जन्मदैमा ती शिशुमा क्षयरोगको जोखिमसमेत देखियो । आमालाई पल्मोनरी क्षयरोग पुष्टि भएपछि शिशुको सघन उपचार कक्षमा उपचार भयो ।
शिशुलाई आइसियुमै पोषण र अन्य सेवा दिएपछि ग्यास्ट्रिक एस्पिरेट विधिबाट जीन एक्स्पोर्ट गर्दा क्षयरोग नेगेटिभ आयो । आवश्यक पोषण अभाव, आमालाई क्षयरोग भएको कारण ती शिशुलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नु परेको थियो ।
अघिल्लो महिना काठेखोला–६ की अर्की आमाले ३६ हप्तामा जन्माएको शिशुको तौल पनि १ केजी ४ सय ९० ग्राममात्रै थियो । उनमा पनि जन्डिस लगायतकासमस्या देखियो । ती शिशुलाई पनि अस्पतालले जन्मेलगत्तै एनआइसियुमा उपचार गरी इन्क्युवेटर केयर, एन्टिबायोटिक्स र फोटोथेरापी तथा पोषणको मात्रा पूरा गरेपछि मात्र तौल बढेको, रोगको समस्या कम भएपछि मात्र डिस्चार्ज गरियो ।
ती शिशु रिफर गरी पोखरा वा काठमाण्डौ पठाएको भए बाटैमा मृत्यु हुने जोखिममा रहेको अस्पतालका चिकित्सकहरु बताउँछन् । धौलागिरि अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाकिरण तिवारी, बालरोग विशेषज्ञहरु डायशोदा पौडेल, डा कमल पुष्प थापा र डा निरज पौडेलले लामो समयसम्म उपचार पछि शिशुहरुलाई घर फर्काउन सकेका थिए ।
वरिष्ठ अस्पताल नर्सिङ अधिकृत मिलन बरुवालले चौबिसै घन्टा खटिएर ती शिशुको उपचार र रेखदेख गरेकी थिइन् । अभिभावकलाई समेत उपचार सम्भव भएपछि मात्र समस्याबारे बताइएको थियो ।अस्पतालमा सुरु भएको एनआइसियुकक्षका कारण ती शिशुको तत्काल उपचार सम्भव भएको हो । ‘हामीसंग भाग्यवस यो पटक बालरोग बिशेषज्ञहरु, सघन उपचार कक्ष र अन्य व्यवस्थापन भएकाले ती शिशुलाई बचाउन सकियो’, तिवारीले भने, ‘पोखरा रिफर गरेको भए यसै भन्न सक्ने अवस्था हुने थिएन ।’
धौलागिरि अस्पतालमा १वर्षदेखि बालरोग विशेषज्ञहरुको उपलब्धताले मातृशिशु स्वास्थ्यमा सकारात्मक संकेत देखिएका छन् । यो १वर्षमा यस्ता १५ भन्दा बढी शिशुलाई बचाउन सकिएको हो । बडिगाड–९ की एक महिलाले त बाटैमा जन्माएकी शिशुमा पनि समस्या देखिएपछि ७ घन्टा लामो यात्रापछि अस्पताल ल्याएर उपचार गरी निको पारिएको थियो । ती शिशुमा समेत जन्डिस, हाइपोक्याल्सिमिया लगायतका समस्या थिए ।
यहा“का अधिकांश ग्रामीण स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा छैन । सेवा लिन धौलागिरि अस्पतालमा आउनुपर्ने बाध्यता छ । आएकाहरुपनि भीडका भोलिपल्टसम्म कुर्नुपर्ने बाध्यता छ । नियमित सेवा दिनकालागि सीमित प्रविधि र जनशक्ति बाधक भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद शर्माले सुनाए ।
‘हामीले हरेक गर्भवतीलाई एकपटकको भिडियो एक्सरे निशुल्क दिएका छौं’, उनले भने, ‘सीमित जनशक्ति र श्रोतका कारण पालो पर्खेर बस्न बाध्य भएका छन् ।’ समस्या समाधानकालागि बाल सघन उपचार कक्षको क्षमता बढाउने, भिडियो एक्सरे सेवा थप गर्न जनशक्ति र मेसिन थप गर्ने जस्ता योजना भएपनि दरबन्दी अभावमा काम अगाडि बढ्न नसकेको उनले बताए ।
यो अस्पतालमा बर्सेनि १ हजार जति महिला सुत्केरी भएको तथ्यांक छ । तीमध्ये १० देखि १५ प्रतिशत महिलामा जटिल समस्या आउने गरेकाछन् । वर्षमा ३ सयभन्दा बढीको शल्यक्रियाबाट बच्चा निकालिन्छ । ती आमा र शिशुको उपचारलाई प्रभावकारी बनाउन सकेमा मातृ तथा शिशु मृत्युदर घट्ने तिवारीले बताए ।
हाल अस्पतालमा १ सय शड्ढया स्वीकृत भएपनि १ सय ४० शड्ढया छन् छ । १ सय शड्ढयाको अस्पतालले नर्सिङ कलेज सञ्चालन गर्न पाउने प्रावधान छ भने मेडिकल कलेजकालागि ३ सय शड्ढया चाहिन्छ । नर्सिङ कलेज वा मेडिकल कलेज सञ्चालन भएमा यस्ता जटिल समस्याकालागि नियमित रुपमा दक्ष चिकित्सक रहने आवस्था हुने शर्माले बताए । ‘साबिकका १४ अञ्चल अस्पतालमध्ये धौलागिरिमा मात्र मेडिकल कलेज छैन,’ उनले भने, ‘कलेज सञ्चालन गर्न सकियो भने जटिल समस्याको उपचार यहीं सम्भव छ ।’





